‘छाइल’ माथि पोखरामा विमर्श 

लोकराज भट्टको चर्चित उपन्यास ‘छाइल’ पोखरेली पाठकहरूले पनि रूचाएका छन्। डोट्याली सभ्यताको प्रतिविम्व बनेको उपन्यासले लयात्मक भाषामा सुदूरपश्चिमको चित्रण गरेको उनीहरूले बताएका छन्।

आइतबार ‘पुछारसिटे अभियान‘ को संयोजनमा प्रकाशक ‘बुक्स हिमालय’ ले हिमालयन रिडर्स कर्नर, पोखरामा आयोजना गरेको ‘छाइल विमर्श’ कार्यक्रममा मिहिन ढंगले पुस्तकको समीक्षा गरियो।

‘यति मिठो भाषामा सुदूरपश्चिमको कथा भनिएको छ कि उपन्यासले पाठकलाई तानिराख्छ’, समीक्षक सञ्जीव पौडलले भने, ‘सुदूरपश्चिमको सभ्यताको छायाँ हो छाइल।’

डोट्याली भाषाको शब्द ‘छाइल’को अर्थ हुन्छ छायाँ। ‘छाइल’मा सुदूरपश्चिम प्रदेशको डोटेली सभ्यताका छाया र प्रतिच्छाया सलबलाएका छन्। पुर्खाको इतिहास, संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई यसले उजिल्याउने जमर्को गरेको छ। 

कार्यक्रममा समीक्षक गौरी तमूले भनिन्, ‘सुदूरपश्चिमको सभ्यता र स्वाभिमानको कथा बोकेको उपन्यास छाइलमा काव्यात्मक भाषा प्रयोग गरिएको छ। यो पठनिय कृति हो।’

उपन्यासमा अनाम गाउँका एक युवाको सपना र सङ्घर्षको हृदय पगाल्ने कथा छ। यसले जीतुराजको बाल्यकाल र किशोरकाल हुँदै युवाकालसम्म उपन्यासले फन्को लगाएको छ। सहरमा अनेक हन्डर र ठक्कर खाँदै भौतारिएको जीतु आखिर गाउँको विश्वविद्यालय भर्ना हुने भन्दै किन फक्र्यो त ? उपन्यासमा पाठकले यसको सुखद समाधान पाउने छन्।’

पिता र पुत्रबीचको सम्बन्ध पनि उपन्यासको सुन्दर पाटो हो। जितुसग उनको सम्बन्ध पुत्रवत्भन्दा मित्रवत् छ। यसमा धेरै बाहरूका जिन्दगीका नभनिएका आत्मीयकथा भेटिने छ। जीतुका बा, आमा, दिदी, छिमेकी दुर्वासा, दयाराम अनि उसका ग्रामीण साथीहरूको कथाले पाठकलाई गाउँकै आँगनमा पुर्‍याउँछ। 

‘छाइल’मा माटोको रङ मजाले पोतिएको छ। प्रकृतिको सङ्गीतले मनलाई शीतलो पारिदिन्छ। डेउडाका झङ्कारहरूले मनलाई नृत्यमग्न पारिदिन्छन्। सुन्दर शब्दशिल्पका कारण पहिलो पानादेखि अन्तिम पानासम्म कतै रोकावट छैन। संवाद सूक्तिमय छन्। 

कार्यक्रममा पाठकका तर्फबाट हसिना बस्नेतले भनिन्, ‘छाइलमा बाल मनोविज्ञानको मिठो चित्रण गरिएको छ।’

बेलाबेलामा डेउडा गाउँदै सुदूरपश्चिमका सांस्कृतिक अध्येता हेमन्त विवशले रोचक ढंगले कार्यक्रम चलाएका थिए। कार्यक्रममा छाइलका अर्का पाठक एवं पत्रकार घनश्याम पौडेलले भने ‘यति मिठो पारामा लेखिएको उपन्यास मैले यस अघि पढेको थिइनँ।’

त्यस अबसरमा समीक्षकहरूले उपन्यासको कमजोरी पनि औंल्याएका थिए। ‘यसमा वर्तमाना सुदूरपश्चिमको तस्बिर त राम्रोसँग आएको छ’, समीक्षक पौडेलले भने, ‘उपन्यासकारले भबिश्यको सदूरपश्चिमको मार्गचित्र पनि दिन सक्नु पथ्र्यो। दिएका छैनन।’

समीक्षक तमूले त उपन्यासमा महिला पात्रलाई कमजोर रूपमा उभ्याएकोमा असहमति जनाइन्। 

‘सुदूरपश्चिममा जसले पनि बाका मात्र कुरा ल्याउँछन्। बाका मात्र पीडा देखाउँछन्। आमाका कथा किन आउँदैनन’, उनले सोधिन् ्, ‘के छोराछोरीका लागि बाले मात्र सपना देख्छन्। आमाले देख्दैनन् ?’

कार्यक्रममा नेपाली साहित्यका शिखर पुरूष सरूभक्तले आशीर्वचन प्रदान गरेका थिए। उनले समाजको वास्तविक कथा बोकेको साहित्य नै मौलिक साहित्य हुनेमा जोड दिएका छन्। 

‘छाइल’ उपन्यास जस्तै कृतिहरू भोलि अनुवाद भएमा विश्व साहित्यले नेपालको अबस्था बुझ्नेछ’ उनले भने, ‘सुदूरपश्चिम, कर्नाली र हिमाली साहित्य अझै लेखिनुपर्छ।’

उपन्यासकार भट्टले सबै पाठक र समीक्षकलाई धन्यवाद दिँदै उनीहरूको सल्लाह मनन गर्ने बताएका छन्। 

प्रकाशन संस्थाका प्रमुख पवन शाक्यकाअनुसार पोखराबाट सुरू भएको पुस्तक यात्रा क्रमशः चितवन, विराटनगर, नेपालगञ्ज हुँदै धनगढीसम्म पुग्नेछ।

प्रकाशित मिति: : 2022-08-08 09:13:00

प्रतिकृया दिनुहोस्