उत्तरपूर्वी युक्रेनको खार्किभमा उखरमाउलो गर्मी छ। स्थानीयवासी घरभित्रै थुनिएका छन्। कतिपय युक्रेनीहरू मृत्यु छल्न दोस्रो मुलुक भागिसके। त्यसो त जताततै त्राश छ।
रूस–युक्रेन युद्धले भयावह रूप लिएको छ। युक्रेनमाथि रूसी आक्रमण तीव्र छ। दिनदिनै सयौँ निर्दोष मानिसले युद्ध–मैदानमा ज्यान गुमाइरहेका छन्।
युद्धको सबैभन्दा ठूलो भुमरीभित्र रूमल्लिरहेका छन्, युक्रेनी नानी–बाबु।
आकाशबाट खसिरहेका रूसी रकेटले त्रसित छन्। मृत्युको एउटा मार्गमा हिँडिरहेका छन्। अकालमै ज्यान गुमाइरहेका छन्।
रूस–युक्रेन युद्धमा हरेक दिन दुई युक्रेनी बच्चाबच्चीको हत्या भइरहेको छ।
युक्रेनी नानी–बाबुहरू मानसिक रूपमा बिछिप्त छन्। न स्कूल जान सक्छन्, न घरछेउमा खेल्न नै सक्छन्।
उनीहरूको मनभिन युद्ध–आतंक झुण्डिएको छ। जीवनभरका लागि एउटा नमीठो दाग बनेको छ– रूस–युक्रेन युद्ध। तैपनि उनीहरू रूसविरूद्ध बदलाबको भाव राख्छन्।
उनीहरूले कलिलो उमेरमा शिक्षा, जोश र मित्रता गुमाएका छन्।
बालबालिकाहरू महिनौँ भइसक्यो स्कूल टेकेका छैनन्। कैयौँ सपनाहरू नमेटिने घाउ बनेका छन्। साथीभाइहरू सदाका लागि बिदा भएका छन्।
एक तिहाइभन्दा बढी युक्रेनी नानी–बाबुहरूले युद्ध चर्किएयता आफ्नो घर छाड्न बाध्य भएका छन्। कयौँ बालबालिका दुई वा तीनपटक विस्थापित भएका छन्। किनभने युक्रेनको भूमि विस्तारै गुम्दै छ।
सन्तानको रोदन देखेर सबैभन्दा धेरै चिन्तित छन्, आमा–बुबा।
चित्कार र प्रार्थनाले गुञ्जिएका छन्, प्रसूति वार्ड। घरदेखि अस्पतालसम्म एउटै कामना छ– ‘शिशुले सम्झना सक्ने उमेर नपुग्दै युद्ध समाप्त होस्। युक्रेनमाथि थप पीडा नथपियोस्।’
आजभोलि युक्रेनी जनको भविस्य मात्रै हराएको छैन। खेल्दै गरेका नानी–बाबु पनि हराइरहेका छन्। बेपत्ता भएका बच्चाबच्चीको खोजी गर्दा सग्लो अवस्थामा भेटिँदैनन्।
खार्किभ रोइरहेको छ। आमा–बुबा दुःखी छन्। रूसी रकेट आक्रमणबाट १३ वर्षीय दिमिट्रोले ज्यान गुमाएका छन्। उनकी १५ वर्षीया दिदी गम्भीर घाइते छिन्।
उनी आफ्नो घरछेउको गल्लीमा मारिएका हुन्। प्रायः आमा–बाबुसँगै दौडन्थे, दिमिट्रो। तर त्यो दिन दिदीसँग खेल्न पुगेछन्। जब दिदी–भाइ सडक पार गर्दैथिए, रूसी रकेट विस्फोट भयो।
दिमिट्रोकाे मृत्युले खार्किभमा थप चिन्ता थपेको छ। विस्फोटलगतै दिमिट्रोका आमा–बुवा विस्फोटस्थानमा दौडे। छोराको शव भुइँमा पल्टिएको थियो। आमा घाइते छोरीलाई लिएर अस्पताल पुगिन्।
बुबा शवको छेउमा घुँडा टेकेर छोराको हात समातेर बसे। एक घण्टाभन्दा बढी सिसाले भरिएको सडकमा घुँडा टेकेर मृत शरीर हेरिरहेको एउटा तस्विरले संसार हल्लाएको छ।
सन्तान गुमाएका अभिभावकको कहालीलाग्दो कथालाई देखाएको द न्युयोर्क टाइम्सले जनाएका छ।
द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरू अनेकौँ पीडाभित्र बाँचिरहेका छन्। युद्धले सबैलाई सकेको छ। एउटा घर भत्कियो। प्रियजन गुमे। एउटा जीवन नै खोसियो।