नेताहरु त आफ्नो उद्देश्यमा सफल छन्, लाचार युवा पाएर । आन्दोलनमा रगत बगाउने, परिआउँदा गोली थाप्ने, निर्वाचन जिताउने, मन्त्री–प्रधानमन्त्री बनाउने तर नेताका अगाडि चुँ गर्न नसक्ने आशे युवा पुस्ता पाएको छ देशले । अनि कसरी बन्छ देश ?
समकालीन नेपाली समाजको मौलिक चरित्रका बारेमा विवेचना गर्नुपर्दा यहाँको शासन प्रणाली, यसको विकासक्रम, समय–समयका विद्रोह र संघर्षहरुलाई पनि सम्झिनुपर्ने हुन्छ।
यसको प्रारम्भ कम्तीमा राजा पृथ्वीनारायण शाहबाट गर्नुपर्ने हुन्छ। त्यसयताका दर्जनौं संघर्ष र विद्रोह केलाउनु पर्ने हुन्छ। यस सन्दर्भमा विद्रोहका आयामहरुमध्ये एकाध दृष्टान्त उल्लेख गर्नु उपयुक्त हुनेछ।
सायद विद्रोहका प्रकारहरु हुन्छन्– हाकाहाँक्की गरिने र बिनम्रतापूर्वक गरिने विद्रोह। खुलेआम विद्रोहका पनि प्रकार हुन्छन्– देशका निम्ति र वैयक्तिक स्वार्थका निम्ति। खुलेआम विद्रोह हिंसात्मक पनि हुनसक्छ। विनम्र विद्रोह भने शान्तिपूर्ण हुन्छ।
नेपालको सन्दर्भमा लखन थापा, कृष्णप्रसाद कोइराला, कृष्णलाल अधिकारी, चार शहिद (दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री), टंकप्रसाद आचार्य, रामहरि शर्मा, बीपी कोइराला, सुवर्ण समशेर राणा, गणेशमान सिंह, राजा त्रिभुवन लगायतले गरेको विद्रोहको चर्चा गर्नुपर्ने हुन्छ भने माहात्मा गान्धीको सत्याग्रह र प्राचीन रोमको दास विद्रोह विश्व विख्यात विद्रोह हुन्।