जुम्लामा ‘ब्लड बैंक’ स्थापनाकाे खाँचाे औँल्याइरहेका वडाध्यक्ष

चन्दननाथ नगरपालिका- ४ का वडाध्यक्ष नवराज देवकोटाले जुम्लामा ब्लड बैंककाे आवश्यकता खड्किरहेकाे बताएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ताे ठूलो स्वास्थ्य संस्था भएकाे जुम्लामा ब्लड बैंक नहुँदा समस्या छ।

'हामी केही साथीहरुले जिल्लाका केही मान्छेकाे ब्लड ग्रुप पहिचान गरेर रेकर्ड राखेका छाैं,' वडाअध्यक्ष देवकोटाले भने,'त्यहीले काम चलिरहेकाे छ। तर, ती व्यक्ति सँधैभरि बजार आसपास हुँदैनन्। समस्या हुन्छ।'

बिरामीका आफान्त चाउचाउ बिस्कुट खाेजेझैं गरी ब्लड खाेज्न गाउँगाउँ पुगेको उनी आफैले कयौंपटक भेटाएकाे बताए।

धेरैजसाे बिरामीका आफन्त आर्मीसँग जान्छन्। आर्मीले गर्दा प्रतिष्ठानमा धेरै बिरामीको उद्धार भएकाे छ। तर, बिदाकाे दिनमा आर्मीबाट सेवा लिनलाई प्रक्रियागत झन्झट हुने हुँदा समस्या समाधानकाे लागि ब्लड बैंक अति नै जरुरी भएकाे उनले बताए।

ब्लड बैंक भन्नलाई सजिलाे भएपनि स्थापना गर्न भने गाह्रो रहेकाे उनले बुझेका छन्।

'राम्रो खाले मेसिन ल्याउन ४० देखि ५० लाख लाग्ने रहेछ,' उनले भने, 'वडाकाे बजेट हाल्दा त पाँच वर्षले पनि पुग्दैन। त्यसैले सहयोगी हात जरुरी छ।'

यही विषयमा उनले प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महत र डाइरेक्टर डा. पुजनकुमार राेकायासँग पनि छलफल चलाएका थिए। त्यहाँ पनि बजेट अभाव हुँदा ब्लड बैंक स्थापना हुनलाई सहज देखिएन।

'उहाँहरुले ब्लड बैंकमा चाहिने दक्ष जनशक्ति र बिजुलीकाे बन्दाेबस्त गरिदिन सकिने भन्नुभयो,' उनले भने, 'मेसिनमा लगानी गर्ने दाता नहुँदा त समस्या नै हुने देखिन्छ।'

जिल्लाका सबै पालिकाले सहयोग गर्दा सम्भव छ

ब्लड बैंक स्थापनाका लागि तत्काललाई सहज भनेकाे जिल्लाका सबै पालिकाहरु हुन। पालिकाहरु बजेट निर्माणकाे मुखैमा भएका हुनाले उनीहरुले सहयोग गरेकाे खण्डमा सम्भव रहेकाे वडाअध्यक्ष देवकोटाले बताए।

'मैले एक चरण सबै पालिका अध्यक्ष ज्यूहरुलाई अनुराेध गरेकाे छु,' उनले थपे, 'उहाँहरु सकारात्मक हुनुहुन्छ। यतिबेला सबै पालिकाले १० लाख जति बजेट छुट्याइदिए ब्लड बैंक स्थापना हुन सक्छ।'

ब्लड बैंक स्थापना हुन सकेकाे खण्डमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आउने जटिल खालका बिरामीको चाँडो उद्धार हुनेछ।

प्रदेश अस्पताल सुर्खेतसँग सहकार्य गरेर समस्या परेकाे बेला यताकाे रगत उता र यताकाे उता ल्याउने तथा लैजाने वातावरण बनाउन सकिने वडाअध्यक्ष देवकोटाकाे मत छ।

प्रकाशित मिति: : 2022-06-24 20:50:00

प्रतिकृया दिनुहोस्