हामी सबैलाई थाहा छ, प्रकृतिले कुनै कुरा खेर फाल्दैन तर यो सामान्य नियमलाई बेवास्ता गरेर हामीले अहिले धेरै फाल्ने गरिरहेका छौं । फाल्नकै लागि बढी जगेर्ना गर्ने गरेका छौं ।
तपाईं हामीले कहिल्यै सोचेका छौं- हावा, पानी र खानेकुरा भएन भने हाम्रो जीवनमा कस्तो प्रभाव पर्ला ? यो प्रश्न सुन्दा सामान्य लाग्छ तर यसको मर्म भने धेरै नै गम्भीर छ । नियमित कामकाजी मानिस हावा, पानी र खाना विना क्रमशः २ मिनेट, २ दिन र ५ दिन भन्दा बढी बाँच्न सक्दैन । तर हामी यो आधारभूत सत्य बिर्सेको स्वाङ पार्दै शुतुरमुर्गको शैलीमा यो शाश्वत सत्यबाट टाउको मात्र लुकाउने चेष्टा गरिरहेका छौं । यस्तो मर्ममा बुझपचाउनु भनेको एक खालको सामाजिक मनोरोग हो । यसलाई सच्याउने जिम्मेवारी लिनुपर्ने नेतृत्व त यस्तो मनोरोगले ग्रस्त दीर्घ रोगी नै भएका छन् ।
हावा र पानी आजसम्म प्रकृतिमा जसोतसो सित्तैं पाइँदैछ । यो पनि अब बजारका बिचौलिया र दलालको हातमा पुगिरहेको छ । हिजोआज शहरिया र बिरामीले बाध्य भएर र सौखिन दलाल, बिचौलिया र तिनका नेताले पैसाको तुजुकमा स्वास्थ्यका लागि भन्दै किनेर खाने गरेका छन् । तर खानेकुरा भने सक्ने वा नसक्ने सबैले चाहे आफैं उत्पादन गरेर खान होस् या बजारबाट किनेर खान पैसैको बन्दोबस्त गर्नु परेको छ । यसरी किनेर खान बन्दोबस्त मिलाउने बाध्यतासँगै खेतीपाती र खानेकुरा पैसामुखी, बजारमुखी हुँदै नाफाखोर र व्यापारमुखी भएको छ । यो प्रवृत्तिबाट नेपाली कृषि क्षेत्र पनि अछुतो छैन ।