डेढ महिनादेखि संस्कृत विश्वविद्यालयमा ताला : न माग पूरा हुन्छ, न थप आन्दोलन

दाङको बेलझुण्डिस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा डेढ महिनादेखि ताला झुण्डिएको छ।

विद्यार्थी आन्दोलनका नाममा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विभिन्न माग राख्दै वैशाख १९ गतेदेखि लगाएको ताला अहिलेसम्म खुल्न सकेको छैन।

विश्वविद्यालय आफूहरुको मागप्रति गम्भीर नभएको भन्दै डेढ महिनादेखि लगाइएको ताला नखोलिएको आन्दोलनरत विद्यार्थीहरुले बताउँछन्। ताला लगाएको डेढ महिना बितिसके पनि एक चरणको वार्ता हुनुबाहेक अन्य थप उपलब्धि हुन सकेको छैन।

जेठ २९ गते विश्वविद्यालय र आन्दोनरत पक्ष नेविसंघबीच छलफल भएको थियो। छलफलमा १४ बुँदामा रहेका मागहरुमध्ये ११ बुँदामा सहमति जुटेपनि ३ बुँदामा सहमति हुन सकेन। जसले गर्दा नेविसंघले ताला खोलेको छैन।

ताला नखुलेपछि विश्वविद्यालयको प्रशासनिक काम प्रभावित भएको छ। कर्मचारीहरु भने पुस्तकालयमा पुगेर हाजिरी लगाउने कामबाहेक अन्य काम गर्न सकेका छैनन्। आन्दोलनरत विद्यार्थीले माग पूरा नभएको भन्दै ताला नखोल्ने र विश्वविद्यालय विद्यार्थीका थप माग पूरा गर्न नसकिने अडानमा छन्।

दुबै पक्षको आफ्नै अडानले गर्दा संस्कृत विश्वविद्यालय थप विवादमा पर्दै गएको छ। थप धुमलिँदै गएको छ। संस्कृति सिकाउने विश्वविद्यालय कु-संस्कारको जग बसाल्नतर्फ उद्धत बन्दै गएको छ।

आन्दोलनरत विद्यार्थी संघले पनि माग सम्बोधन गर्न ताला लगाउनेबाहेक थप केही गर्न सकेको छैन। ताला लगाएर डेढ महिनासम्म प्रशासनिक काम प्रभावित बनिरहँदा आफ्नो माग पूरा गराउनतर्फ कुनै कदम चालेको देखिँदैन। पर्ख र हेरको बाटोमा आन्दोलनरत विद्यार्थी संघ देखिन्छ। यसले आन्दोलनलाई थप लम्ब्याउनेतर्फ संकेत गर्छ।

के भन्छ विश्वविद्यालय?

संस्कृत विश्वविद्यायलका रजिष्टार माधव अधिकारीले विश्वविद्यालयमा लागेको ताला खुलाउन पहिलो औपचारिक छलफल भए पनि ३ बुँदामा सहमति जुट्न नसकेको बताए।

आन्दोलनरत नेविसंघले १० वर्षदेखि रोकिएको दिक्षान्त तीन महिनाभित्र हुनेपर्ने, विद्यार्थी संघले छात्राबासको सटरबाट प्राप्त भाडाको ३० प्रतिशत रकम छात्राबासको विकासका लागि खर्च गर्नुपर्ने, विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने लागतयतका मागहरु राखेका थिए।

तीमध्ये विश्वविद्यालयभित्र भएका आर्थिक अनियमितताको छानबिन गर्नुपर्ने, विद्यार्थीको छात्रावृति दुई सय प्रतिशतसम्म वृद्धि गर्नुपर्ने र आंशिक शिक्षकहरुलाई करारमा नियुक्त गर्नुपर्ने विषयमा सहमति जुट्न नसकेपछि विद्यार्थी संघ ताला खोल्न सहमत नभएको रजिष्टार अधिकारीले बताए।

उनले विद्यार्थीका यी तीन मागहरु विश्वविद्यालयले सम्बोधन गर्न नसक्ने बताए। ‘जुन माग हामीले सम्बोधन गर्न सक्छौं, त्यसमा सहमति जुटायौँ’ रजिष्टार अधिकारीले भने, ‘अन्य माग हाम्रो अधिकारभन्दा बाहिरका छन्, त्यसैले विश्वविद्यालयले यी तीन माग पुरा गर्न सक्दैन।’

ताला खोल्नका लागि सबै माग पूरा हुनुपर्छ : नेविसंघ

आन्दोलनरत पक्ष नेविसंघ संस्कृति विश्वविद्यालय संघर्ष समितिका संयोजक चोलेन्द्र रिजालले आफूहरुको सबै माग पूरा नभएसम्म ताला नखोल्ने बताए। उनले आफूहरुको माग जायज रहेको र विश्वविद्यालयले चाहेमा ती मागहरु पनि पूरा गर्न सक्ने दाबी गरे।

उनले विश्वविद्यालयले माग पूरा गर्न नसक्ने भए उपकुलपतिले राजीनामा दिनुपर्ने बताए। ‘हाम्रो क्षेत्राधिकारभित्र पर्दैन भन्दै मागहरु पूरा गर्न नसक्ने भए उपकुलपतिले राजीनामा दिनुपर्छ। अर्को आएपछि पूरा गर्छन्,’ रिजालले भने।

मागहरु पुरा गर्न विश्वविद्यालय लचिलो हुनुपर्ने उनले बताए। ‘नेविसंघ सधैँ तालाबन्दीको पक्षमा छैन’, उनले भने, ‘तर विद्यार्थीका जायज मागहरु पूरा गर्न विश्वविद्यालय लचिलो हुनुपर्छ।’ उनले सहमति भएका मागहरु पनि पूरा गर्नतर्फ विश्वविद्यालय नलागेको बताए।

विश्वविद्यालय संघर्ष समितिका संयोजक रिजालले सहमति भएका मागहरु पूरा गर्नतर्फ विश्वविद्यालय नलागेको बताइरहँदा ताला लागेकै कारण विद्यार्थीहरुका जायज मागहरु पनि पूरा गर्न नसकिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव लामिछानेले जानकारी दिए।

‘रोकिएको दिक्षान्त सामारोह हुनुपर्ने माग जायज हो’, उपकुलपति प्रा.डा लामिछाने भने, ‘विश्वविद्यालय स्वयं अहिले दिक्षान्त समारोह गर्न जुटी सकेको थियो। ताला बन्दीले केही ढिलाई हुने देखियो।’

नेपाल विद्यार्थी संघले विश्वविद्यालयको मुख्य गेट, केन्द्रीय विद्यापिठ र सेवा आयोगमा ताला लगाएको छ। विश्वविद्यालयहरुमा निरन्तर तालाबन्दी हुन थालेपछि उच्च अदालत तुलसीपुरले करिब ५ बर्षअघि विश्वविद्यालयमा प्राध्यापक कर्मचारीले कुनै पनि माग राखेर तालाबन्दी गर्न नपाइने फैसला गरिसकेको थियो।

तर विद्यार्थी संगठनले सन्दर्भमा गरेको तालाबन्दीका सन्दर्भमा फैसलाले केही बोलेको छैन।

प्रकाशित मिति: : 2022-06-22 18:30:00

प्रतिकृया दिनुहोस्