लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)लाई मुख्यमन्त्री कुलप्रसाद केसीको दबाबमा रात–रात छाडिएको छ। तुलसीपुरमा मंगलबार एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै राज्यमन्त्री वलीलाई दाङ प्रहरी नियन्त्रणमा लिएको थियो।
तर, मुख्यमन्त्रीको दबाब खप्न नसकेपछि दाङ प्रहरीले मंगलबार राती ११ बजे छाडेर वलीलाई बुटवल पठाइएको छ। प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले बताए।
संसद् चलिरहेको र वहालवाला मन्त्री भएका कारण बुटवल पठाएको उनले जानकारी दिए।
‘सदन चलिरहेको बहालवाला मन्त्रीलाई यसरी राख्न मिल्दैन’ उनले भने,‘राज्यमन्त्री भएकाले धेरै प्रक्रिया पुर्याउनुपर्ने हुन्छ। उहाँलाई हामीले कानुन संम्भवत र प्रक्रिया पुर्याएर छोडेका छौं।’
पीडित महिला मिना भण्डारीले अभद्र व्यवहार गरेको भन्दै राज्यमन्त्री वलीविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्। प्रहरी प्रमुख सुरेश काफ्लले उक्त जाहेरीमाथि अनुसन्धान भइरहेको बताए।
राज्यमन्त्री वलीले मंगलबार तुलसीपुरका नेता वाइसिएलका एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीमाथि कुटपिट गरेकी थिइन्। अर्काको घरमा पसेर खत्रीले हातपात गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
लगतै इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले खत्रीलाई नियन्त्रणमा लिएको थियो। नाराबाजीकाबीच इलाका प्रहरी कार्यालयबाट खत्रीलाई जिल्ला प्रहरी कार्यालय घोराही पुर्याइएको थियो। उनी दिनभर प्रहरीको नियन्त्रणमा थिइन्।