त्यसकारण मैले लभ नगर्ने निधो गरेँ !

Breaknlinks
Breaknlinks

२०७४ सालमा म १४ वर्षको थिएँ। कक्षा ८ मा पढ्दै गरेको मलाई उमेर र व्यवहार दुवैले परिपक्क बनाएको थिएन। बच्चै थिएँ म।

म विद्यालयमा सधैँ उपस्थित हुन्थेँ। घरबाट नजिक भएर होला बिरामी पर्दा पनि जान मन लाग्थ्यो।

पुस-माघको बेला, विद्यालयमा वार्षिक उत्सवको तयारी चलिरहेको थियो। जाडो मौसम। तराईमा हुस्सु, झन कस्तो मज्जाको लाग्ने। कार्यक्रमको होस्ट गर्न विद्यालयले मलाई र मेरो एक जना केटी साथीलाई जिम्मा दिएको थियो।

कार्यक्रम आउनु ४/५ दिन अघिदेखि नै हामी त्यसको तयारीमा थियौँ। हामीले अभ्यास गरिरहेको ठाउँमा एक जना ६ कक्षामा पढ्ने बहिनी आइन्। उनी त्यस वर्ष मात्रै हाम्रो विद्यालयमा भर्ना भएकी रहिछन्। मलाई उनको नामसमेत थाहा थिएन।

हामी भएको ठाउँमा आएर मलाई हेर्दै उनले भनिन्, ‘प्रवेश बिष्ट भनेको तपाईं हो?’

‘हो, हो म नै हो। तर किन?’ मैले जवाफ फर्काएँ। ‘उ त्यहाँ प्रधानाध्यापक सरले तपाईंलाई बोलानुभएको छ।’ यति भन्दै ऊ त्यहाँबाट बाहिरिन्।

मलाई बोलाउन आउने बहिनीले नृत्य गर्छु भनेपछि प्रधानाध्यापक सरले मलाई व्यवस्थापन मिलाइदिन अनुरोध गर्नका लागि बोलाउन पठाउनुभएको रहेछ।

मैले उनीहरुलाई विद्यालयको प्रोजेक्टर भएको रुममा अभ्यास गर्ने व्यवस्था मिलाइदिएँ। उनीहरुले अभ्यास गर्ने रुम हाम्रो छेउमै थियो। कार्यक्रम आउन मात्र ३ दिन बाँकी थियो। सबैले तयारी तीव्र पारिसकेका थिए।

यतिबेलासम्म त हाम्रो राम्रै परिचय पनि भइसकेको थियो। कार्यक्रमको अघिल्लो दिन मलाई फेसबुकमा एउटा रिक्वेस्ट आयो। नाम अर्कै भएकाले मैले वास्तै गरिनँ।

एकछिन पछि म्यासेज आयो। हेलो, नमस्कार! म (.........) हो क्या !

म्यासेज हेरेपछि मैले रिक्वेस्ट एसेप्ट गरेँ। म काम विशेषले उर्लाबारी गएको थिएँ। आफू बाहिर भएकाले उनलाई भरे बेलुका मात्र बोल्ने भ्याउने बताएँ।

बेलुका घर पुगेर मोबाइल हेर्दा उनको म्यासेज आइरहेको थियो। उनले ‘घर पुग्नुभयो त?’ भनेर सोधिन्।

त्यसपछि खाना खानेबेलासम्म समान्य कुरा चल्दै गयो। खाना खाएर आएपछि उनको म्यासेज आयो, ‘अप्ठ्यारो मान्नुहन्न भने एउटा कुरा सोधौँ?’ ‘सोध न, किन अप्ठ्यारो मान्नु र?’ मैले यताबाट फर्काएँ।

‘तपाईंको लभ परेको छ कि छैन?’ उनले सोधिन्। ‘छैन, किन र?’ मैले उल्टै प्रश्न तेर्साएँ। उनले हाहा रियाक्टसहित ‘मेरो पनि परेको छैन’ भन्दै लभ चिन्ह भएको स्टिर पठाइन्।

म पनि के कम भन्दै लभ स्टिर नै पठाइदिए। त्यसपछि उनलाई के भयो कुन्नी धेरै बेरसम्म म्यासेज गरिनन्।

