देशमा कुनै–कुनै बेला यस्ता लहरहरु चल्ने गर्छन्, जुन लहरले तरङ्ग नै पैदा गर्छ। यथास्थितिबारे सोच्न बाध्य बनाउँछ, आफू बाँचेको बाध्यकारी परिस्थितिविरुद्ध लड्ने र बोल्ने आँट जगाउँछ, परिवर्तनको सपना देखाउँछ। त्यही सपना पछ्याउनेहरु सफल हुन्छन्।
तर, समाजमा यस्ता मानिस कमै हुन्छन्, जो यथास्थितिबाट माथि उठेर समाजलाई रुपान्तरण गर्न चाहन्छन्। यसरी समाज रुपान्तरणको परिकल्पना गरेर १५ वर्षकाे उमेरमा राजनीतिक संगठनमा होमिएका थिए, रुकुम (हाल रुकुम पश्चिम) को आठबिसकोटका रवि केसी।
वि.सं.२०५९/०६० सलातिरकाे नेपाल अहिलेभन्दा पनि अविकसित थियाे। समाजमा अनेकाैँ विभेद थिए। धनी र गरीबबीचकाे असमानता, मानिस मानिसबीचकाे विभेद, अनेकाैँ हिंसा, कूप्रथाहरू आदि। यिनै समाजमा विद्यमान अन्तरविराेध र विभेदविरूद्ध लड्नु र बाेल्नुपर्छ भन्ने साेच रविमा बाल्यकालमै टुसाएकाे थियाे।
उनी समाज विकासका अवराेधकाविरूद्ध लड्न चाहन्थे। त्यतिबेलै देशमा माओवादी जनयुद्ध चर्किएकाे थियाे। माओवादीले यिनै विभेद र असमानताकाे भण्डाफाेर गरिरहेका थियाे। गाउँ–गाउँमा नयाँ नेपालकाे लहर चलाएकाे थियाे। माओवादीका ती मुद्दाप्रति रवि आकर्षित भए। सुन्दरपानीकाे कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा उनी अखिल क्रान्तिकारीमा लागे। त्यहीँबाट सुरु भयाे उनकाे राजनीतिक यात्रा।
रविका बुबा-आमा राजनीतिबारे कम चासाे राख्थे। त्यसैले घरमा राजनीतिक माहाेल कम थियाे। तर, उनका जिजूबुबा उतिबेलाका मुखिया थिए, वडाध्यक्ष भएर गाउँकाे नेतृत्व गरेका थिए। त्यसकाे प्रभाव उनमा कहिँकतै थियाे।
माओवादी जनयुद्धका बेला विद्यालयमा आएर अग्रजहरूले दिएकाे प्रशिक्षणबाटै उनमा राजनीतिप्रति आकर्षण बढेकाे थियाे। त्यसपछि उनी राजनीतिमा निरन्तर सक्रिय रहे।
‘त्यतिबेला हाम्राे समाजमा धेरै विभेदहरू थिए। मानिस–मानिसबीच पनि विभेद भएकाे देख्दा मलाई नराम्राे लाग्थ्याे,’ रविले बिएल नेपाली सेवासँग भने,‘स्कुलमा पनि साथी–साथी बसेर खाजा खान नपाइने। यी कुराहरू देखेर मलाई केही गराैँगराैँ भएकाे थियाे। त्यहीबेला माओवादीले यही मुद्दामा जाेड दिएकाे थियाे, त्यसैले म संगठनमा जाेडिएँ।’
उनले विद्यार्थी जीवनमै संगठनमा लागेर आवाज उठाउन थाले। विद्यालयमा हुने सबै रचनात्मक क्रियाकलापमा सहभागी हुन थाले। आफैँ नेतृत्व गरेर धेरै कामहरू गरे। त्यतिबेलासम्म उनमा एकखालकाे क्रान्तिकारी साेच उत्पनन भइसकेकाे थियाे। अन्यायविरूद्ध बाेलिहाल्थे, समाजका मान्छेलाई बाेल्न आग्रह गर्थे।
