नेपाल अमेरिका पत्रकार संघको अन्तरक्रिया सम्पन्न

Breaknlinks
Breaknlinks

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले न्यूयोर्कमा सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

न्यूयोर्कको ज्याक्सन हाईट्समा गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाली महावाणिज्य दुतावासका कार्यवाहक महावाणिज्य दुत विष्णु प्रसाद गौतम र वाणिज्य दुत गणेश प्रसाद अधिकारीले महावाणिज्य दुतावासले प्रदान गरिँदै आएको सेवाको बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा कार्यबाहक महावाणिज्यदुत गौतमले दुतावासले अनलाइन मार्फत उपलब्ध गराउने ई–पासपोर्ट, एनआरएन कार्ड, वारेसनामा (मञ्जुरी नामा), भिजा सुविधा, जन्म, विवाह र मृत्यु दर्ता, पारपाचुके लगायतका सिफारिस जस्ता सेवाहरू उपलब्ध गराईरहेको जानकारी दिए।

सहभागीहरूले यहीँ जन्मेर वा विभिन्न कारणले नेपाली नागरिक हुन नसकेका नेपालीहरूको नागरिकता प्राप्त गर्ने प्रकृया, जन्म दर्ता, विवाह, पारपाचुके, डलर खाता, लगानी, सम्पत्ति सम्बन्धी अधिकार, एनआरएन कार्ड, मताधिकार, वारिसनामा लगायतका विषयमा सहभागीहरूको जिज्ञासा राखेका थिए।

कार्यवाहक महावाणिज्य दुत गौतमले अमेरिकी राहदानी लिईसकेका नेपाली मूलका हरेक नागरिकलाई नेपाल सरकारले उपलब्ध गराउने एनआरएन परिचय पत्र लिन सुझाए। १० वर्षको समयावधी हुने एनआरएन परिचय पत्रले नेपालमा सम्पत्ति लिन, संरक्षण गर्न सकिने भएकाले एनआरएन परिचय पत्रले धेरै फाईदा पुग्ने बताउँदै कार्यवाहक महावाणिज्य दुत गौतमले अमेरिकामा रहेका नेपाली मूलका नागरिकहरूलाई सु–सुचित हुन आग्रह गरे।

एनआरएनएले जारी गर्ने परिचय पत्र र नेपाल सरकारले जारी गर्ने एनआरएन परिचयपत्र नितान्त फरक भएको बताउँदै यस विषयमा सामाजिक अगुवाहरूले सबैलाई प्रष्ट पार्न आग्रह गरे।

वाणिज्यदूत गणेश प्रसाद अधिकारीले भुमार्गबाट अमेरिका प्रवेश गरेका नेपालीहरूका लागि समेत परिचयपत्र र अन्य कानुनी प्रक्रियाका लागि सजिलो होस भनेर वाणिज्य दूतावासले हस्त लिखित राहदानी समेत जारी गर्ने गरेको बताए।

अमेरिका वा अन्य देशमा जन्मेर नेपाली हुन नसकेकाहरूको हकमा सम्बन्धित देशमा नागरिकता प्राप्ति प्रक्रिया सुरू नगरेको अवस्था छ भने हामी उहाँहरूलाई नेपाल जानेका लागि यात्राको लागि कागजात (ट्राभल डकुमेन्टको)  व्यवस्था गर्छौँ– गौतमले भने। नेपाल पुगेपछि आफ्नो गाउँघर पुगी त्यहाँबाट वडा वा गाविसको सिफारिसमा नागरिकता वा परिचयपत्र लिने प्रक्रिया सुरू गर्न सकिने जानकारी दिए।

कोभिडका कारण नेपाली समुदायसँगको सम्बन्ध पातलो बने पनि वाणिज्य दुतावासले प्रदान गर्ने सेवा यस अघिको भन्दा धेरै बढी रहेको कावा महावाणिज्यदूतको भनाइ थियो।

उनले सबैलाई खुसी बनाउन नसकिने बताए। वाणिज्य दुतावासले प्रदान गरेको सेवाबाट सबै सन्तुष्ट नभएको हुन सक्ने बताउँदै गौतमले  भने, सबैलाई सन्तुष्ट बनाउन पनि सकिँदैन। तपाइहरू कसैले कल गर्दा वाणिज्य दूतावासको फोन उठेन होला। आफ्ना प्रश्नको उत्तर पाउनु भएन होला, हामी पनि मानिस हौँ। हाम्रा कर्मचारीलाई पनि खाजा खानुपर्छ, ट्वाइलेट जानुपर्छ। त्यसमाथि कर्मचारी ज्यादै थोरै छ, त्यसैले हाम्रो समस्या पनि बुझिदिनु गौतमले आग्रह गरे।

