२ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस 

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा गर्ने गरी सरकारसमक्ष मिति सिफारिस गरेको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आउँदो २ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न मिति सिफारिस गरेको हो।

‘आज प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीज्यूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न मिति सिफारिस गरेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।

जवाफमा प्रधानमन्त्री देउवाले २ मंसिरकै सेरोफेरोमा रहने गरी उपयुक्त समयमा उपयुक्त मिति घोषणा गर्न बताएका उनले जानकारी दिए।

आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था छ भने निर्वाचन गराउन आयोगलाई तयारीका लागि १२०  दिन आवश्यक पर्नेछ। यसबारे पनि आयोगको टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

 

प्रकाशित मिति: : 2022-07-06 17:24:00

प्रतिकृया दिनुहोस्