कालिका मा.वि बाट ९ कक्षामा भर्ना हुनकाे लागि बालकल्याण मा.वि पुगेका उनी केही समयमै संगठनकाे इकाइ सचिव बने। त्यसपछि त झन उनमा छुट्टै खालकाे जाेश/जाँगर आउन थाल्याे। उनी झन सक्रिय भए।
त्यतिबेलै उनी उच्च शिक्षा अध्ययनकाे लागि सुर्खेत झरे, २०६३ सालमा। सुर्खेत उनकाे लागि नयाँ भएपनि त्यहाँ उनीजस्तै नयाँ साेच र विचार भएका साथीहरू भेटिए। रवि त्यहाँ पुग्ने बित्तिकै संगठनमा जाेडिएर सुर्खेत क्याम्पस शिक्षा, सुर्खेतकाे इकाइ सदस्य बने।
त्यसपछि रविकाे सांगठनिक यात्रा झनै फराकिलाे बन्याे। जति हिँड्याे त्यति संघर्षशील र आनन्दमय बन्दै गयाे। विद्यार्थीका मन जित्दै स्थापित हुँदै गए।
‘सुर्खेत पुगेपछि त झन म संगठनमा सक्रिय भएर लाग्न पाएँ। हामीले कलेजका समस्याहरू समाधानकाे लागि पहल गर्न थाल्याैँ। धेरै आन्दाेलनकाे नेतृत्व मैले नै गर्थेँ। जे हाेस् त्यतिबेला काम गरेरै विद्यार्थीकाे मनमा बस्न सफल भएकाे थिएँ,’ रविले भने।
उनी वि.सं. २०६४ मा सुर्खेत क्याम्पसकाे इकाइ कमिटी सचिव बनेका उनी २०६७ सालसम्म पुग्दा साेही क्याम्पसकाे इकाइ कमिटी अध्यक्ष बने। विद्यार्थीकाे साथ र मायाले उनी जति माथिल्लाे तहमा पुग्दै जान्थे, जिम्मेवारीहरू पनि त्यति नै बढिरहन्थे। उनले कयाैँ आन्दाेलनकाे नेतृत्व गरे, आन्दाेलनमा घाइते भएर प्रहरीकाे नियन्त्रणमा पुगे।
‘विद्यार्थी राजनीतिमा लाग्दा धेरै कठिनाइहरु आइहाल्थे। कति आन्दाेलन गरियाे, कति पटक घाइते बन्नुपर्याे। तर, संगठनका काम निरन्तर गरिन्थ्याे,’ उनले भने, ‘कतिपय हामीले गर्न खाेजेका कामहरू पार्टी नेतृत्वले बुझ्दैन थियाे। हाम्रा आन्दोलनहरु संरक्षण नहुँदा केही समस्याहरु भइरहन्थे। अभाव र पीडा हुने कुरा त राजनीतिमा सामान्य नै भए।’
क्याम्पस इकाइ कमिटी अध्यक्ष भइरहँदा रवि क्रान्तिकारी जिल्ला सचिवालय सदस्य भएर काम गर्न थालिसकेका थिए। त्यसपछि उनी २०७० सालमा मध्यपश्चिमाञ्च विश्वविद्यालयको केन्द्रीय क्याम्पसको अध्यक्ष बने। भने २०७१ सालमा अखिल क्रन्तिकारीकाे केन्द्रीय सदस्य भए। त्यतिबेलासम्म उनकाे ‘क्रेज’ बढेकाे थियाे।
सयाैँ विद्यार्थीहरू उनकाे साथमा थिए, केन्द्रीय नेताहरूकाे नजर उनीमाथि परेकाे थियाे। उनले विद्यार्थी राजनीतिमा लागेर शिक्षा सुधारमा धेरै काम गरे। यहाँसम्म आइसक्दा उनमा राजनीतिक क्षमताकाे वृद्धि भइसकेकाे थियाे। आफ्ना जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्थे। त्यही कारण केन्द्रका नेताहरूले पनि उनलाई रूचाएका थिए।
