काठमाडौंस्थित वसन्तपुरको फुटपाथमा देखिइन्, एक वृद्धा। जो टन्टलापुर घाममा झोलाको पोकामा सामान बेचिरहेकी थिइन्।
उनीसँग रङ्गीबिङ्गीका मास्क, ढाका टोपीलगायतका सामानहरु थिए। जसलाई उनी ‘सस्तो सामान’ भन्दै बेच्दै थिइन्।
उनको कुरा सुनेर आकर्षित भएका बटुवाहरु पनि मास्क देखाउँदै सोध्दै थिए, ‘यसको दाम कत्ति पर्छ आमा?’, उनले पनि भन्दै थिइन्, ‘एक प्याकेटको सय रुपैयाँ पर्छ बाबु!’
असनबाट ८० रुपैयाँमा किनेर ल्याएको मास्कलाई उनी फुटपाथमा सय रुपैयाँमा बेच्छिन्। अनि त्यहीबाट उनी २० रुपैयाँमा नाफा लिन्छिन्। यसरी नै बितिरहेको छ, नुवाकोट त्रिशूलीकी उमा मालेको जीवन।
फुटपाथमा सामान बेचिरहँदा उनलाई धेरैले सोध्ने गरेका छन्, ‘बूढी मान्छे भएर किन काम गर्नुभएको आमा?’, त्यसबेला उनको एउटै जवाफ हुन्छ, ‘मेरो अगाडि पछाडि कोही छैन। त्यसैले आफैँले नगरे हुँदैन। बाँच्नको लागि त काम गर्नै पर्याे नि।’
एकल उमालाई पाउने र गुमाउनेमा कुनै डर छैन। तर उनी हात पाउ रहुञ्जेल काम गर्न चाहन्छिन्। ‘बाँचुञ्जेल काम गर्छु, मरेपछि के हुन्छ थाहा छैन’, बिएल नेपाली सेवासँग हाँस्दै उनले भनिन्।
दिनभरि फुटपाथमा रमाउने उनी साँझ साढे सात बजे डेरा पुग्छिन्। अनि कहिले चिउरा त कहिले बिस्कुट खाएर रात कटाउँछिन्। ‘दिनभरि काम गरेर थाकेको हुन्छु, त्यसैले बेलुका खाना पकाउन सक्दिनँ। अनि त्यतिकै सुत्छु’ उनले भनिन्, ‘तर मलाई कसैको आवश्यकता छैन।’
पाँच मोहरमा काम
वि.स. २०१६ सालमा गरिब परिवारमा उमाको जन्म भयो। पाँच जना सन्तानमध्येकी उनी तेस्रो सन्तान हुन्।
घरमा खान लगाउन मुस्किल थियो। त्यसैले उनी सानै बेलादेखि मेलापात जान्थिन्। त्यहीँबाट कमाएर ल्याएको ‘पाँच मोहर’ घरमा छाक टार्न आमालाई दिन्थिन्।
‘मैले कति वर्षदेखि काम गर्न थालेँ, त्यो थाहा छैन तर मलाई याद भएसम्म काम गरेकी छु’, उनले विगत सम्झँदै भनिन्, ‘काम नगरेसम्म मुखमा माड पस्दैन थियो।’
सानाे छँदादेखि नै काममा पोख्त रहेकी उनलाई थाहै छैन, स्कुल कस्तो हुन्छ। आफ्नो दौँतरी पढ्न गएको देखेर उनी टुलुटुलु हेरेर बस्थिन्। अनि सोच्ने गर्थिन्, ‘किन स्कुल गएका होलान्? मलाई त स्कुल जानै मन लाग्दैन त!’
घरबाट कोही स्कुल नगएका कारण आफूलाई पनि पढ्न मन नलागेको उनको ठम्याइ छ। ‘घरमा दुख थियो, कहाँबाट स्कुल जानू र! मलाई स्कुल जाने मन पनि भएन’, उनी सुनाउँछिन्।
विवाह भएको दुई वर्षपछि बिछोड
गाउँकी मेहनती केटीको रुपमा परिचित थिइन् उमा। त्यसैले पनि उनी सबैको प्रिय थिइन्। काम गर्न माहिर उनको सोही गाउँमा विवाह भयो। ‘मेरो १५ वर्षको उमेरमा प्रेम विवाह भएको हो’, उनी भन्छिन्, ‘तर सोचेको जस्तो के हुँदो रहिछ र!’