करिब आधा घण्टापछि म्यासेज आयो ‘आई लभ यू’ भनेर। के भन्ने के भन्ने भनेर दोधारमा परेँ म। एकछिन पछि ‘आई लभ यू टु’  लेखेर फर्काएँ। त्यसपछि विभिन्न कुरा भए। अनि दुवै जना सुत्यौं।

ख्याल ख्यालमै बच्चैबेलामा मेरो मन, मष्तिस्कमा ठाउँ ओगट्यो ‘लभ’ शब्दले।

चलचित्रमा मात्रै देखेर अनुभव बटुलेको म अब आफ्नै जीवनमा पनि यसको अनुभव गर्न पाइने भइयो भनेर मख्ख थिएँ। दुई अक्षरले बनेको ‘प्रेम’ शब्दका बारेमा हजाराैँ कुरा जान्ने अवसर मिल्यो जस्तो लाग्यो।

पहिलो दिनमै भएको यो गफले हामीलाई पहिल्यैदेखि चिनजान भएझैँ नजिक गरायो। एकदम नजिक। मभन्दा ऊ बढी बोल्थिन्। प्राय उसैले बोलाउँथिन्, मलाई।

उनले आफ्नो तस्बिर लोड गरेकाबेला म पनि बोलाउँथे। हतारहतार तस्बिरको मुनि लभ स्टिकर ठेल्थेँ। निरन्तर च्याटमा कुरा हुन थाल्यो। कुरा गर्दै जाँदा हाम्रो सोचाइ पनि धेरै हदसम्म मिल्यो भन्ने लाग्यो मलाई। मिल्नु भनेको आत्मिक हुनु पनि रहेछ। हामी आत्मिक भयौँ। ऊ भई कि भइन? सोध्न मिलेन। तर म भएँ। मैले त्यस्तै महसुस गरेँ।

फेसबुकको म्यासेजबाट सुरु भएको हाम्रो कुराकानी अब फोनसम्म आइपुग्यो। दिन प्रतिदिन गफहरु बाक्लिँदै गए।

एउटै स्कुल पढ्ने भएकाले दिनै भेट हुन्थ्यो हाम्रो। तर बोल्न चाहिँ काम पर्दा मात्र बोल्ने गर्थ्याैं। यसरी नै दुई वर्ष बितिसकेछ। कति छिटो समय गएको पत्तै पाइनँ। हेर्दाहेर्दै एसईईको परीक्षा पनि सकियो।

एसईई सकिएपछि म स्कुलबाट बाहिरिएँ। त्यसपछि उनले पनि त्यहाँ नपढ्ने निधो गरिन्। नजान मैले अनेक प्रयास गरेँ, तर सकिनँ। उनी जाने नै भइन्। मैले भनेको नमानेको भन्दै दुई/चार दिन त बोलिनँ पनि उनीसँग।

केही दिनपछि म काठमाडौँ गएँ। काठमाडौँ पुगेपछि केही समय उसँग मैले कुरा गर्ने समय नै पाइनँ। त्यसपछि हाम्रो सम्बन्ध खै किन हो मत्थर हुँदै गयो, बिग्रियो सम्बन्ध। मलाई पनि के सुर चल्यो वास्तै गर्न छाडिदिएँ। उनले त धेरै प्रयास गरिन्। तर म मानिनँ।

काठमाडौँबाट घर आएँ। मेरो प्रेमको बारेमा मेरा सहपाठी साथीहरु सबै जानकार थिए। हामीबीच मनमुटाब भएको पनि उनीहरुले चाल पाएका रहेछन्। मलाई सम्झाउने अनेक प्रयास गरे। तर म मानिनँ।

हामी छुट्टिएको पनि एक वर्ष बितिसक्यो। अब त वास्ता पनि लाग्न छोडिसकेको थियो, मलाई। म १२ मा पढ्ने भइसकेको थिएँ। पढाइ सँगसँगै म रेडियो सुनाखरीमा काम गर्दै थिएँ।