साेही क्रममा २०७३ सालमा रवि रुकुम फर्किए। त्यसपछि नगर कमिटीसँग जाेडिए, जिल्ला कमिटी सदस्य भए। उनकाे क्षमता र याेग्यता गाउँले बुझ्न थाल्याे। त्यसैले ०७३ कै पुस ५ गते उनलाई राडी ज्यूला शिक्षा क्याम्पसकाे सञ्चालक समिति अध्यक्ष बनाइयाे। त्यतिबेला नेकपा (एमाले) र माओवादी केन्द्रकाे एकताबाट बनेकाे नेकपाकाे जिल्ला सचिवालय सदस्य भएर रविले काम गर्न थालेका थिए। तर, पार्टी एकता भंग भयाे। त्यसपछि गत मंसिर ११ र १२ गते भएकाे नगर सम्मेलनबाट उनी नगर अध्यक्ष भए।
रवि बाल्यकालमै सामाजिक असमानताकाे अन्त्य गरेर गाउँकाे विकास गर्छु भनेर लागेका थिए। बाल्यकालमा देखेकाे त्याे सपना पूरा गर्न उनलाई गाउँकाे नेतृत्वमा पुग्नु थियाे। त्यसैले उनले यही स्थानीय तह निर्वाचनमा नगरप्रमुखकाे उम्मेदवार बन्ने आकांक्षा राखे। उनीसहित १२ जनाले नगरप्रमुखकाे लागि आकांक्षा राखेका थिए। अन्तत: पार्टी नेतृत्वले उनलाई टिकट थियाे। ‘कार्यकर्ताको भावना बुझेर पार्टीको नेतृत्वले मलाई अगाडि सार्यो। कार्यकर्ताको मायाले नै मलाई टिकट दिने अवस्थमा पुर्याएको हो,’ उनले भने।
कार्यकर्ताकाे मायाले नगरप्रमुखकाे टिकट पाएका उनले जनताकाे मायाले चुनाव जिते, रूकुम पश्चिमकाे आठबिसकाेट नगरपालिकाकाे मेयर बने। राजनीतिकशास्त्रमा स्नातक गरेका युवा नेता रवि रूकुम पश्चिमकै सबैभन्दा कान्छा मेयर हुन्।
बाल्यकालकाे सपना युवा उमेरमा साकार पार्ने अवसर
स्मरण हाेस्, रविले सामाजिक विभेद र असमानता अन्त्य गर्न १५ वर्षकाे उमेरमा संगठनमा जाेडिएकाे बताएका थिए। अब उनी त्यही समाजकाे नेतृत्व तहमा पुगेका छन्। सामाजिक अवराेधकाे अन्त्य गर्दै गाउँकाे विकास गर्नुपर्ने जिम्मेवारी उनमा आएकाे छ।
‘हिजो हामी विषय उठाउने ठाउँमा थियौँ, अहिले समाधान गर्ने ठाउँमा छौँ,’ रविले भने, ‘जनताको चित्त कसरी बुझाउन सकिन्छ भनेर काम गर्दै अगाडि बढेका छौँ।’
जनताका आकांक्षा बढ्दाे छन्, तिनीहरुलाई कसरी पूरा गर्ने? भन्ने नै रविकाे अहिलेकाे चुनाैति हाे। विद्यार्थीकाे मन जितेर स्थापित भएका र जनताकाे माया पाएर जिम्मेवारीमा पुगेका रविकाे परीक्षा बल्ल सुरू भएकाे छ।
तथापि, याे उनकाे परीक्षा मात्रै हाेइन उनले बाल्यकालदेखि देख्दै आएकाे समाज सुधारकाे सपना साकार गर्ने अवसर पनि हाे। उनका सपना साकार हाेउन्, कार्यकाल सफल रहाेस्, शुभकामना।