नेपालको संविधान–२०७२ ले मुलकलाई संघीय संरचनामा रुपान्त्रण गरेको छ। तीन तहका सरकार बनेका छन्। जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारमा उपप्रमुखलाई न्यायिक समितिको संयोजक बनाउने अधिकार छ।
स्थानीयस्तरमा हुने गम्भीर प्रकृतिका जघन्य अपराधबाहेक झै–झगडा, कुटपिटलगायतका समस्याको समाधान गर्ने अधिकार न्यायिक समितिमा रहन्छ। स्थानीय सरकारको उपप्रमुख/उपाध्यक्षले आफ्नो न्यायिक समितिको जिम्मेवारी पूरा गर्दै आएका छन्। यसै सन्दर्भमा रुपन्देहीमा भने न्याय दिनेकै घरमा अन्यायको परेको छ।
रुपन्देहीको तिलोत्तमामा जनप्रतिनिधिकै घरमा महिला हिंसा भएको पाइएको छ। तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीको घरभित्रै घरेलु हिंसा भएको हो।
तिलोत्तमा नगरपालिका–१७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी २५ वर्षीया वर्षा थारु घरेलु हिंसामा परेकी हुन्।
वर्षाले आफ्ना श्रीमान मोहन थारुले दैनिक रुपमा लागूपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी मंगलापुरमा उजुरी दिएकी छन्।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख एवं प्रहरी नायव निरीक्षक थमनबहादुर रोकाले जानकारी दिएका छन्।
रोकाका अनुसार मोहन थारुले कुटपिट गरेर बर्षाको शरीरमा घाउ चोटसमेत लागेको छ। मोहनले दैनिक लागुपदार्थ सेवन गरेर शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासु–ससुराले समेत बेवास्ता गरेको वर्षाले प्रहरीसमक्ष बताएकी छन्। पीडित वर्षाका श्रीमान मोहन गाडी चलाउने काम गर्दैआएका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले वर्षाका श्रीमान मोहन थारु सम्पर्कविहीन भएको बताए। घटनाको थप अनुसन्धान जारी रहेको उनले जानकारी दिएका छन्।
यहाँका महिला अधिकारकर्मीहरूले जनप्रतिनिधिकै घरमा महिला हिंसाका घटना हुनु दुखद् भएको टिप्पणी गरेका छन्।