विजयपुरमा दन्तकाली मन्दिरको पूजा चलाउने जिम्मेवारी पाएका खनालहरू तनहुँकोटबाट गएका थिए, जो सेनवंशी राजाकै समयमा त्यहाँ पुगेका थिए। https://www.himalkhabar.com/news/130613
इतिहास हेर्दा राजाहरूले पहिल्यैदेखि ब्राह्मणहरूलाई राजगुरु, राजपुरोहित, ज्योतिषी तथा पुजारीका रूपमा जिम्मेवारी वा जागीर दिने गरेको पाइन्छ। यस्तो जिम्मेवारी पाउने ब्राह्मणहरूमा उपाध्याय खनालहरू पनि पर्छन्। खनालहरूले त्यस वेलाका विभिन्न राज्यबाट यस्तो जिम्मेवारी वा जागीर पाएको देखिन्छ। उनीहरूले बाइसी, गोरखा, सेन र उपत्यकाका मल्ल राजाहरूको सेवा गरेका थिए।
तत्कालीन मोरङ राज्यको राजधानी विजयपुरमा तीन वटा प्रसिद्ध धार्मिक स्थल छन्। तीमध्ये बुर्हा सुभा (बुढा सुब्बा)मा प्रोक्छाकी मगर, पिण्डेश्वरमा पोखरेल र दन्तकालीमा खनालहरूले पुस्तौंदेखि पुजारीको जिम्मेवारी सम्हाल्दै आएका छन्।
विजयपुरका खनालहरूले तत्कालीन सेन राज्य र सेन राज्यको पतनपछि शाह राजाबाट उनीहरूले पाएको जागीर वा जिम्मेवारीबारे यस लेखमा चर्चा गरिएको छ।
खनालहरूको उद्गम
आफूलाई विश्वामित्रको सन्तान ठान्ने हाल खनाल थर भएका मानिसहरूको पुर्खा भारतमा भएको मुसलमानहरूको आक्रमणबाट आफ्नो धर्म, स्वाभिमान र जातिको रक्षा गर्न नेपाल पसेका हुन्। उनीहरू नेपालको भूभागमा पश्चिमतिरबाट पूर्वतिर बढ्दै गएको देखिन्छ। भारतमा हुँदा उनीहरू कन्यकुञ्जमा बस्थे। कन्यकुञ्जलाई अहिले ‘कन्नोज’ भनिन्छ। कन्नोजबाट शुरूमा उनीहरू कर्णाली प्रदेशमा पुगे। त्यहाँबाट क्रमशः पूर्वतिर फैलिंदै गए (खनाल वंशावली, २०५५ःक१५)।