पुरानै पेशामा फर्किए जिसस प्रमुख नेपाली, भन्छन्: पदको लोभले राजनीति धमिलो भयो

जोगीदेखि जिसस प्रमुखसम्मको यात्रा

Breaknlinks
Breaknlinks

अगाडि टेवल छ। टेवलमाथि कपडा। त्यही कपडा काट्दैछन्, जिल्ला समन्वय समिति (जिसस) दाङका पूर्व प्रमुख जितेन्द्रमान नेपाली। यो दृश्य हो, बिएल नेपाली सेवाको टिम नेपालीले सञ्चालन गरेको नारायणी टेलर्समा पुग्दाको।

अहिले उनको दैनिकी कपडा नाप/जाँच गर्ने, काट्ने र सिलाउने गरेर बितिरहेको छ। २०७४ को स्थानीय तह निर्वाचनपछि जिससमा जनप्रतिनिधिका रुपमा ५ वर्ष बिताएका उनी राजनीतिसँगै व्यवसायमा व्यस्त छन्।

उनले जिसस प्रमुखका रुपमा रहेर जिल्लाका स्थानीय तह र प्रदेश तथा संघ सरकारसँग समन्वय गरी जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे। आफ्नो ५ वर्षीय कार्यकाल सकेर नेपाली अहिले आफ्नै पुरानो व्यवसायमा फर्किएका हुन्।

सामान्यतया नेपाली राजनीतिज्ञहरु राजनीतिलाई पेसाका रुपमा लिने गर्छन। तर, नेपाली राजनीति पेसा नभएर सेवा रहेको बताउँछन्। ‘५ वर्ष जनताको सेवा गरेँ। जिल्लाको विकासमा संघ, प्रदेश सरकारसँग समन्वय गरेर भूमिका निर्वाह गर्न सकेँ भन्ने लागेको छ,’ उनी भन्छन्, ‘अहिले कार्यकाल सकियो। अब श्रम गर्न फर्किएको छु।’

कुनै सार्वजनिक पद धारण गरेपछि श्रम गर्न वा पुनः श्रममा फर्किन चाहने राजनीतिज्ञहरु कमै छन्। सायदै फर्किन्छन् होला, पुनः श्रममा नेपाली राजनीतिज्ञहरु। उनीहरुले श्रम गदैनन् भनेर चर्को आलोचना भइरहन्छ। यसरी नेपाली राजनीतिज्ञको चर्को आलोचना हुनलाई स्वभाविक रुपमा लिन्छन्, नेपाली पनि।

‘श्रम गर्न लाज मान्ने हाम्रो चलन छ। कुनै पदमा बसेपछि श्रम गर्दा सर्वश्व गुमेको ठान्छन् यहाँ,’ उनी भन्छन्,‘श्रम गर्न के लाज ? हामी श्रमबाट कट्नु हुँदैन। श्रमविना देश विकास हुँदैन।’

तर, नेपाली राजनीतिज्ञहरु बोली एउटा र व्यवहार अर्कै गर्ने गरेको उनी स्वीकार्छन्।

यस्तो छ, नेपालीको जोगीदेखि व्यवसायसम्मको यात्रा

नेपालीले २०३२ सालतिर घोराहीमा टेलर्स (कपडा सिलाउने व्यवसाय) सुरु गरेका थिए। जतिबेला घोराहीमा नेपालीहरुले कपडा सिलाउने व्यवसाय नै गर्दैन्थे। उनी पहिलो नेपाली कपडा सिलाउने व्यवसायीक व्यक्ति रहेको बताउँछन्।

२०३२/०३३ सालतिर घोराहीमा कपडा सिलाउनका लागि भारतीय मात्र रहेका थिए। उनीहरुले सिलाउने कपडामा विश्वास मान्ने नेपालीहरुले उनले सिलाउने कपडामा विश्वास गर्न सकेनन्। जसले गर्दा उनको कपडा सिलाउने व्यवसाय डुबेको थियो।

तर, जितेन्द्रमान नेपाली भारतमा ५ वर्ष बढी कपडा सिलाउने सीप सिकेर नेपाल फर्किएका थिए। भारतमा बस्दाको निकै कष्टपूर्ण दिनहरु रहेको सम्झदै उनले नेपालमा व्यवसाय सञ्चालन गर्न नसकेको ताउँछन्। जसको कारण थियो, नेपालीले सिलाउने व्यवसायमा नेपालीहरुले नै विश्वास नगर्नु।

कपडा सिलाउने व्यवसाय सञ्चालन गर्न नसकेपछि उनी जोगीका रुपमा मन्दिरमा बस्ने समेत गएका थिए। सानै उम्मेरमा आमा र बुवाबाट टाढा भएका नेपाली केही वर्ष घोराहीको बाह्रकुने दहमा जोगीका रुपमा बसेका समेत थिए।

त्यसपछि प्यूठानको स्वर्गद्वारी मन्दिरमा बस्न जाँदा त्यहाँ दलितलाई पस्न नदिएपछि उनीले जोगीको रुप फेर्दै फेरि सामान्य नागरिकको जीवन बिताउन आएका हुन। त्यसपछि नेपालीले कपडा सिलाउने व्यवसाय नै सुरु गरेको बताउँछन्। कपडा सिलाउने व्यवासय सँगै उनी २०३५ सालतिरबाट राजनीतिमा समेत होमिए। यसपछि भने उनको व्यवसाय र राजनीतिक जीवनमा केही परिवर्तन भएको छ।

२०३७ सालमा पञ्च्यायतका विरुद्धमा आन्दोलन गर्न उनी भूमिगत नै भए। ४५ सालमा पक्राउ परे र हप्ता १० दिन हिरासतसमेत बसेको नेपालीले सुनाउँछन्। अहिले उनी नेकपा (एमाले) प्रदेश सदस्य रहेका छन्। उनको दंगाली दलित आन्दोलनलाई सर्थक पार्न ठूलो भूमिका रहेको बताइन्छ।

जिसस प्रमुख हुँदा करोडको घुसको अफर

नेपालीले जिसस प्रमुखका रुपमा ५ वर्ष बिताए। जहाँ उनले जिल्लामा भइरहेको विकास निर्माणमा कस्तो भइरहेको छ भनेर अनुगमन गर्ने जिम्मवारी थियो। त्यससमयमा आफूलाई २/४ लाखको घुसको अफर आएको बताउँछन्।

तर, त्यो अफर मान्न आफ्नो इमान्दारिताले नमानेको उनी बताउँछन्। ‘पदीय रुपमा मलाई भविष्य बनाउने अफर पनि थियो। २/४ लाखको अफर आएको पनि हो,’ उनले भने, ‘तर मेरो इमान्दारिताले त्यो मानेन्। त्यो मेरो नैतिकताले मानेन्।’

प्रकाशित मिति: : 2022-07-04 22:06:00

प्रतिकृया दिनुहोस्