साँझपख फुटपाथ व्यापारीले भरिभराउ हुने नयाँ बानेश्वर क्षेत्र हप्ता दिनदेखि उजाड छ। सडकपेटीमा व्यापार गरेर आफ्नो भोको पेट भर्नेहरु अचेल भाैतारिएका छन्। फुटपाथबाटै जीविकापार्जन गर्नेहरुको भातको गाँस हराएको छ। आफ्ना लाला-बालालाई शिक्षा आर्जनको लागि स्कुल पठाउने अभिभावक अब पढाउने कसरी होला भन्ने चिन्ताले पिराेलिरहेका छन्।
काठमाडाैँ महानगरपालिकाले अहिले मात्र होइन वर्षौदेखि फुटपाथका पसलहरु हटाउने भन्दै आइरहेको हो। तर, लागु गर्न भने सकेको छैन। अहिले भने महानगरले पूर्णरूपमा हटाउने प्रतिबद्धता गरेको छ।
फुटपाथ व्यापार हटाउने जुन कुरा महानगरले राख्यो त्यो ठिक हो। उनीहरुलाई एउटा तोकिएको समय र स्थान दिएर राख्न भनिएको छ। अहिले सबैको चासोको विषय बनेको छ, नयाँ बानेश्वरको फुटपाथ क्षेत्र। यहाँका फुटपाथ व्यापारीहरु व्यापार गर्न पाउनुपर्छ भन्ने माग राखेर आन्दोलनमा उत्रिएका छन्।
यही ठाउँमा वर्षाैदेखि फुटपाथ व्यापार गरेका खोटाङका गणेश पाैडेलले महानगरले फुटपाथ हटाएर धेरै जनाकाे राेजीराेटी खाेसिएकाे गुनासाे गरे।
‘आज दुई जनाको कारणले गर्दा हजार जनाको रोजीरोटी खाेसिएकाे छ। हामीलाई स्थानीयले त्यहाँ बस्न दिएनन्। हाम्रो दुःख देखेर एकजना व्यक्तिले हामीलाई कम शुल्कमा सटरमा राख्न दिनुभएको छ। यहाँ राख्न त पायौँ के गर्नु व्यापार नै हुन्न, यसअघि पनि हामीले महिनाैँ दिनसम्म यही राखेर व्यापार गरेका थियौँ। बोनी समेत गर्न पाइएन अनि त्यसपछि फुटपाथमा व्यापार गर्न पुगेका हौँ। हामी आर्थिक रुपले सम्पन्न भएका थियौँ भने फुटपाथमा बस्ने थिएनौँ,’ पाैडेलले भने,‘सटर भाडा तिर्न सक्ने क्षमता नभएर नै यसरी व्यापार गरेका हौँ। हामीमाथि खेलबाड गरे स्थानीयले, हामीलाई गरे केही थिएन तर हाम्रा बालबच्चामाथि पनि गरे। त्यो अलि असहय भएको छ।’
त्यस्तै ओखलढुङ्गाकी सविता भुजेल पनि आफूले वर्षाैदेखि गर्दै आएकाे व्यापार खाेसिँदा समस्या भएकाे बताउँछिन्। यही फुटपाथमा आफ्ना छाेराछाेरी पढाउनकाे लागि घाम पानी नभनी दु:ख गर्ने गरेकाेले अहिले आएर यहाँबाट लखेटिन पर्दा थप समस्या भएकाे उनकाे भनाइ छ।
‘सडकमा व्यापार गरेर समस्या पारेकाे भन्दै हामीमाथि धेरै आराेप लाग्ने गर्छन्, बिरामी बाेकेकाे गाडीलाई साथीहरूले बाटाे नछाेडेका भन्दै स्थानीयले गाली गरेका थिए तर साथीहरूले बाटाे त छाेडेकै हुन्, सटर व्यापारीले हाम्राे व्यापार देखेर डाहा गरेका हुन्,’ सविताले बिएल नेपाली सेवासँग आफ्ना दु:ख पाेखिन्,‘सटरमा व्यापारीहरूले पनि लाखौँ भाडा तिरेर व्यापार गरेका छन्। उनीहरुले पनि गरेर खाना पर्छ। तर, पुलिस नै बोलाएर लाठ्ठी चार्जसम्म गराए। यतिसम्म चाहिँ नगराउनुपर्ने थियाे। हामीले पिटाइ सहेर नै बसिराख्यौँ।’
महानगरले सिमित समयमा फुटपाथमा व्यापार गर्न दिए पनि टाेलवासीले आफूहरूलाई व्यापार गर्न नदिएकाे भन्दै सविताले आक्राेश पाेखिन्,‘कुकुर बस्न पाउने पेटीमा हामीले गरिखान पाएनाैँ। हामी हाम्रो दु:ख पोख्न कसको ढोका ढकढकाउने ? सरकारले हाम्रो मर्म बुझेर केही व्यवस्था गरिदिए हुन्थ्यो।’
सबैले आफूहरूका कारण बाटाे हिँड्नेलाई गाह्राे भएकाे भन्दै गाली गरे पनि आफूहरूले काम गर्ने अरू विकल्प नभएकाेले फुटपाथमा व्यापार गर्न बाध्य भएकाे सजिना महर्जन बताउँछिन्। ‘मैले पनि राम्रोसँग आँखा देख्दिनँ, मेराे श्रीमान त झन दृष्टिविहीन हुनुहुन्छ। राम्राेसँग पैसा चिन्न नसकेर साँझपख त मलाई व्यापार गर्नै गाह्राे हुन्छ,’ सजिनाले भनिन्,‘मैले यो बाहेक अरु काम गर्न सक्दिनँ र बाध्यताले यहाँ बस्नु परेकाे हाे। गाली गर्नुभन्दा सरकारले हाम्राे मर्म बुझिदिए हुने थियाे।’