एकदिन रेडियोमा मोबाइल चलाउँदै बसिरहेको बेला उनको म्यासेज आयो। त्यसबेला उनी विराटनगरमा पढ्थिन्। त्यसको केही दिनसम्म राम्रै बोलचाल भयो। फेरि लभ सुरु होला-होला जस्तो छाँटकाट आयो। फेरि मैले वास्ता गरिनँ। त्यसपछि हाम्रो बोलीचाली ठप्पै भयो।

करिब डेढ वर्ष हामी सम्पर्कविहीन भयौँ। उनी यतै पढ्न थालेको कुरा अरुबाटै थाहा पाएँ। एकदिन अकस्मात भेट भयो। तर कुरा भने भएन।

त्यसको १०/१५ दिनपछि हाम्रो भेट भयो। करिब आधा घण्टा हाम्रो गफ भयो। लामो समयपछिको भेट र गफले हामी दुवैलाई भावुक बनायो।

त्यो भेट मेरा साथीहरुले जुराइदिएका थिए। भेट गराइदिने साथीहरुलाई मनमनै धन्यवाद दिएँ। मेरै कारण अलग भएको लामो समयपछिको भेट भएर पनि होला मलाई त्यति खुलेर बोल्ने आँट आएन। तर उनमा भने धेरै फरक पाएँ पहिलाको भन्दा, बिल्कुल फरक। भेटमा मैलै गल्ती स्वीकार गरेँ। उनले अब आफू प्रेमको चक्करमा नपर्ने बताइन्। मैले सम्झाउन खोजेँ तर सकिनँ।

रातको समयको भेट भएकाले हामी त्यहाँबाट निस्कियौँ। घर आएर उनलाई फेसबुकमा खोजेँ। धेरै खोज्दा पनि भेटिनँ। उनी त मेराे ब्लक लिस्टमा पो रहिछन्। अनब्लक गरेँ। रिक्वेस्ट पनि पठाएँ। त्यसपछि अलिअलि कुरा हुन थाल्यो। विस्तारैविस्तारै सम्बन्ध सुध्रिए जस्तै लाग्थ्यो मलाई। फोनमा पनि कुरा हुन थालिसकेको थियो हाम्रो।

तर मलाई जे कुराको डर थियो, त्यही भयो। अहिले उ अर्कै केटासँग रिलेसनसिपमा रहिछन्।

उसको म्यासेज पढेर भावुक भएँ। भित्र कतै दुख्यो। आँखाको डिलबाट फुतुरुक्क दुई-दुई थोपा आँसु झर्यो। हतारहतार टाइप गरेँ र धन्यवाद दिएँ।

अहिले आफैँले पठाएका पुराना म्यासेजका चाङ हेर्छु। अचम्म ! लेखेरै म्यासेजको सगरमाथा बनाएछु। अब मैले उसलाई म्यासेज पठाउन छाडेको छु। केही काम परिहाल्यो भने उसैले म्यासेज गर्छिन् र सोध्छिन्।

अहिले पनि उनीप्रति मेरो आशा मरेको छैन। बेलाबेलामा मन मस्तिष्कमा उनको याद आइरहन्छ। घरिघरि त भावुक नै बनाउँछ। उनको अर्कै प्रेमी छ भन्ने थाहा छ। तर घरिघरि सपना हो कि जस्तो नि लाग्छ। मनमा अनेक कुरा खेल्छन्।

अब मैले लभ नगर्ने निधो गरेको छु, हो साच्चै नगर्ने। ‘किन गर्नु र? अलग हुनकै लागि?’ मेराे मनमा प्रश्न उब्जिन्छ।

‘तपाईंलाई म कहिल्यै छाड्दिनँ’ भनेर झुटा कसम खाने। कुनै समय तेत्तिसकोटी देवताको कसम खाएर ‘अब म लभ गर्दिनँ’ भन्ने मान्छे परिवर्तन भएको देखेर र साँचो माया जोगाउन नसक्ने म आफैँदेखि आफैँलाई घृणा लागेको छ। त्यसकारण अब मैले लभ नगर्ने निधो गरेँ!

प्रकाशित मिति: : 2022-06-25 10:00:00

प्रतिकृया दिनुहोस्

    Hya ZPT content Haldane? Luv garne Nidho gare re?? Voli brk up garne nido gare ni aaula ni😅🤣

    • एक महिना अगाडि
    • I don't know