मेटमणिको गुनासो : प्रचण्ड फेरि एकीकृत समाजवादी फुटाउनतिर लागे

File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री पद पर्खिरहेका एकीकृत समाजवादीका सचिव मेटमणि चौधरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पार्टी फुटाउनतिर लागेको आरोप लगाएका छन्।

अध्यक्ष प्रचण्डले पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई थप उचालेर पार्टीभित्र खेल्न खोजेको उनी बताउँछन्।

माओवादीभित्र मन्त्री बन्नेको पहिरो रोक्न समाजवादीका कतिपय नेतालाई उनले प्रयोग गरिरहेको चौधरीको गम्भीर आरोप छ।

पार्टीको पोलिटव्यूरो बैठकअघि सचिव चौधरीले अनेरास्ववियूका नेताहरूसँग भने, ‘प्रचण्ड पनि खराब पात्र रहेछन्। हुँदाहुँदा हाम्रो पार्टी फेरि फुटाउनतिर लागे। माधव कामरेडले मन्त्रीलाई फिर्ता बोलाइसक्नुभयो तर प्रचण्डको आडमा केही चाहिँ खुमलटारदेखि बालुवाटारसम्म नाचिरहेका छन्।’

प्रधानमन्त्री देउवा एकीकृत समाजवादीको निर्णयलाई माओवादी अध्यक्ष प्रचण्डको आडमा बेवास्ता गरिरहेको जनाएका छन्। ‘मैले नबुझेको कुरा हाम्रो पार्टीको अध्यक्ष माधव नेपाल हुन् कि प्रचण्ड,’ उनले पार्टी नेतामाथि प्रश्न गरे।

सचिव चौधरीलाई माधव नेपालले सहरी विकासमन्त्रीका लागि प्रधानमन्त्री देउवासामु सिफारिस गरेका छन्। तर पार्टीको आन्तरिक किचलो बढ्दै जाँदा हालसम्म नयाँ मन्त्री नियुक्त हुनसकेका छैनन्।

प्रकाशित मिति: : 2022-06-24 14:59:00

प्रतिकृया दिनुहोस्