शनिबार, ११ अक्टोबर २०२५

एमाले सचिवालय बैठकः ओलीको राजीनामा मागियो, महेश बस्नेतको तारिफ

News Image
• • •

केपी ओलीको डेरा गुण्डुमा बसेको नेकपा एमालेको ५८ औं सचिवालय बैठकमा नेताहरूले अध्यक्ष ओलीको राजीनामा मागेका छन्।

जेन–जी विद्रोहपछि ओली नेतृत्वको सरकार ढलेपछि यसअघि ओलीलाई साथ दिँदै आएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नै राजीनामा मागिन्।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार शाक्यले सिधै भनिन्, ‘पड्यन्त्र पड्यन्त्र मात्र भनेर हुँदैन। युवाहरूको विद्रोहको भावनालाई आत्मसात गर्नुपर्छ। पार्टी अध्यक्षबाट सम्मानजनक रुपमा तुरुन्तै राजीनामा दिनुस्।’

ओलीको राजीनामा माग्नेमा शाक्य एक्ली थिइनन्। अरु उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे। पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट उनीहरू भने यसअघि नै ओलीको विपक्षमा खुलिसकेका थिए।

ती पदाधिकारीका अनुसार उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ पनि पार्टी पुनर्गठनको पक्षमा उभिएका छन्। उनीहरू विद्या भण्डारीलाई पार्टीमा फर्काउनुपर्ने पक्षमा उभिएका छन्। उपाध्यक्ष पौडेल पहिलोपटक पूर्वराष्ट्रपति भण्डारीको पक्षमा खुलेरै बोलेका छन्। उनले पार्टीमा भण्डारीलाई स्पेस दिनुपर्ने धारणा राखे।

शाक्य ओलीको राजीनामाको विषयमा मात्र रोकिइनन्, पोलिटव्यूरो सदस्य महेश बस्नेतले जेन–जी विद्रोहबारे तथानाम बोल्दै हिँडेको र बेलगाम बोलीले पार्टी नेतृत्वलाई क्षणिक लाभ देखिए पनि पार्टीलाई भने फाइदा नगर्ने बताइन्। उनले बस्नेतको भनाइमा ध्यान दिन र बेलैमा लगाम लगाउन सुझाव दिइन्।

शाक्यले बोल्ने बित्तिकै ओलीले तुरुन्तै जवाफ फर्काइहाले। उनले पार्टीलाई अप्ठ्यारो परेको बेला सबै कुना पस्दा बस्नेत एक्लै पार्टी र नेतृत्वको पक्षमा उभिएको भन्दै तारिफ गरे।

ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘पार्टीभित्र एउटै बहादुर उनी मात्रै रहेछन्। अप्ठ्यारो पर्दा कोही नबोल्दा उनी एक्लै लडे। अहिले अवस्था सहज भएपछि उनैको विरोध?’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!