प्रचण्डले जनार्दनलाई भने– मन्त्रीबाट राजीनामा दिनोस्, महासचिव नखोज्नोस्

File Photo
File Photo

नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेटमा करको दर परिवर्तन गर्दा अनधिकृत व्यक्तिलाई प्रयोग गरेपछि उनीमाथि पदबाट राजीनामा गर्न दबाब बढेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री शर्मालाई तत्कालै पदबाट राजीनामा दिएर पार्टी काममा लाग्न आग्रह गरेका छन्। सचिवालय स्रोतका अनुसार मन्त्री शर्मालाई आइतबार उनी आफैले निजी निवास खुमलटारमा बोलाएका हुन्।

अर्थमन्त्री शर्माले पछिल्लाे विवादबारे प्रचण्डसामु बेलिबिस्तार सुनाएपछि धेरै समय नबसी प्रधानमन्त्री कार्यालय सिंहदरवार फर्किएका थिए। लगतै, जनार्दनकाे कुरा सुनेपछि अध्यक्ष प्रचण्ड उनीसँग थुप्रै विषयमा आक्रोषित बनेको सचिवालयका एक सदस्य बताउँछन्।

‘तपाईंमाथि ठूलो विश्वास गरियो तर राम्रो काम गर्न सक्नुभएन। बजार हल्ला सुन्नु भएकै होला! कहिकतै राम्रो कामको चर्चा नै छैन। यसले पार्टीलाई ठूलो हानी गर्छ। अब खुरुक्क राजीनामा दिनोस्,’ उनले पूर्ण असन्तुष्टि जनाउँदै भने, ‘बजेट निर्माणमा विपक्षीले भनेजस्तै तपाईंबाट झण्डै–झण्डै राष्ट्रघात नै भयो।’

जाँदाजाँदै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा रुकुम–पश्चिमको नतिजाबाट आफू सन्तुष्ट नभएको बताएका छन्। काठमाडाैंमा सम्पन्न पार्टीकाे आठौं राष्ट्रिय महाधिवेशनमा पनि राम्राे भूमिका नखेलेकाे उनकाे गुनासाे छ।

‘हेर्नुहोस् त तपाईको जिल्लामा कस्तो आयो चुनावी नतिजा? के यस्तै अपेक्षा थियो। अब पार्टीको महासचिव पनि नखोज्नोस्,’ उनले हप्काउँदै भनेको जनार्दननिकट एक नेताले जनाएका छन्। उनका अनुसार अर्का नेता वर्षमान पुनको उक्साउटमा जनार्दनलाई चारैतिरबाट पेल्ने र असफल बनाउने काम भइरहेको छ।

शर्मामाथि बिचौलियाका रूपमा चिनिने अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमै प्रवेश गराई राजस्वको दर हेरफेर गरेको समाचार बाहिरिएपछि थप विरोध भइरहेको छ। अर्थ मन्त्रालयले भने बाहिरको व्यक्ति प्रवेश गरेको विषयमा सत्यता नभएको जनाएको छ।

अर्थमन्त्री शर्माबारे सोमबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच चर्चा भएको छ।

उनीहरूबीच झण्डै सवा घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ। अर्थमन्त्रीलाई तत्काल पदबाट बिदा गर्न प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई आग्रह गरेको शर्मानिकटकै एक नेता बताउँछन्।

प्रकाशित मिति: : 2022-06-14 07:28:00

प्रतिकृया दिनुहोस्