सामाजिक सञ्जालले बढाउँदै अपराध, किशोरीहरु असुरक्षित

Breaknlinks
Breaknlinks

पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेको छ। सामाजिक सञ्जालको प्रयोगबिना एकछिन कटाउन पनि गाह्रो पर्न थालेको हो। सामाजिक सञ्जालको प्रयोग बढेसंगै किशोर-किशोरीहरु त्यतै झुत्तिन थालेका छन्। 

तर, सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग हुँदा आपराधिक घटना ह्वात्तै बढेको पाइन्छ। यसले किशोरी तथा महिलाहरु असुरक्षित बन्दै गएका छन्।

२०७६ साल चैतमा नेपालमा कोरोना भाइरसको महामारी फैलियो। जसको असर सबैभन्दा पहिला पठनपाठनमा पर्यो र विद्यालय पूर्णरुपमा बन्द भए। विद्यालय बन्द भएपछि विद्यार्थीहरुलाई वैकल्पिक माध्यमबाट पढाउने भन्दै अनलाइन शिक्षाको सुरु गरियो। 

अनलाइनबाट पढ्नका लागि सबै विद्यार्थीले फेसबुक खोले। अन्य विद्यार्थीले जस्तै दाङ घोराहीकी कक्षा ८ मा पढ्ने किशोरीले पनि फेसबुक खोलिन्। जसको माध्यमबाट उनी पढ्ने मात्र गरिनन्। फेसबुकमा अनेकन साथीहरु बन्दै गए। एकदिन बंगलादेशको साथी पनि बनेछन्।

ती बंगलादेशी साथीले पहिले राम्रै कुरा गर्दै गए। कुराकानीपछि विस्तारै चिनजान बढ्दै गयो। तर, पछि त्यो साथीको व्यवहार एकाएक फेरियो। किशोरीलाई उसको व्यवहारमा शंका लागेपछि उनले त्यसलाई साथीलाई ब्लक (बन्द) गरिदिइन्।

त्यस्तै, दाङ घोराहीकै कक्षा १२ मा पढ्ने एक किशोरीलाई गीत/संगीत मनपर्छ। उनले गीत पनि गाउँछिन्। आफूले गाएको गीत फेसबुकमा पनि राख्छिन्। उनले फेसबुकमा राखेको गीत सुनेर एक जना मिडियाकर्मी तथा सर्जकले गीत गाउन दिन्छु भन्दै केही वर्ष पहिले घोराहीमा बोलाए।

ती सर्जकले घोराहीबाट तुलसीपुरमा गीत रेकर्ड गर्न जाने भनेका थिए। तर, किशोरीलाई लमही बजार लगियो। गीत रेकर्ड गर्न लमही गएको भएपनि रेकर्डिङ स्टुडियोमा लगिएन, होटलमा लगियो। ती किशोरीले गीत रेकर्ड गर्नका लागि जान आग्रह गरिन्  तर मदिरा सेवन गर्न सर्जकले आग्रह गरे।

किशोरीलाई शंका लाग्यो। ‘होटलमा लगिएपछि म आत्तिएँ, अनि भाग्ने प्रयास गरे र महिनावारी भएको छ भनि प्याड किन्ने बहानामा बाहिर निस्किएँ,’ उनले भनेकी छन्, ‘अनि दिदीलाई फोन गरेँ र त्यहाँबाट भागेँ।’

यो दुई घटना घोराहीको एक सामुदायिक विद्यालयमा पढ्ने किशोरीले समाजिक सञ्जालको प्रयोगबाट भागेको अपराधको उदाहरण हो। उनीहरुले ‘मेरो आवाज मेरो शक्ति’ परियोजनामार्फत् गरिएको अभियानमा सामाजिक सञ्जालबाट भोगेका अपराधका अनुभव सुनाएका हुन्। 

पछिल्लो समय फेसबुक, ईमो, टिकटक, ट्वीटर, भाइबर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट हुने अपराधहरु बढ्दै गएका छन्। कसैले साथी बनेर, कसैले अपराधको शैली अपनाएर त कसैले विभिन्न बहानामा सहयोगको नाममा अपराध गर्ने गरेको प्रहरी तथ्यांक छ।

२०७८ को तथ्यांकअनुसार नेपालमा ९ सय ६ वटा साइबर अपराधका घटना प्रहरीमा दर्ता भएको छ। त्यसमा सबैभन्दा धेरै फेसबुकसँग सम्बन्धित रहेका छन्। प्रहरीकाअनुसार ३ हजार ४ सय ५१ वटा साइबर अपराधका मुद्दाहरु फेसबुकसँग सम्बन्धित छन्।

पुरुषको तुलनामा साइबर अपराधमा महिला तथा किशोरीहरु बढी पर्ने गरेका छन्। फेसबुकसँग सम्बन्धित घटनामा महिलाका २ हजार ३ वटा घटना भएकोमा पुरुषका १ हजार ४ सय ७१ वटा घटना घटेका छन्।

सामाजिक सञ्जालको गलत प्रयोगले बढ्दै अपराध

सामाजिक सञ्जालको गलत प्रयोगले साइबर अपराध बढ्दै गएको जिल्ला प्रहरी कार्यालय दाङका असई दीपक शर्माले बताए। यस्ता अपराध बढी किशोरीहरु फस्ने उनको भनाइ छ। ‘साइबर अपराधमा किशोरीहरुलाई ताग्रेट गरिएको देखिन्छ,’ उनले भने।

उनले साइबर अपराध रोक्न सामाजिक सञ्जाल चलाउने सम्बन्धित जनचेतना जगाउनुपर्ने बताए। ‘चलाउने बेलामा फेसबुक, टिकटक, इन्स्ट्राग्राम सबै चलाउने तर कसरी चलाउँदा सुरक्षित हुने भन्ने ज्ञान नहुँदा अपरोध बढ्दै गएको छ,’ असई शर्माले भने,‘अब  यस सम्बन्धित जनचेतना जगाउनुपर्नेछ।’

यस्तै साइबर अपराध रोक्नका लागि काम गर्दै आइरहेका नेपाल–अमेरिका अलुम्नाई नेटवर्कका लुम्बिनी प्रदेश संयोजक दुर्गा प्रसाद पाण्डेले सामाजिक सञ्जालको प्रयोगमा ज्ञानको कमी हुँदा साइबर अपराध बढ्दै गएको बताए। ‘सामाजिक सञ्जालमा को सँग बोल्ने, कसरी बोल्ने, कस्तो साथी बनाउने भन्ने ज्ञान नहुँदा साइबर अपराध गर्नेहरुलाई सहज भएको छ,’ उनले भने, ‘यसले साइबर अपराध बढ्दै गएको छ।’

प्रकाशित मिति: : 2022-07-31 21:35:00

प्रतिकृया दिनुहोस्