हिमालय वृद्धाश्रम केन्द्रमा बिहानको मिरमिरेसँगै सुरु हुन्छ, मन्दिरा भट्टराईको काम। सबेरै उठदेखि व्यस्त रहने उनी बेलुकासमेत खाना पकाउनमा भ्याइनभ्याइ हुन्छिन्।
बिहान ६ बजे मानिसहरुको उठ्ने समयमा त उनी आश्रमका ४४ जना वृद्धवृद्धाका लागि नास्ता बनाइसकेकी हुन्छिन्। यसैगरी बितिरहेको छ, मन्दिराको दिनचर्या।
बाआमाका लागि दिनकाे तीन पटक खाना पकाउनु पाउँदा मख्ख छिन् उनी। भन्छिन्, ‘बेसाहरा बनेका बाआमालाई मैले खाना खुवाउन पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु। उहाँहरुका लागि खाना बनाउन पाउँदा मलाई रमाइलो लाग्छ।’
आफू अहिले जे–जस्तो भएपनि सबै आश्रमकै कारण भएको उनी बताउँछिन्। ‘म यहाँ धेरै खुसी छु, आज म जे जति छु सबै यहीँ आश्रमको कारण छु’ उनी भन्छिन्, ‘म भाग्यमानी रहेछु, त्यसैले म जस्ती बेसहाराले यहाँ सहारा पाएँ।’
हिमालय वृद्धाश्रम धेरैको सहारा बनेको उनले बताइन्। ‘यो आश्रमले मलगायत धेरै बेसाहरालाई सहारा दिएको छ’ उनले बिएल नेपाली सेवासँग भनिन्, ‘जब बेसहारालाई कसैले सहारा दिन्छ, त्यो मान्छे उसको लागि भगवान हुन्छ। मेरो लागि मन्दिर भनेको यो आश्रम हो अनि देवता यहाँ मलाई माया गर्ने मानिसहरु। म उहाँहरुलाई मरेर गएपनि बिर्सिन सक्दिनँ। यो आश्रम नहुँदो हो त म अहिले जमिनमुनि हुन्थेँ होला।’
धरानबाट भागेर काठमाडाैं
धरानकी मनितालाई १५ वर्षअघि एक केटाले प्रेम प्रस्ताव राखे। सुरुमा उनले प्रेमलाई अस्वीकार गरिन्। तर विस्तारै उनी पनि ती केटाप्रति आकर्षित हुँदै गइन्।
उनले प्रेमीसँग विवाह गर्छु भनेर घरमा विवाहको प्रस्ताव पनि राखिन्। तर उनलाई घरबाट अहिले विवाह नगर भन्दै झपार्न थाले। तर मायामा परेकी उनले केही नसोची प्रेमीसँग भागेर विवाह गरिन्।
विवाह गरेर केटाको घर पुगेकी उनी छानाबाट खसेझैँ भइन्, जब उनले थाहा पाइन् उनको प्रेमी विवाहित रहिछन्।
‘मलाई फकाईफुलाई विवाह गरे तर उनी त विवाहित रहिछन्’ आफूलाई झुक्याएर विवाह गरेका प्रेमीकाे नाम समेत लिन नचाहने उनी भन्छिन्, ‘विवाह गरेर आइसकेपछि माइत जानपनि सकिनँ, अनि दुखःसुख गरेर सँगै बस्न थालेँ।’
श्रीमानकी जेठी श्रीमतीले आफूलाई कुटपिट गरेको उनलाई अझै याद छ। भन्छिन्, ‘मलाई सधैँ कुटिरहनुहुन्थ्यो, घरको काम सबै मैले गथेँ, तर पनि मलाई हेप्नुहुन्थ्यो।’
श्रीमान घरमै हुँदा पनि आफूलाई कुटेकी जेठीले श्रीमान विदेश गएपछि झनै हेप्न थालेको उनले बताइन्।
‘श्रीमान विदेश जान भएपछि मैले झनै दुख पाएँ, उनीहरुले मलाई मात्र होइन मेरो छोरालाई पनि कुट्न थाले’ उनले बताइन्।
आफूले सहनु परेकाे दुख छोराले पनि खेप्न परेपछि उनी चाउचाउको गाडीमा बसेर काठमाडौं भागेर आइन्।
उनी भन्छिन्, ‘मैले उनीहरुको कुटाई सहन सकेपनि मेरो छोराले दुख पाएको देख्न सकिनँ, त्यसैले चाउभाउकाे गाडीमा चढेर धरानबाट भागेर काठमाडौं आएँ।’
एक्ली आमा मन्दिरा
कसैको माया नपाएर भौतारिएर काठमाडौं आएकी मन्दिरा गङगबूमा बस्न थालिन्।
आफ्नो छोराको पालनपोषणको लागि उनी एक होटेलमा काम गर्न थालिन्। उनको काम थियो, खाना पकाउने अनि भाँडा माझ्ने।
अन्जान सहरमा काम गरेर छोरालाई पालिरहेकी उनी खुसी थिइन्। तर उनको खुसी क्षणिक बन्यो। जब उनी बलात्कृत भइन्।
‘मलाई थाहा छैन, को थिएँ ती मानिस,जसले मलाई नर्कमा ढकेल्यो’ उनी सम्झिन्छिन्, ‘बूढाको घरबाट दुख पाएर काठमाडौं आएँ तर यहाँ पनि सुख पाइनँ।’
जबरजस्ति करणीमा परेकी उनले एक छोरालाई जन्म दिइन्। जसको लालनपोषण पनि उसैको थाप्लोमा आइपर्यो। ‘मैले थेक्न नसक्ने दुख पाएँ’ उनले भनिन्।
दुख पाएर बिछिप्त बनेकी उनले हिमालय वृद्धाश्रमको बारेमा थाहा पाइन्। जसले सयाैँ बेसाहरालाई सहारा दिइरहेकाे थियाे।
उनको अवस्था देखेकी आश्रमकी अध्यक्षले उनलाई आश्वासन दिँदै भनिन् ‘हामी तिमीलाई सहारा दिन्छौँ नानी!’
आश्रम बसेकाे १० वर्ष बिताइसकेकी उनको दुबै छोरा अङग्रेजी स्कुलमा पढ्छन्। जसलाई आश्रमले नै पढाएकाे हाे।
विगतमा आफूले पाएको दुखलाई बिर्सिएकी मन्दिरा भन्छिन्, ‘अब मलाई केही कुराको दुख र डर छैन। मलाई यहाँ छोरी जस्तै माया गर्नुहुन्छ। मेरो सबैथोक भनेको यहीँ आश्रम हो। जसलाई म नमरुन्जेल सेवा गरिरहने छु।’