सुरक्षाकर्मी र माओवादीको केरकार खप्न नसक्दा शिक्षण पेशा छोडेर हातमुख जोड्न प्रेमकुमारी पुनले शुरू गरेको अल्लोका सरसामान उत्पादन गर्ने उद्योगको लगानी ७० लाख पुगेको छ।
प्रेमकुमारी पुन कक्षा कोठामा प्रवेश गर्दा रोल्पाको लामिडाँडास्थित भानुभक्त प्राविका विद्यार्थी रमाउँथे। मन लगाएर पढ्थे। उनी पनि निकै मेहेनत गरेर पढाउँथिन।
तर, एकाएक उनले शिक्षण पेशा नै छोड्नुपर्ने भयो। अझ गाउँ नै छोड्नु पर्यो। त्यसको कारण थियो, माओवादी सशस्त्र द्वन्द्व।
“सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको वेला थियो, त्याे। कहिले माओवादी आउँथे त कहिले सुरक्षाकर्मी,” प्रेमकुमारी सम्झिन्छन्, “जताततै बम, बारूद र गोली त चल्थ्यो नै सेना र माओवादीले केरकार र निगरानी गर्थे।”
त्यसपछि उनी स्कूलसँगै रोल्पाको परिवर्तन गाउँपालिका-५, राङकोट गाउँ छोडेर दाङको घोराही झरिन्।
आफूलाई मन परेकाे शिक्षण चटट्कै छोडेर घोराही झरेपछि उनकाे ज्यान त सुरक्षित भयो, तर पेट पाल्न मुस्किल भयो। परिवारका सबैकाे बिहान-बेलुको जोहो गर्नुपर्थ्यो। “सिलाइ कटाइ तालिम लिएर जीविकोपार्जन गर्ने निधो गरेँ,” उनी भन्छिन्।
त्यसपछि उनी सिलाइ कटाइ केन्द्र पुगिन्। तर, सञ्चालक उनलाई तालिमका लागि भर्ना गर्न हिच्किचाए। शिक्षकको जागिर छोडेर आएकी उनले सिलाइ कटाइको काम गर्न सक्दिन भनेर भर्ना लिन मानेनन्। त्यसपछि प्रेमकुमारीले भनेकी थिइन्, “सकूँला वा नसकूँला, त्यो मेरो कुरा हो। म सित्तैमा त सिक्दैन, पैसा तिर्छु। त्यो पनि मेरो खर्च हुन्छ, तपाईंको त हुँदैन नि!”
त्यसपछि उनलाई भर्ना गरियो। उनले सिलाइ कटाइ तालिममा पनि उस्तै गरी ध्यान दिइन्, जसरी विद्यार्थी पढाउन कक्षाकोठामा ध्यान दिन्थिन्। “मैले सबैभन्दा उत्कृष्ट प्रशिक्षार्थी भएर तालिम पूरा गरें,” प्रेमकुमारी भन्छिन्।