‘खटाएको बाहेक अरू काम नगर्ने, राजनीतिक विचारधारात्मक कामको मुख्य महत्व नदिनु, जनता बिउँझाउने प्रचार कार्यमा मेहनतपूर्वक नलाग्ने, गलत विचारका विरूद्ध संघर्ष नचलाउने, दिलैदेखि नलाग्ने, आआफना क्षेत्रको वास्तविक नेतृत्वका रूपमा आफूलाई स्थापित नगर्ने, बिरालो बाँध्ने संस्कारमा जकडिनेजस्ता विषय सांगठनिक क्षेत्रका औपचारिकतावाद हुन् । यो विसर्जनवादको पूर्व रूप हो …।’
– जननेता मदन भण्डारी
जननेता मदन भण्डारीले माथि उल्लेख गरेझैँ एमाले पार्टी नेतृत्वबाट नै औपचारिकतावादले ग्रस्त रहेको छ । यो पार्टी माकुनेको कार्यकालसँगै मदन र जबजको लयबाट क्रमशः विमुख हुँदै गयो । ओली उदयपछि पार्टीलाई जबजकै लयमा फर्काउने प्रयास सुरु गरिएको देखिन्छ तर विकृत र विसङ्गत लयमा रत्तिएका केही नेताले रछान र ओछ्यानमा फरक देख्न छाडेको हो कि जस्तो अनुभव हुन्छ । राजनीतिक वा राजकीय क्षेत्रमा प्राप्त जिम्मेवारीसमेत औपचारिकतावादमा सीमित हुन थालेका छन् । त्यसैले, आगामी प्रदेश र संघको निर्वाचनअघि देशव्यापी पार्टी प्रशिक्षणको सन्दर्भमा मदनले भनेझैँ बिरालो बाँध्ने शैलीको प्रशिक्षण हुने हो कि भन्ने खतरा देखेर यो लेख लेखिएको हो ।