उर्लाबारी-९ मा कैले बन्ला कल्भर्ट : पुल बनायो भासिन्छ, सडक बनायो बगाउँछ

तेजन खड्का

उर्लाबारी  

गत वर्षको कात्तिक ३ गते आएको बाढीले भत्काएको झापाको दमक १० सेतुवारीसँग मोरङको उर्लाबारी–९ थक्लुङ चौक जोड्ने सडक अझै मर्मत हुन सकेको छैन।

झापाको दमकसँग मोरङको विराटनगरलाई जोड्ने सबैभन्दा छोटो सडक मर्मत नहुँदा तरकारी, माछा र फलफूलको व्यापार गर्ने व्यापारीले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ।

इन्धनको मूल्य आकाशिएको बेला बाटो अवरुद्ध भएपछि व्यापारीहरूले थप २२ किलोमिटर घुमेर गन्तव्यमा पुग्नुपर्ने भएको छ। खासगरी विराटनगरबाट फलफूल र माछा लिएर दमक जाने र र फर्किँदा पहाडको तरकारी लिएर फर्किने व्यापारीहरू मर्कामा परेका हुन्।

माछा व्यापारी अनुप सहनीले भने, ‘हिउँदमा समस्या थिएन। डाइर्भनबाट आवतजावत हुन्थ्यो। तर, अहिले डाइभर्सनमा पानी भरिएको छ। साना गाडी वारपार गर्न सक्दैनन्।’ उनले थक्लुङ–चौक सेतुमारी सडकबाट हिँड्न छोडेको बताए। तरकारी, फलफूल र माछा मात्र होइन। गाईवस्तु किनबेच गर्ने व्यापारीहरू समेत उक्त सडकबाट हिँड्न छोडेका छन्।

दमक १० का देरु धिमालले भने, ‘३/४ दिनयता परिरहेको लगातारको वर्षाले सडक हिलाम्मे भएको छ। साइकल र मोटरसाइकल नै वारपार गर्न नसक्ने अवस्था छ। जित, कार, भ्यान, ट्रक, ट्याक्टर त डाइभर्सनबाट वारपार गर्नै सक्दैनन्।’

संंघीय सरकारले झापाको गौरादह र दमकलाई मोरङसँग जोड्न करोडौं खर्चेर रतुवा र मावा खोलामा पुल निर्माण गर्यो। पूर्वी मोरङ र पश्चिम झापाको मध्य भागमा रहेका दुई वटा बजारलाई दुई वटा पुलले जोडिदिए। पुल बनेपछि व्यापार मात्रै बढेन। विराटनगरसँग झापाको दमक बजारको दुरी ३३ प्रतिशतले घट्यो।

पुलले दमक र उर्लाबारीबासीलाई खुसी बनायो। मावा पूर्वको नलबारीका वासिन्दालाई दमक पुग्न उर्लाबारी पुग्नु पर्ने बाध्यता हट्यो। तर, खुसी धेरै समय टिकेन। गत वर्षको कात्तिक २ गते राति आएको बाढीले थक्लुङ चौक पूर्वको १५ फिट सडक बगाएपछि दमकको सेतुमारीसँग उर्लाबारीबासीको सम्पर्क टुट्यो।

सडकमा कज्वे निर्माणको माग लिएर वडाबासी धेरै पटक वडा कार्यालय र नगरपालिका धाए। चुनावमा सबै जसो दलले सडक निर्माणको एजेण्डा उठाए। सडक भत्किएको अनुगमन गरे। तर, ८ महिना भयो। सडक निर्माणको कुनै तयारी छैन।

उर्लाबारी नगरपालिकाले भत्किएको ठाउँमा माटो भरेर ग्राभेल गर्ने आश्वासनसम्म दिएको थियो। माटो भरेर ग्राभेल गर्दा पश्चिमपट्टीको बस्ती डुवान हुने भएपछि स्थानीयले कज्वे बनाउनु पर्ने माग गरे। स्थानीय तहको बजेटले कज्वे बनाउन नसक्ने जवाफ आएपछि स्थानीय ८ महिना यता सास्ती खेपिरहेका छन्।

स्थानीय अभिकुमार बराइलीले भने, ‘कज्वे भयो भने ठूलो पानी आउँदा सडक माथिबाट जान्छ र गाउँ डुब्दैन। सानो पानी कज्वे मुनिको ह्युमपाइपबाट गइहाल्छ। हाम्रो माग सुनुवाई भएन। सडक भत्किएपछि थक्लुङ चौक आसपासमा खुलेका होटल रेस्टुरेन्टमा समेत चहलपहल घटेको छ।’

यता उर्लाबारी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गङ्गाप्रसाद खरेलले आफूलाई उक्त सडकको समस्याका बारेमा केही जानकारी नभएको बताए।

‘मलाई कसैले जानकारी गराएको छैन। वडाको बजेट पनि बनिसकेको बुझेको छु। त्यो सडक मर्मतको बिषयमा कुनै छलफल भएको जानकारी छैन’, उनले भने। वडाध्यक्ष नरबहादुर मोक्तानले बर्सेनि बाढीले सडक बगाउने गरेकोले त्यसको दीर्घकालीन समाधानका लागि खोला तटबन्ध गर्न लागिएको बताए।

एसियाली विकास बैंकको सहयोगमा रतुवा मावा तटबन्ध आयोजनाले मावाको पश्चिमतर्फको ९३० मिटर लम्बाईमा बाँध निर्माणको ठेक्का लागिसकेको छ। ९ महिनाअघि ठेक्का लागे पनि अझै निर्माण कम्पनीले बाँध निर्माणको काम नथालेकोले मावा गाउँतिर पस्न नरोकिएको वडाध्यक्ष मोक्तानले बताए।

प्रकाशित मिति: : 2022-06-22 19:20:00

प्रतिकृया दिनुहोस्