दाङ घोराही उपमहानरपालिका–१७ का ३० वर्षीय वीरबहादुर चौधरीको आजभन्दा करिब २० वर्षअघि किताब, कपि र कलमसँग खेल्ने उमेर थियो। उनले जीवनको मात्र एक दशक समय पार गरेका थिए। बाल्यकालको भरपुर आनन्द लिँदै थिए। तर देशको राजनीतिले गर्दा वीरबहादुर बाल्यकालको भरपुर आनन्द लिन सक्ने अवस्थामा थिएनन्।
सशस्त्र युद्धसहित तत्कालीन नेकपा माओवादी आन्दोलनमा थियो। ठाउँठाउँमा विस्फोट भइरहन्थ्यो। गाउँ–गाउँमा माओवादी संगठन विस्तार गर्न पुगिरहेका हुन्थे।
बालकदेखि वृद्धसम्मको माओवादीमा आकर्षण बढ्दै गएको थियो। वीरबहादुर पनि ३–४ कक्षा बढ्दादेखि नै माओवादीको विभिन्न कार्यक्रममा सहभागी हुन्थे। माओवादीका कार्यक्रममा सहभागी हुँदाहुँदै देशमा क्रान्ति गर्नुपर्ने कुरा खुबै (धेरै) सुनेका थिए।
क्रान्ति शब्द सुनेका वीरबहादुर अथवा त्यो १०–११ वर्षीय बालक एक दिन देशमा क्रान्ति गर्नुपर्छ भन्दै घर छाडेर हिँडे। ‘देशमा क्रान्ति गर्नेभन्दै सानै उमेरमा, त्यही २०६१ सालतिर म घर छाडेर हिँडेको हुँ,’ उनी विगत सम्झिँदै भन्छन्।
त्यसपछि वीरबहादुरको किताब, कपि र कलमसँग खेल्ने उमेर बन्दुकसँग खेलेर बित्यो। सानै भएकाले उनलाई ठुलो काम लगाइएन। उनी भन्छन्, ‘म सानै थिएँ। धेरैजसो पार्टी कार्यालयमा बस्ने र खाना बनाउने गरेँ।’
२०६१ सालमा सशस्त्र युद्धमा होमिएका वीरबहादुर २०६३ मा भएको शान्ति सम्झौतापछि पनि पूर्णकालीन माओवादी पार्टीको कार्याकर्ता भएर काम गरे। २०६८ सालसम्म माओवादीको युवा संगठन वाइसीएलमा आवद्ध भएर पूर्णरुपमा पार्टीकै काममा लागेको उनको भनाइ छ।
अहिले कृषि क्रान्तिमा वीरबहादुर
देश परिवर्तनका लागि बन्दुक बोकेर क्रान्ति गर्न हिँडेका वीरबहादुर अहिले भने कृषिमा क्रान्ति गर्दैछन्। विगत एक दशकदेखि उनी तरकारीदेखि बंगुर फार्म सञ्चाल गर्दै आइरहेका छन्। उनले घोराही–१७ गैरी गाउँमा व्यवसायिक रुपमा बंगुर पालन गर्दै आइरहेका छन्।
थोरै लगानीबाट बंगुरल पालन सञ्चालन गरेका वीरबहादुरले अहिले आएर जिल्लाकै व्यवसायिक बंगुरपालक कृषकको रुपमा परिचय बनाउन सफल भएका छन्। ‘लगानी गर्ने पैसा थिएन। यहाँ न घरवास थियो,’ उनले भने, ‘पाँच वटा पाठा राखेर सुरुमा बाँसले बारेको खोरबाट बंगुरल पालन सुरु गरेको हुँ।’
