हाँसिन्–हाँसिन् अनि भक्कानिइन् ‘पिन्चे झाँक्री’

जीवन डाँगी

काठमाडौं
File Photo
File Photo

एउटा आन्दोलनकी ‘पोस्टर गर्ल’ अर्थात् रामुकमारी झाँक्री आइतबार ‘दरबार’भित्रै रोइन्। वि.स. २०६२/०६३ को जनआन्दोलनदेखि ‘हक्की’ स्वभावले परिचित उनी अन्ततः ‘पिन्चे’ निस्किइन्।

सत्ता र भत्ताले मानिसलाई अराजक र भावुक बनाउँदो रहेछ। नपत्याए ‘झाँक्री दिदी’ लाई फर्केर हेरौँ। लाग्छ– बर्खाको पानी, पानी होइन। जताततै बगिरहेकाे आँसुकाे भेल हाे। याे रोदन देखेर रोइरहेका छन्, समर्थक–कार्यकर्ता।

सिंहदरबारबाट जाँदाजाँदै राजधानी भिजाइन्। नयाँ बानेश्वरमा चर्को घाम लागिरहँदा ‘झाँक्री वर्षात’ले सिंहदरबार जलमग्न बन्यो। ८ महिना २० दिनअघि सहरी विकासमन्त्रीको पद थाम्दा उत्साहित बनेकी उनी बिदा हुँदा आँसु झार्न बाध्य भइन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा विवादित मन्त्रीको सूचीमा थिइन्, रामकुमारी। सत्ता प्राप्तिका लागि बेलाबखत उग्र बन्ने उनी मन्त्री पड्काएपछि शान्त बनिन्। कामका नाममा सिन्को नै भाँचिनन् न नभाैनाैं। बरू मन्त्रालय छाड्दा ठूलै चमत्कार गरिन्, विक्षिप्त बनिन्। रामकुमारी, उग्रकुमारी हुँदै रून्चीकुमारीको तहसम्मै पुगिन्।

‘किन रोइस् मंगले, आफ्नै ढंगले,’ खासगरी एमालेनिकट सामाजिक सञ्जाल प्रयोगकर्ताको टिप्पणी छ। नेकपा–ताका तत्कालीन प्रधानमन्त्री ओली र मन्त्रीलाई यो वा त्यो नाममा आलोचना गर्थिन्। टेलिभिजनमा पुगेर ‘असल मन्त्री’ बन्ने टिप्स दिन्थिन्। तर उनी आफैँ मन्त्री बनिन्। रोएरै गइन्।

नेकपा (एस) की शीर्ष नेत्री उनी मन्त्री छाड्दा किन पत्रकारसामु रोइन्? आलोचक भन्छन्, ‘झाँक्रीको कलाकारिता राम्रो देखियो। उनी टिकटकबाट फिल्म खेल्ने तहमा पुगिसकिछिन्। ल... बधाई छ!’

त्यसो त उनी रुँदै–रुँदै हिँडेको एक हप्ता भइसक्यो। माधवकुमार नेपालले मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि झाँक्रीको मनै बिग्रियो। कहिले खुमलटार पुगिन्, कहिले बालुवाटार। माधव नेपाल बेलुका खुमलटारबाट निस्किए भन्ने खबर पाउनासाथ विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठलाई लिएर राती नै प्रचण्ड निवास पुग्थिन्। माकुने अर्थात् माधवकुमार नेपालले झाँक्रीको अपमान गरे। नेकपा (एस)ले अपराधीजस्तै बनायो। सम्मान गरेन। झाँक्री पनि ‘नेता हुन्, नेता।’

‘झाँक्री दिदी’ लास्टै उग्र क्या! जसले मन्त्री बनायो उनैलाई धम्की दिइन्। जसको हात च्याप्पै समाइन्, उसैलाई तनाव दिइन्। झाँक्रीकाे उग्रताले माधव कमरेड माैन छन्। आइतबार बल्ल राजीनामा त दिइन्! सिंहदरबारमा सञ्चारकर्मी भेला पारिन्। झोक्रिइन्। कैयौं थोपा आँसु बगाइन्। घोक्रो सुक्ने गरी रोइन्। नेपाल–खनाललाई शान्त विद्रोहको एउटा ठूलो आवाज सुनाइन्।

नेकपा (एमाले) विभाजनताका दोस्रो पुस्ताका प्रायः नेताहरू ओलीतिरै लागे। तर तेस्रो पुस्ताकी झाँक्री अध्यक्ष नेपालसामु दह्रो गरी उभिइन्। हात डोर्‍याउँदै निर्वाचन आयोगमा पुगिन्। सचिव भइन्। मन्त्री पड्काइन्। अनि काम चाहिँ के गरिन्?

०००

यी उनै रामकुमारी हुन्– जसले जनआन्दोलनका बेला विद्रोही ‘इमेज’ बनाइन्। गणतन्त्रका लागि टाउको फोरिन्। हजारौं युवालाई साहस बाँडिन्। परिवर्तनको संवाहक बनिन्। राष्ट्रिय राजनीतिमा छपक्क छाइन्। एउटा नयाँ विचारको मन्थन गरिन्। नातावाद र कृपावादको अझैपनि घोर विरोध गर्छिन्।

अनि आफूलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको खरो आलोचक ठान्छिन्। ‘बोल्न पाइन्छ’ भन्दै राष्ट्रपतिविरूद्ध तथानाम बोल्छिन्। ओलीविरूद्ध बोल्छिन्। ओलीले दुईपटक संसद भत्काउँदा डटेर मैदानमा उत्रिइन्। एक समय आम–सञ्चारदेखि प्रदर्शनी मार्गको सडकसम्मै बोलिन्।

