भारतमा आत्मघाती हमला गर्ने अल–कायदाको धम्की

Photo: PTI
Photo: PTI

खाडीका लाखौं भारतीय किन डराइरहेका छन्, के भन्छन् उनीहरू?


धार्मिक अतिवादी मुस्लिम समूह अल–कायदाले भारतमा आत्मघाती हमला गर्ने धम्की दिएको छ।

समूहले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ताले गरेको विवादास्पद टिप्पणीका कारण भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने चेतावती दिएको हो।

केही दिनअघि त्यहाँको एक टेलिभिजन च्यानलमा भएको बहसमा भाजपा प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मद बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन्। मुस्लिम प्रतिद्वन्द्वीलाई हँसिमजाक गरेको कारण उनको विरोध हुँदै आएको थियो। पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल–कायदाले यस्तो धम्की दिएको हो।

प्रवक्ता शर्माको उक्त टिप्पणीलाई लिएर मुस्लिम समुदायमा आक्रोश बढिरहेकै बेला भाजपाका अर्का नेता नवीनकुमार जिन्दलले पैगम्बरमाथि फेरी विवादास्पद ट्वीट गरेका थिए। उक्त ट्वीटको सर्वत्र निन्दा हुन थालेपछि उनले केही समयमै हटाएका हुन्।

सोही विषयलाई लिएर जिन्दन पार्टीबाट निस्कासित हुनुपरेको थियो भने प्रवक्ता शर्मा निलम्बनमा परेकी छन्।

अल–कायदाले जुन ६ मा लेखेको पत्रमा ’आफ्नो समुदाय र पैगम्बरको सम्मानको लागि लड्न आत्मघाती हमला गर्ने’ भनेको छ। अपमानको प्रतिक्रियास्वरूप विश्वभरका मुस्लिमहरूको हृदयको रगत बगेको र बदला तथा प्रतिसोधको भावना भरिएको समेत पत्रमार्फत अल–कायदाले भनेको छ।

प्रकाशित मिति: : 2022-06-08 17:32:00

प्रतिकृया दिनुहोस्