राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा भाग लिन जुम्लाका पाँच खेलाडी काठमाडाैँ हिँडे

४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा भाग लिन कर्णाली स्पोट्स क्लवका पाँच जना खेलाडीलाई काठमाडाैं पठाइएकाे छ। कर्णाली प्रदेश खेलकुद परिषद्ले जुम्लाले एक कार्यक्रम आयाेजना गरी खेलाडीकाे बिदाई गरेकाे हाे।

प्रतियोगिता यही असार १०,११ र १२ गते हुँदैछ। जिल्ला खेलकुद विकास समिति जुम्लाले खेलाडीको बिदाई गर्दै पाँच जना खेलाडीको नाम सिफारीस गरेको जनाएको छ। 

चन्दननाथ– २ भण्डारीबाडाका डिल्ली भण्डारी १ सय, २ सय र ४ सय मिटर दौडका लागि छनोट भएका छन्। ३ सय मिटर र १५ सय मिटर दौडका लागि कनकासुन्दरी– १ रियाका प्रकाश कठायत, १ सय मिटर, २ सय र ४ सय मिटरका लागि पातारासी– ५ का अर्जुन बोहोरा छनोटमा परेको जिल्ला खेलकुद विकास समिति जुम्लाकी सदस्य सचिव संगिता आचार्यले बताइन्।

उनले भनिन्,'४ सय मिटर दौडमा पातारासी ३ मोहन सिंह बुढा र ८ सय, १५ सय र ३ हजार मिटर दौडका लागि पातारासी २ की राममाया बुढा छनोटमा परेकी छन्।'

कृतिमानी धावक हरिबहादुर रोकायाकाअनुसार नियमित रूपमा खेलमा सहभागी भएका खेलाडीलाई प्राथमिकताका आधारमा छनोट गरिएको हाे।

'खेलाडी जुम्लाको खेल क्षेत्रमा अब्बल भएर दिनरात लागेका छन्,' उनले भने,'धेरै संघर्षका साथ खेलाडी उत्पादन गरीएको छ। यसको परिणाम देखाएर फर्किने अपेक्षामा छु।'

'खेलाडीले जुम्लाको शीर उच्च राख्ने आशा गरेको छौं। कर्णाली प्रदेशले छोटो समयका लागि मात्रा नभएर दिर्घकालीन समयमा खेलकुद क्षेत्रमा लगानी गर्नुपर्नेछ,' जिल्ला खेलकुद परिषदका अध्यक्ष धनकृष्ण पाण्डेले भने, 'यो प्रतियोगितामा भाग लिने धेरै वर्षपछि अवसर प्राप्त भएको छ। यो समग्र जुम्लाको लागि सुखद सन्देश हो।'

जिल्ला खेलकुद समितिले पाँच जना खेलाडीको लागि गाडीभाडा स्वरुप १५ हजार रुपैयाँ समेत प्रदान गरेको छ।

खेलाडीको प्रोत्साहनका लागि जस्तोसुकै काम गर्न तयार रहेको अध्यक्ष पाण्डेले जानकारी दिए।

'अहिले खेलाडीले आर्थिक अभाव झेलिरहनु परिरहेको छ,' उनले भने, 'अब स्थानीय तह सँगको समन्वय गरेर खेलाडीका समस्या संवोधन गर्न पहल हुनेछ।'

प्रकाशित मिति: : 2022-06-15 10:17:00

प्रतिकृया दिनुहोस्