उनी सामाजिक सञ्जालमा निकै बोलिन्। यतिसम्म कि आफ्नो मर्यादा भुल्दा हिरासतसम्मै पुगिन्। टिकटक खोलिन्, भिडियो अपलोड गरिन्। नेतालाई गाली गरिन्। एकाएक मन्त्री भइन्। सिंहदरबारमा रामरमिता देखाइन्। विवादित भइन्। प्रहरी बोकेर पैदल यात्रामा निस्किइन्। मजदुर थर्काइन्। ठेकेदारसँग चिया खाइन्। आलेसँग दोस्ती बढाइन्। ‘बोल्न पाइन्छ’ भन्दै नेपालसँग लागिन्। बोल्नै पाइनन्, भागवण्डाले थिचिइन्। माकुनेको स्वार्थले पेलिइन्। अनि घरतिर लागिन्।

अन्तर्वार्ता हेर्दा लाग्थ्यो– मन्त्री भएपछि झाँक्रीले उधुमै गर्लिन्। हैट! मन्त्रालयमा नीतिगत सुधार देखिएन, चटक मात्रै देखियो। ‘झाँक्री दिदी’ को थुतुनो चल्यो, दिमाग चलेन। एक वाक्यमा भन्नुर्दा सत्ताको स्वाद चाख्नेबाहेक केही गरिनन्।

उनी साह्रै उग्र क्या! मन्त्री फेरबदको हल्ला सुन्नबितिकै खुमलटार पुगिन्। पद थमौतीका लागि कमरेड ‘प्रचण्ड’कहाँ एउटा निवेदन दिइन्। सरकार ढाल्ने त्रास देखाइन्। अनि बालुवाटार हुइँकिइन्। ‘बोल्न पाइन्छ’ भन्दै नयाँ पार्टी खोल्ने कित्तामा लागेकी उनी बोल्न पाइनन्। प्रचण्ड–देउवासँग गुनासो पोखिन्। आँसु खसालिन्।

०००

सिंहदरबारभित्रै किन रोइन् झाँक्री? याद गरिन्, मन्त्रालयको शान। पुल्चोकको बसाइँ। नमस्कार गर्नेको लस्कर। अनि चारैतिर नेता–कार्यकर्ताको भीड। झण्डावाला गाडी। मीठो–मसिनो खान्की। मन्त्रालयको मोह। अझ्– पैसा, पैसा, पैसा...! भो अती नभनौं। उनी सडकमा आइसकेकी छिन्। फेरि बोल्न थाल्छिन्।

झाँक्रीका आँसुले कतिलाई पोल्ला– पद खोसिदिने मेटमणि चौधरी, फिर्ता बोलाउने माधवकुमार नेपाल, झलनाथ खनाल या महासचिव बेदुराम भुसाल? कि पद थमौती गर्न नसक्ने प्रचण्ड–देउवा? यदि त्यो उनको कलाकारिता होइन भने आँसुको मूल्य मंहगो पर्नेछ। भलै, उनी सचिव पनि हुन्। तर पार्टीको सदस्यता छैन रे!

राजनीतिक बजारमा हल्ला छ ‘अब ओलीलाई झाँक्री र झाँक्रीलाई एमाले चाहिएको छ।’ उनी माधव नेपालविरूद्ध बोल्न सक्छिन्। लेख्न पनि सक्छिन्। अनि ओलीको गोजीबाट समानुपातिक खान्छिन्। उनलाई एमालेमा फर्काउन लागिपरेका छन्, झाँक्रीका प्रिय दाजैहरू बैगुनी भट्टराई र उग्र भुसाल।

चुनाव नजिकिँदै छ। गोकर्ण र प्रदीपले झैं गुल्मीबाट जित्ने त परैको गफ हो, टेक्ने ठाउँसम्म छैन। झाँक्री पनि ‘नेता हुन्, नेता।’ बोल्ने मञ्च, उभिने जग्गा चाहिन्छ। फूलमाला र अबिर दल्ने कार्यकर्ता भेटिनुपर्छ। तर क्यार्नु! त्यो ‘झाँक्री दिदी’को कमजोरी हो।

०००

झाँक्रीले केही पनि नगरेकी होइनन्। मन्त्रालयको कार्यसम्पादन ठीकठीकै थियो। तर चटक धेरै गरिन्। अबको एक हप्ता लगभग उनकै हुनेछ। कसले गर्न दिएन काम? को–कसले मन्त्रालयमा चुनौती थपे? आर्थिक प्रलोभनमा परिन् कि परिनन्? सचिवले सहयोग गरे कि गरेनन्? सफल बनाउन पार्टीले कस्तो भूमिका खेल्यो? र, आखिर उनी किन रोइन्?

अन्ततः तय गरिन्, सिंहदरबारदेखि बुद्धनगरसम्मको यात्रा। सोध्न मन छ– यात्रा कस्तो भयो दिदी? स्कुटरको यात्रा रमाइलो कि झण्डावाला गाडी? बुद्धनगरको चिसो पानी मीठो कि सिंहदरबारको तातो हिटर?

अनि जान्न मन छ– भिनाजूले घरछेउ पुग्दा स्वागत गरे कि गरेनन्? महिनौंपछि देखेर रोए कि रोएनन्? कि उल्टै झपारे? भाञ्जालाई के दिनुभयो उपहार? मन्त्रालयबाट बिदा हुनुअघि ‘झाँक्री दिदी’ भावुक बनिन्। आँसु झारिरहिन्। मजैले रोइन्। अनि घरतिर लागिन्...!

प्रकाशित मिति: : 2022-06-27 13:34:00

प्रतिकृया दिनुहोस्