बाँसले बारेको खोरबाट बंगुरल पालन गरेका वीरबहादुरले हाल आएर पक्की खोर बनाएका छन्। अहिले ६५ वटा मात्र ठुलो बंगुर उनको खोरमा छ। साना–ठुला गरेर २०० जति बंगुर रहेको उनले जानकारी दिए। उनले उत्पादन गरेका बंगुरका पाठा जिल्लादेखि जिल्ला बाहिरका कृषकको रोजाइमा पर्ने गरेको छ।
साथै व्यवसायिक रुपमा बंगुर पालन गरेका उनले घरमा खानका लागि विषादीरहित तरकारी खेती गर्ने गर्छन्।
बंगुर व्यवसायबाट आम्दानी पनि राम्रो
विगत १० वर्षदेखि बंगुर व्यवसायमा रहेका वीरबहादुरले आम्दानी पनि राम्रै गर्दै आइरहेका छन्। यस वर्ष बंगुर व्यवसाय केहि धरापमा परेको बताउँदै उनले गत वर्षसम्म वाषिर्क १५ लाख आम्दानी गर्दै आइरहेको बताए।
‘यस वर्ष बंगुरको माग छैन। बजार खस्कँदो छ,’ उनले भने, ‘अघिको वर्षमा त वार्षिक १५ लाखसम्म आम्दानी गरेँ।’
वीरबहादुरको बंगुर व्यवसाय फस्टाउनुका पछाडि उनकी श्रीमती सुनिता चौधरीको ठूलो हात छ। अहिले दुबैजना नै कृषि क्रान्तिमा व्यस्त छन्। ‘विदेश जानु परेको छैन। यहिँ नै केही गर्न सकिएको छ’, सुनिताले भनिन्।
परिवर्तन बंगुरल पालन फर्ममा अहिले दुई जनाले रोजगारी पाइरहेका छन्। घरका श्रीमान–श्रीमतीसहित अन्य दुई जना नियमित रुपमा बंगुर फर्ममा व्यस्त रहने गर्छन्।
काम गर्ने हो भने नेपालमा नै पैसा कमाउन सकिने वीरबहादुर दाबी गर्छन्। ‘विदेशमा गएर १६ घण्टा काम गर्न सक्नेले नेपालमा पनि गरे पैसा कमाउन सकिन्छ,’ उनले भने, ‘तर नेपालमा बसेर काम गर्ने चलन छैन।’
उनले युवाहरुलाई विदेश नजान पनि सुझाव दिन्छन्। ‘नेपालमा जे गरेपनि मन लगाएर काम गर्नुपर्छ। जुन व्यवसायमा पनि पैसा छ,’ उनले भने, ‘युवाजति विदेश गए, देश विकास कसरी हुन्छ?’
राजनीतिमा इमान्दारीता छैन
बाल्यकालदेखि नै राजनीतिमा लागेका वीरबहादुरले राजनीतिमा इमान्दारीता नभएको बताउँछन्। नेताहरूको बोली एक, व्यवहार अर्कै हुने गरेको उनको बुझाइ छ।
इमान्दार व्यक्तिले राजनीति पनि गर्न नसक्ने उनी बताउँन्। ‘इमान्दारले त राजनीति गर्न नै सक्दैन,’ उनी भन्छन्, ‘ढाँट, छल गर्न सक्नेले राजनीति गर्न सक्छन्।’
साथै वीरबहादुरले अहिलेको राजनीति सेवाभन्दा पनि कमाइ खाने ठाउँ भएको बताए। ‘वास्तवमा राजनीति सेवा गर्ने ठाउँ हो। तर जो पूर्णरुपमा राजनीतिलाई पेशा बनाएर लागेको छ, उसले नै पैसा कमाएको छ,’ उनले भने।
उनी राजनीति गर्ने व्यक्तिले पैसा कमाउने अर्को पेशा गर्नुपर्ने तर्क गर्छन्। यदि राजनीति गर्ने व्यक्तिले अर्को पेशा गरेन भने त्यो राजनीतिज्ञ इमान्दार बन्न नसक्ने उनको बुझाइ छ।