नौमती बाजा बजाउँदै महिला: भन्छन्- संस्कृति जोगाउन लागेका हौं (भिडियाे)

तेजन खड्का

उर्लाबारी
Breaknlinks
Breaknlinks

शनिबार उर्लाबारी बजार बन्द भएपनि मध्यान्ह १२ बजे केही चहलपहल भने थियो। चाेकैमा रहेको श्रीसगरमाथा सहकारीको प्राङ्गणमा एउटा विवाह कार्यक्रम थियो। बिर्तामोडबाट आएको जन्तीका अगाडि बजेको नौमती बाजाले सबैको ध्यान खिच्यो। त्यतातिर नजर लगाउँदा त सबै जना तीन छक्क परे।

ढाकाको साडी, ढाकाकै चोलो, तिलहरी, शिरमा राष्ट्रिय फूल लालीगुराँस, कम्मरमा पहेँलो पटुकी लगाएका महिलाहरु नौमती बाजा बजाउँदै अगाडि बढ्दा फोटो र भिडियो खिच्नेको भीड नै देखियो। वृद्धादेखि युवा उमेरसम्मका महिलाहरु हातमा नर्सिङ्गा, सहनाई, दमाहा, ढोलकी, ट्याम्को र झ्याली लिएर नौमती बाजा बजाउँदै नाच्दै अघि बढ्दा त्यहाँको माहोल फेरियो।

कुनै जाति विशेष र पुरुषले मात्र बाजा बजाउनुपर्छ भन्ने पुरानो मान्यतालाई तोड्दै विर्तामोड–१ का यी महिलाहरुले समूह बनाएर नौमती बाजा बजाउन थालेको एक वर्ष भएको छ।

सुरुमा बाजा बजाउँदै विभिन्न ठाउँमा पुग्न सहज थिएन तर चुनौतीलाई पार गर्दै अहिले उनीहरु निर्धक्कका साथ बाजा बजाउन थालेका छन्। १५ जना महिला मिलेर उनीहरुले देवी पञ्चकन्या नौमती बाजा समूह गठन गरेका छन्। समूहकी अध्यक्ष दिलकुमारी थपलियाको अगुवाईमा सुरुमा उनीहरुले तीन महिना बाजा बजाउने तालिम लिए।

‘नौमती बाजा, नेपाली पहिचान, नेपाली पहिरन लोप हुँदै गएको छ’, अध्यक्ष थपलियाले भनिन्, ‘यो पहिचानलाई जोगाउनुपर्छ, लोप हुन दिनुहुँदैन भनेर हामी अघि सरेको हौं।’

सुरुमा छरछिमेकी र आफन्तबाट धेरै टिकाटिप्पणी खेपेका उनीहरु अहिले भने विवाह, व्रतबन्धलगायत शुभकार्यमा बाजा बजाउनकै लागि विभिन्न स्थानमा पुग्ने गरेका छन् भने हौसला पनि उत्तिकै पाइरहेका छन्।

‘सुरुमा कसैले प्रेरणा दिनुभयो, कसैले घृणा’, उनले भनिन्, ‘घृणालाई पन्छाउँदै यो अवस्थामा आएका छौं।’ संस्कृति संरक्षणमा आफूहरुको प्रयासलाई अहिले भने घरपरिवार र समाजले पनि राम्रो मान्न थालेको अध्यक्ष थपलिया बताउँछिन्।

समूहमा आवद्ध सबै महिला विवाहित छन्। एकै परिवारका आमा छोरी र सासू बुहारी पनि समूहमा छन्। हजुरआमादेखि नातिनी उमेर समूहका पनि छन्। १५ जनाको समूह छ। सबै जनालाई घरपरिवारको राम्रो सहयोग छ।

विवाह, ब्रतबन्ध, पुराणजस्ता विशेष कार्यक्रममा नौमती बाजा बजाउन झापा, मोरङ मात्र होइन, नारायणघाटसम्म पुगेको उनीहरुको अनुभव छ।

उनीहरुले बाजा बजाएको ३० हजारसम्म लिने गरेका छन्। यसबाट ५ हजार समूहको कोषमा राख्ने गरेका छन्। अवस्थाअनुसार कम शुल्क र कहीँ निःशुल्क पनि बाजा बजाउने गरेको उनीहरुले बताउँछन्।

७१ वर्षीया विष्णुमाया घिमिरे समूहकी ज्येष्ठ सदस्य हुन्। ‘पहिले बाजा समात्दा पनि जात जान्छ भन्थे’, विष्णुमायाले भनिन्, ‘यी जातपातका कुरा नआउन् भनेर पनि बाजा बजाएका हौं। कसैलाई पनि छुवाछुत नहोस्, बाजा बजाउँदैमा अलग्गै हुनुपर्छ भन्ने नहोस्। सबै मानिस समान हुन्।’

सुरूका दिनमा बाजा बजाउँदै हिँड्दा निकै समस्या परेको घिमिरेले बताइन्। ‘बुढापाका र अग्रजहरुले देख्दा केही भन्लान् कि भनेर बाजा लुकायौं पनि’, घिमिरेले भन्छिन्, ‘अहिले त्यस्तो छैन, सबैले हौसला दिनुभएको छ।’

कुन बाजाको कति महत्व

सहनाईः सहनाई अर्थात् सनई नौमती बाजाको प्रमुख आकर्षण हो। जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ। फुक्दै पौन फेर्दै यसमा मुरलीमा झैँ हरका आठ वटा प्वालहरूमा औँला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोक कलाकारहरूले मात्र बजाउन सक्छन्।

एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सुर मात्र दिइरहन्छ त्यसैले सुर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बनाइने सनईलाई पोथी सनई पनि भनिन्छ। विशेषगरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठ वटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धुनहरू प्रस्फुटन गर्दछ।

ढोलकः मादल जस्तो तर खरी नभएको यो बाजा पनि एकातिर हातले र अर्काेतिर सानो लट्ठीले ठोकेर बजाइन्छ। यसले अरू बाजाहरूको लयलाई ताल छोप्ने र बिट मार्ने काम गर्छ। ढोलक जो झण्डै डेढफिट लामो काठ र छालाले बनेको हुन्छ।

दमाहाः त्यसैगरी नौमती बाजामध्ये ठूलो बाजाका रूपमा दमाहा पर्दछ। तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ। यसको ध्वनि मोटो र थर्काउने प्रकृतिको हुन्छ।

सानो दमाहाः दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहालाई बाउँताल भनिन्छ। यसको आवाज ठूलो दमाहाको जस्तो मोटो हुँदैन। ठूलो दमाहाको तुलनामा यसको धन्काई पनि कम हुन्छ, त्यसैले यसलाई दमाहाको सहयोगी धनबाजाको रूपमा लिइन्छ।

ट्याम्कोः नौमतीअन्तर्गतको ताल दिने अर्को बाजा हो, ट्याम्को। जसको बनावट झण्डै–झण्डै सानो दमाहा जस्तै हुन्छ। यो सानो र छरितो बाजालाई काठका साना गजाले ठोकेर बजाइन्छ। सनईका स्वरबाट सुर पैदा भएपछि ट्याम्कोले भाका टिप्दै ताल दिन्छ र अरू बाजाहरू बज्न थाल्छन्।

यसरी ट्याम्को र सानो दमाहा एकअर्काका पूरक बाजाहरू हुन्। कहिलेकाहींँ बाजा र बाद्यवादकहरूको कमीमा कुनै एकको अभावमा पनि नौमती बाजा बज्ने गर्दछ।

झ्याम्टा: बाजाहरूको लय टुक्रिँदा ताल दिने यो बाजा काँसबाट बनेको थाल जस्तो आकारको हुन्छ। काँशका दुई थालहरू जस्तै आकारका झ्याम्टामा हातका औँला छिराउनका लागि बनेका दुई प्वालमा डोरी छिराई त्यसैका आडमा हत्केलाले झ्याम्टा एकआपसमा जुधाएर काँशे रन्को निकालिन्छ। सहनाईको सुरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्दछ। त्यसरी विट मार्ने क्षणमा ध्वनियुक्त मिठाससँगै झ्याईं–झ्याईं गर्दै झ्याम्टा बजाइन्छ।

नरसिङ्गा: संस्कृत शब्द नरश्रृङ्गको अपभ्रङ्स भई बनेको शब्द नरसिङ्गा नर (मानिस)ले आफ्नो टाउकोमाथि सिङ् जस्तो ठाडो मारेर बजाउने भएकाले यसकाे नाम नरसिङ्गा रहेको हुनसक्छ। फुक्ने ठाउँ सानो तर क्रमशः ठूलो–ठूलो हुँदै फुक्दै नरसिङ्गाको मुख ठूलो हुन्छ।

तामाले बनेको यो बाद्ययन्त्र दुई खण्डमा हुन्छ, जसलाई बजाउने बेलामा जोडिन्छ। नबजाई बोक्दा यसको सानो भागलाई ठूलो भागभित्र हाली काँधमा बोकिन्छ। पशुको सिङ्ग आकारको यो बाजा यसमा पारङ्गत थोरैले मात्र बजाउन सक्दछन्। बिहे बटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीहरूमा नरसिङ्गा फुकिन्छ र सँगसँगै धुँ–धुँ गरेर कर्नाल बजाइन्छ।

कर्नालः बजाउन सबैभन्दा कठिन बाजाका रूपमा परिचित कर्नाललाई सोझो र अलिक ठूलो नरसिंगाभन्दा हुन्छ। साह्रै मोटो आवाजका लागि फुकेर बजाइन्छ। तामाले बनेको कर्नाल बाजा लामाले प्रयोग गर्ने लामा जस्तै हुन्छ तर फुकाइ फरक हुन्छ। कर्नाललाई पनि नरसिङ्गालाई जस्तै भाँचेर बोकिन्छ र जोडेर बजाइन्छ।

के हो नौमती बाजा

नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो। यो पञ्चे बाजाको ठूलो रूप हो। जसमा चारवटा अरू बाजाहरू थपिएको हुन्छ। नौमती बाजाभित्र दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बाजा हुन्छन्। जसमा सहनाई र दमाहाका दुई–दुई वटा हुन्छन्। सहनाई र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ।

नौ जना बाद्यवादक लोक कलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो बाद्य समूहलाई नौमती बाजा भनिएको हो। यो बाजा बजाउन कसरी र कहिलेबाट सुरु भयो, त्यसको यकिन नभए पनि नेपालीहरुको मौलिक बाजाका रुपमा यसले महत्वपूर्ण स्थान ओगटेको छ।

प्रकाशित मिति: : 2022-06-19 15:08:00

प्रतिकृया दिनुहोस्