अमेरिकी राष्ट्रपति बाइडेन फेरि कोभिड -१९ बाट संक्रमित

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी राष्ट्रपति जो बाइडेन दोस्रोपटक कोभिड-१९ बाट संक्रमित भएका छन् । कोभिड-१९ रिबाउण्ड भएको उनका चिकित्सकले शनिबार विहान औपचारिक रूपमा पुष्टी गरेका छन् । प्याक्स्लोभेडमार्फत् उपचार गरिएका साह्रै थोरै कोभिड १९ संक्रमितलाई हुने रिबाउण्ड कोभिड १९ राष्ट्रपति बाइडेनलाई भएको हो । 

उमेरले पाका बाइडेनको स्वास्थ्य अवस्थालाई लिएर टिकाटिप्पणी भैरहेकै बेला कोभिड- १९ दोहोरिएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर थप चिन्ता व्यक्त गरिएको छ । कोभिड १९ परीक्षणमा पोजेटिव पाइएका बाइडेन केही दिनपछि गरिएको परीक्षणमा नेगेटिव देखिएपछि काममा फर्किएका थिए । तर, त्यसको केही दिन पनि नबित्दै ह्वाइट हाउसले कोभिड १९ रिबाउण्ड भएको समाचार सार्वजनिक गरेको छ। 

बाइडेन संसारकै एक मात्र महाशक्ति राष्ट्र अमेरिकाका शक्तिशाली राष्ट्रपति तथा अमेरिकी सेनाका सुप्रिम कमाण्डर हुन् । तर, यिनै सर्वशक्तिमान व्यक्तिलाई कोभिड १९ ले निरीह बनाएको छ । र, उनी एकपछि अर्को गरेर कोरोना कहरको शिकार भैरहेका छन् । 

राष्ट्रपति बाइडेनमा एकपछि अर्को गरेर कोभिड १९ संक्रमण देखिएपछि कोभिड १९ बाट अमेरिका अझै सुरक्षित भै नसकेको सन्देश प्रवाह भएको छ । शुक्रबार मात्र पनि अमेरिकामा कोभिड १९ बाट २८४ जनाको निधन भउको थियो । 

  

प्रकाशित मिति: : 2022-07-31 02:15:00

प्रतिकृया दिनुहोस्