मेरो दौँतरीमा सबैभन्दा पहिले अमेरिका आउने र हाल ओरेगनमा बस्ने राजेन्द्र भक्त मानन्धर (भक्ते) हो। चालिसकै दशकमा ऊ अमेरिका आएको कुराले हामी साथीभाइहरुको बिचमा बम विस्फोट भएकोजस्तो आश्चर्य, कौतुहल, डाहाजस्ता मानवीय संवेग उत्पन्न भएको थियो। अमेरिका भन्ने एउटा देश हो भन्ने बाहेक अरु कुनै कुरा थाहा नभएको म जस्तो मन्द बुद्धिलाई भक्ते अमेरिका गएको सुन्दा ‘लौ म भने जान पाइन्ँ’ भन्ने पिर लागेको थियो। इमान्दारीका साथ् स्वीकार गर्नु पर्दा पछि ऊसँग सम्पर्कमा भएका साथीहरुले ‘भक्ते ग्यास कम्पनीको म्यानेजर भयो रे’,‘भक्तेको खैरेनी गर्लफ्रेन्ड छ रे’जस्ता मिथक सुन्दा डाहाले औडाहा भएर रातभर निन्द्रा लागेन।
अमेरिकामा पेट्रोललाई ग्यास र पेट्रोल पम्पलाई ग्यास स्टेसन भन्छन भन्ने कुरा थाहा नभएको मलाई भने ‘लौ भक्तेले चमत्कार गरेछ’ जस्तो लागेको थियो। मेरो बिचारमा यता आएर प्राय: सबैले गर्ने काम पेट्रोल पम्पमा घण्टा हानेको कुरा उसले म म्यानेजर भएँ भनेर गफ दिएको हुन् सक्छ वा नेपालमा नबुझेर म्यानेजर भनेको हुन् सक्छ तर सत्य कुरा भक्तेलाई मात्र थाहा छ।
हामी साथीहरुको बीच भक्तेले फोन गर्ने र फोन नगर्नेहरुको बीच एक किसिमको वर्ग विभाजन नै भएको थियो। उसले मलाई अमेरिकाबाट कहिले फोन गरेन, सायद म उसको ‘प्रायोरीटी लिस्ट’मा नपरेर होला तर ऊसँग फोनमा कुरा गर्नेहरु भने विष्णु भगवानसँग कुरा गरेको जस्तै खुसीले गदगद भएका हुन्थे र राजाहाँस जस्तो ढल्की–ढल्की हिँन्थे।
त्यो बेला नेपालबाट अमेरिका फोन गर्नु अहिलेको जस्तो सहज र सरल थिएन। अहिलेको जस्तो सबैको पहुँचमा फोन थिएनन् र फोनै भए पनि एक मिनेटको करिब १ सय ७० रूपैयाँ लाग्थ्यो, सायद अमेरिकाबाट पनि नेपालमा फोन गर्न त्यति सहज थिएन। हाल जस्तो कुरा गर्न मिल्ने भाइबर, ह्वाट्स एप्सजस्ता ‘भ्वाइस एप्स’ नभएका कारण धेरै जस्तो कुरा चिठ्ठीबाटै आदानप्रदान हुन्थ्यो र फोन गर्ने भनेको कुनै जरुरी कुराको लागि मात्र हुन्थ्यो।
त्यो बेला जसको अमेरिका, ब्रिटेन आदि देशहरुबाट फोन आउने मान्छेको समाजमा अलग्गै परिचय हुन्थ्यो र उसलाई विशेष सम्मान दिने चलन थियो। हाल सामाजिक सञ्जालमा नेता वा त्यस्तै चर्चा वा कुचर्चामा रहेका मान्छेहरुसँग कुम जोडेको फोटो अपलोड गरेर अरुलाई ‘यो मान्छेसँग मेरो परिचय छ’ भनेर विज्ञापन गरेको जस्तो त्यो बेला ‘मलाई फलानोले अमेरिकाबाट फोन गरेको थियो’ भनेर चिया पसलमा गफ दिने चलन थियो। त्यसको गफ सुनेर म जस्ता कहिले फोन नआउने मान्छेहरु रिस र डाहाले मुर्मुरिन्थेँ। कसै–कसैले भने आफूलाई विदेशबाट फोन आयो भनेर काल्पनिक कुरा पनि गर्थे र समाजमा झुटो भए पनि सम्मान प्राप्त गरेर खुसी हुन्थे।
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा विदेश बसेर जुन बेला पनि फोनमा कोही उपलब्ध हुन्छ भने त्यसको यता कुनै अस्तित्व छैन भनेर बुझ्दा हुन्छ। यता दिन भएको समय नेपालमा रात पर्ने भएको कारण फोनमा कुरा गर्ने समय मिलाउन नै हम्मेहम्मे पर्छ। त्यसमा पनि हरियो बत्ति बलेको देख्दैमा फोन गरेर अर्थ न बर्थको कुरा गर्नेहरुको यता कुनै विशेष हैसियत छैन र उसले नेपालका मान्छेहरुलाई फोन गर्नु भनेको उसको लागि केवल मनोरञ्जन र ‘टाइम पास’ मात्र हो भन्ने बुझ्नु जरुरी छ।
अब फर्कौँ फेरि भक्तेतर्फ, मलाई भक्तेले फोन गरेन भनेर केवल उसलाई जिस्काएको मात्र हो। यदी उसले मलाई फोन गर्नुपर्ने कारण नै थियो भने पनि बिचरोले कता गरोस्, किनकी त्यो बेला मेरो घरमा फोन थिएन। झन् अहिलेको जस्तो हात–हातमा मोबाइल फोनको त् कल्पना पनि गरिएको थिएन।