बिर्सिनै लागेको थिएँ, निष्ठुरीलाई। फेरि झरी लाग्यो, उनी संगै झरीमा रमाएको पल फेरि फर्कियो। श्रावण-भदौको महिना। आकाशमा कालाे बादल मडारिँदै डम्म थियो, अनि दिन कालाे र अँधेरो। सिमसिम पानी परिरहेको थियो। एकाबिहानै मोबाइलकाे घण्टी बज्यो। फोन उनैको रहेछ। आवाज आयो ‘अझै उठ्नुभएको छैन, ट्याक्सी लिएर छिटो आउनु है, फेरि ढिलो हुन्छ’ भन्दै उसले फोन राखी।
म छिटो-छिटो उठेर तयार भइ उसको घर अगाडि ट्याक्सी लिएर पुगेँ। उनी तल झरिन् र ट्याक्सीमा बसिन्। ट्याक्सीले एयरपोर्टको बाटो समात्यो। ट्याक्सी अन्धाधुन्ध एयरपोर्टतर्फ दौडिरहेको थियो। उनी र म पछाडि सिटमा बसेर गफ गर्दै थियौँ। उनले मेराे औंलाहरूलाई आफ्नाे हत्केलामा कस्सेर समातिन्। मेराे काँधमा आफ्नाे टाउकाे राखेर भित्रभित्रै बेस्सरी रुँदै थिइन्।
म उनकाे आँखाबाट झरेका आँसुहरू पुछ्दै थिएँ, उनकै सलकाे झुम्काहरूले। रूँदारुँदै लत्पतिएका ती ओठका लाली, मैले हातका औंलाहरूले मिलाएर पुछिरहेकाे थिएँ। बाहिर सिरसिर बतासले रुझेका पातहरू चिच्याउँदै झार्दै थियो। बर्खाका खाेलानाला गडगडाउँदै दाैडिरहेका थिए। सायद साँझ परेर हाेला चराचुरुङ्गी गुँडतर्फ हान्निएर उडिरहेका थिए। यत्तिकैमा एयरपोर्ट आयाे।
मैले उनलाई उठाएँ, उनी मानिनन्। मैले उनलाई काखमा च्यापेर ट्याक्सीबाट भुइँमा झारेँ। उनी भुइँमा खुट्टा टेक्न पनि मानेकी थिइनन्। सम्झाउँदै, फकाउँदै उनी जाने प्रदेशको सहर पुग्ने चेकिङ काउन्टर नजिक लगेर राखिदिएँ। उनी एकनाशले रुँदै थिइन्।
मैले एउटा पानीकाे बाेतल र कुर्मुरेको पाेकाे उनकाे हातमा थमाएर भनेँ, ‘आफ्नाे राम्राे ख्याल राख्नू।’ उनी जहाजतर्फ लागिन्, जहाजले विस्तारै आफ्नो गन्तव्य तय गर्यो। उनी विस्तारै मदेखि टाढा हुँदै गइन्। हेर्दाहेर्दै जहाजले आफ्नो उचाई बढाउँदै लग्यो र केहीबेरमा मेरा आँखाहरूबाट हराए जहाज र उनी।
मलाई थाहा छैन, एयरपोर्टबाट छुटेर गएकाे जहाजले एयरपोर्टलाई कत्तिकाे याद गर्छ तर एयरपोर्टले भने आफूबाट छुटेर गएकाे जहाजलाई औधि याद गर्दाे रहेछ। सधैं पर्खिएरै बस्दाे रहेछ। आज ठ्याक्कै एक वर्ष बितेछ।
यतिबेला म त्यही सहरकाे त्यही एयरपोर्टमा छु। एयरपोर्टले छुटेका जहाजलाई जस्तै म तिमीलाई पर्खिरहेकाे छु। म त्यसरी नै उनकाे सहर जाने जहाजहरूको घुइँचोहरूमा उनलाई खाेजिरहेकाे छु। मेराेजस्तै छुटिने जाेडीहरूका आँखाहरू हेरिरहेकाे छु। आज पनि धेरै जाेडीहरू मजस्तै रुँदै छाेडिँदै रहेछन्।
विछाेडकाे अँगालाेमा बेरिएर छुट्दै गर्दा आँखाकाे नानी दुख्ने गरी राेएकी तिमीलाई सम्झिरहेकाे छु। तिम्राे लागि झरेका आँसु प्रेमको कुलो हुँदै मनको गर्भसम्म पाेतिँदाे रहेछ। न त सुक्न सक्दाे रहेछ, न त जम्न सक्दाे रहेछ। न त बग्न नै। विछाेडकाे आँसु कहिल्यै नसुक्ने, नजम्ने र नबग्ने हुँदो रहेछ।उनकाे सम्झनामा आज पनि औधी रुँदै छु म तर उनी के गर्दै हाेलिन्। मेराे याद आउँदाे हाेला कि नाइँ?
पुराना डायरीहरु पल्टाउँदै हेरेँ- हावाले यत्रतत्र पारेका तिलाञ्जली दिएका आफ्ना इच्छाहरु, रहरहरू भुइँमा छरपष्ट पारिएका थिए। समाल्ने कोही थिएन।
त्यही गल्लीहरु, त्यही सडकहरू, त्यही घुम्तीहरु, त्यही मोडहरु, उही मान्छेहरु। अचेल एक्लो-एक्लो छ, मौनता छ, सन्नाटा छ। भेटघाट भएर पनि मुस्कान साटासाटसम्म हुन्न। व्यस्तता बढेर पनि होइन न कि सहर ठुलो हुँदै गएर, बस मनहरु साँघुरिँदै गए!!
कति दिन गए, कति रात गए, कति औँसीका रातहरु गए अनि कति आए पूर्णिमाका रातहरु। ऋतुहरू बदलिए वसन्त, गृष्म, शरद, हेमन्त, शिशिर एबम रितले कति साल गुज्रिए। पुराना अग्राखमा नयाँ पालुवाहरु पलाए, अफसोच फर्केर आउनुपर्ने मान्छे कहिले आएन।
आज पनि उनकाे सहर पुग्ने हरेक जहाजहरूमा उनकै अनुहार देखिरहेकाे छु। हरेक चाेक, गल्ली, प्रतीक्षालयहरूमा उनैलाई देख्छु। बादलमा, पानीमा र बत्तीहरूमा पनि तिम्रै अनुहार देखिरहेकाे छु। यतिबेला तिम्लाई मुनाले जसरी मदनलाई याद गरिरहेकी थिइन्, त्यसरी नै तिम्लाई याद गरिरहेको छु।
अब लाग्छ, तिम्रा यादहरुबाहेक अरु केही साथमा छैन। तिम्रो सम्झनामा न रोएको दिन रात छैन। भुल्नेलाई सजिलो भए पनि याद गर्नेलाई गारो हुँदो रहेछ। तिमी फर्केर आउने आशामा हरेक दिन तिम्रो परदेशको सहरबाट आउने जहाज हेर्दै, बल्दै गरेको बत्तीमा तेल थप्दै, साँझको ढोका बन्द गर्ने गर्छु।