विद्यार्थीको रोजाइमा रत्नराज्य माध्यमिक विद्यालय (तस्बिरहरूसहित)

उमेश थापा

काठमाडौं

नेपालका सामुदायिक विद्यालयहरुमध्ये एउटा विद्यालय रत्नराज्य माध्यमिक विद्यालयले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।

दक्ष तथा अनुभवी शिक्षक समूह, लगनशील विद्यालय प्रशासन तथा विद्यार्थीको अथक परिश्रमबाट विद्यालयको नतिजा राम्रो कायम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै रत्नराज्य माध्यमिक विद्यालयले सामुदायिक विद्यालयको सक्षमतालाई असल सबित गरेको छ।

हाल शिशु कक्षादेखि कक्षा १२ सम्मको अध्यापन गरिँदै आएको रत्नराज्यमा विद्यार्थीको चाहना बमोजिम नेपाली र अंग्रेजी दुवै भाषा माध्यममा पठन पाठन गराइन्छ। ‘विद्यार्थीको चाहनालाई पूरा गर्न सकेमा विद्यार्थीले राम्रो नतिजा ल्याउँछन्,’ भन्दै प्रधानाध्यापक रामाशिष यादवले विद्यालयले विद्यार्थीको चाहना बमोजिम व्यवस्थापन गरिरहेको बताए।

अब्बल विद्यालयको दर्जामा विद्यालयलाई टिकाइरहन विद्यालयको सम्पूर्ण शिक्षक कर्मचारीको अथक मिहेनतको आवश्यकता पर्ने र त्यसलाई पूरा गर्न रत्नराज्य  मा. वि.मा कार्यरत करिब १०० जना शिक्षक कर्मचारी अनवरत खटिइरहेको प्रधानाध्यापक यादवको दाबी छ।

काठमाडाैँको मध्यबानेश्वरमा नेपालका सत्तहतरै जिल्लाबाट आएका करिब २७०० विद्यार्थी पठनपाठन गराइरहेको यस रत्नराज्य मा.वि.आफ्नै सुविधा सम्पन्न र आधुनिक भूकम्प प्रतिरोधी भवनमा अवस्थित छ। विद्यालय परिसरमा नै रहेको वाणेश्वर मन्दिर, रत्न पुस्तकालय लगायतका सामुदायिक संरचनाले यो विद्यालयलाई समुदायकै अपनत्व रहेको र समुदायको शानको रुपमा उभ्याएको छ।

अतिरिक्त क्रियाकलाप, खेलकूद सप्ताह, मनोरञ्नात्मक तथा ज्ञानवर्धक नियमित कार्यक्रमहरुले विद्यार्थीको सर्वाङ्गिण विकास गर्न मद्दत गर्ने बताउँदै विद्यालयले विद्यार्थीको चाहना अनुरुप अतिरिक्त क्रियाकलापलाई दैनिक पठनपाठनसँग जोडेको प्र.अ. यादव बताउँछन्। कक्षा ११ र १२ मा विद्यार्थीले रोजेका विषयहरुबाट व्यावस्थापन, मानविकी र शिक्षा संकायमा अध्यापन गरिरहेको यस रत्नराज्य माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७९ का लागि सिमित सीटमा कक्षा ११ मा भर्ना समेत खोलिसकेको छ।

यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरुमध्ये केही हाल नेपाल सरकारका उच्च पदमा रहि सेवा गरिरहेका छन् भने कोही सेवा निवृतसमेत भइसकेका छन्। त्यस्तै भूतपूर्व विद्यार्थीहरु हाल विभिन्न आकर्षक पेशामा समेत आफूलाई अब्बल साबित गर्दै कार्यरत छन्। सामुदायिक विद्यालय वास्तवमा समुदायको प्रतिबिम्ब हो। यसलाई राजनीतिक आग्रह पूर्वाग्रहबाट टाढा राख्न सकेमा यसले उत्कृष्ट नतिजा दिन सक्छ। भूतपूर्व विद्यार्थी, राजनीतिक व्यक्ति, समुदायका भद्रभलाद्मीहरुले विद्यालयलाई आर्थिक तथा सामाजिक रुपमा सहयोग पुर्‍याउँदै आइरहेका भएकोले विद्यालय सबैको रोजाइ बन्न पुगेको प्र.अ. यादव बताए।

समग्रमा सामुदायिक विद्यालयलाई समुदायले अपनत्व लिएमा त्यसबाट उत्कृष्ठ सेवा प्रवाह गर्न सकिन्छ र चुस्त व्यवस्थापनले सामुदायिक विद्यालयको छवि समेत उच्च राख्न सक्छ भन्ने सन्देश दिँदै रत्नराज्य माध्यमिक विद्यालय, मध्यवानेश्वरले आफ्ना मिहेनती शिक्षक, कर्मचारीमार्फत् विद्यार्थीको सुनौलो भविष्य निर्माणमा ईट्टा थपिरहेको छ।

प्रकाशित मिति: : 2022-08-07 14:47:00

प्रतिकृया दिनुहोस्