विवाह भएको महिना दिनसम्म वैवाहिक सम्बन्ध राम्रो रहेको तर वर्ष दिनपछि बिग्रन थालेको उनी बताउँछिन्।
‘म काम गर्थेँ तर मेरो लोग्ने मेरै कमाइ खाएर बस्थ्याे। त्यति गर्दा पनि मलाई नै मतलब गर्दैन थियाे’, श्रीमानको नाम बताउन नचाहने उनी भन्छिन्, ‘दिनदिनै मसँग झगडा गर्थ्याे।’
दिनकै रक्सीकाे नशामा टिल्ल रहने उनको श्रीमानको एउटै गुनासो हुन्थ्याे, ‘सन्तान’।
विवाह गरेको वर्ष दिनसम्म पनि सन्तान नभएको कारण आफूबीच खटपट सुरु भएको उनलाई अझै याद छ।
‘सन्तान नभएको कारण मसँग सधैँ झगडा गर्थ्यो’, चार दशक अघिको घटनालाई सम्झँदै उनले भनिन्, ‘उनीसँग झगडा गर्न नसकेको कारण मैले उसलाई त्यागेँ।’
श्रीमानलाई छाडेकी उनलाई दोस्रो विवाह गर्ने मनै भएन। भन्छिन्, 'आफूले प्रेम गरेको मान्छे त आफ्नो भएन किन अरुसँग जीवन कटाउनु भनेर दोस्रो विवाह गरिनँ।’
१० वर्ष बिना पैसाको काम
पैसा कमाउने सपना बुनेकी उनी ०३४ सालमा फुपाजुसँग काठमाडौं आइन्। राजधानी आएकी उनले फुपाजुकै घरमा ‘भाँडा माझ्ने’ काम गर्न थालिन्।
महिनाको सय रुपैयाँ दिन्छु भनेर काम लगाएका उमालाई फुपाजुले एक रुपैयाँ पनि दिएनन्। उल्टै खाएको र लगाएको हिसाब गर्न थाले।
‘उहाँहरुले मलाई बिना पैसा १० वर्ष काम लगाउनुभयो’, उनी विगत सुनाउँछिन्।
काम गरेको पैसा नदिएपछि उनले बालुवा बोक्न थालिन्। साेही कामबापत उनले महिनाको २०० रुपैयाँ पाउँथिन्। ‘पैसा कमाउथेँ तर कोठाको भाडा तिर्न नै ठिक्क हुन्थ्यो’, उनी भन्छिन्, ‘आफूलाई त हात लाग्यो शून्य।’
फुटपाथकाे व्यापारबाट लाखौँ रुपैयाँ कमाइ
भारी बोक्ने काम गरेर थाकेकी उमाले एकदिन देखिन्, फुटपाथमा व्यापार गरिरहेको। त्यो देखेर उनमा पनि सोच आयो त्यसैगरी व्यापार गर्ने। अनि सुरु गरिन् उनले आफ्नो फुटपाथको व्यापार।
‘म यो काम गरेर धेरै सन्तुष्ट छु। बसिरहन्छु, भारी बोकेर उठबस गर्नु पर्दैन। मलाई आन्नद छ’, उनले भनिन्।
१५ वर्षअघि आफूसँग केही नभएको बताउने उनी भन्छिन्, ‘अहिले मसँग लाखौँ रुपैयाँ छ। जुन पैसा मैले यही फुटपाथबाट कमाएकी हुँ।’
आफू एक्ली भएको कारण पैसाको आवश्यकता पर्ने बताउँदै उनले भनिन्, ‘सन्तान हुनेहरुलाई छोराछोरीले पाल्छन्, तर म जस्ती एकललाई कसले पाल्छ र? त्यसैले पैसा राखेकी छु।’
कोरोना कहरका कारण विगतमा भएको लकडाउन स्मरण गर्दै उनले भनिन्, ‘मैले कमाएर थुपारेको पैसा लकडाउन हुँदा काम लाग्छ। लकडाउनमा काम गर्ने बाटो सबै बन्द हुन्छ।’
आफूलाई पुग्ने खर्च भएको कारण जस्तोसुकै सकंट आएपनि डर नभएको उनी बताउँछिन्।