गौतमले ई पासपोर्ट अनिवार्य नगरिएको र यदि एमआरपी पासपोर्टको म्याद एक वर्ष बाँकी छ भने तत्काल नविकरण गर्न सुझाव दिंदै नेपालबाट राहदानी नविकरण गर्दा राष्ट्यि परिचय पत्र अनिवार्य भए पनि अमेरिकाबाट नविकरण गर्दा ऐक्षिक बनाईएको जानकारी दिए। तत्कालका लागि दुतावासले २ वर्षको अस्थायी राहदानी जारी गर्न सक्छ उनले भने।

 अमेरिकामा रहेका नेपालीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गर्दै गौतमले यहाँ रहेका नेपाली एवं नेपाली मूलका नागरिकले नेपाली उत्पादन प्रयोग गर्न आग्रह गरे। वाणिज्य दुत गणेश प्रसाद अधिकारीले छिटो र छरितो ढंगबाट सेवा दिन, कुनै पनि गुनासोलाई सम्बोधन गर्न प्रतिवद्ध रहेको बताउँदै नेपाली समुदायसँग हातेमालो गरेर अघि बढ्न सधै तयार रहेको बताए।

करिव ४ घण्टासम्म चलेको सामुदायिक अन्तरक्रिया कार्यक्रमको संक्षिप्त टिप्पणी गर्दै  कार्यवाहक महावाणिज्य दुत गौतमले यस्ता सामुदायिक हितका विषयमा नेजासँग सहकार्य गर्न महावाणिज्य दुतावास उत्साहित रहेको बताए। त्यस्तै सहभागिहरूले पनि कार्यक्रम निकै सूचनामुलक भएको र यस्ता कार्यक्रम समय समयमा गरिरहन नेजालाई सुझाव समेत दिएका छन्।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व उपाध्यक्ष डण्डु ढोक्प्याले अमेरिकामा रहेका नेपालीहरूको तथ्यांक संकलन गरेर त्यसै अनुसार कर्मचारीको दरबन्दी माग्न सुझाए। ढोक्प्याले भने, तपाइँहरू वर्षौंदेखि एउटै समस्या देखाएर पन्छिनुहुन्छ, न्यूयोर्कमा बसोवास गर्ने नेपालीको संख्या ठुलो छ, संख्या गन्नुहोस् र चुस्त सेवा दिनका लागि थप कर्मचारी माग गर्नुहोस्। कार्यक्रममा उपस्थि अधिकांश सहभागीहरूले नेपाल डे परेडका विषयमा वाणिज्य दुतावासले अभिभावकको भूमिका निर्वाह गरेर विवाद समाधान गर्न र सबै नेपालीलाई समेट्न सुझाव दिए।

कार्यक्रमकी सभापति तथा नेजाकी उपाध्यक्ष मच्छे गुरूङले वाणिज्य दूतावासका अधिकारी र नेपाली संघसंस्थाका प्रतिनिधिलाई सूचना आदानप्रदान गर्न आग्रह गरिन्। ‘तपाइहरूले सूचना दिनुभयो भने त्यसलाई हामी समाचारका माध्यमबाट नेपाली समुदायमा पुर्‍याउने कोसिस गर्छौँ,’ उपाध्यक्ष गुरूङले भनिन्, ‘त्यसले समुदाय र पत्रकार बीच एक प्रकारको पुलको भूमिका खेल्छ।’ उनले कसैले समाचार लेखेर पैसा मागेको छ भने नेजामा उजुरी गर्न आग्रह गरिन्।

‘नेपालदेखि नै पत्रकारिता गर्दै आएको भएकाले छोड्न नसकेर विदेशको भूमीमा पनि समुदायलाई सूसचित गराउनका लागि हामीले स्वयंसेवाका रूपमा पत्रकारिता गरिरहेका छौँ,’ उनले भनिन्, ‘तर, समाचार लेखे बापत र फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरे बापत कसैले पैसा माग्छ भने नेजामा उजुरी गर्नुहोस्, हामी कारवाही गर्छौँ। उपाध्यक्ष गुरूङले समुदाय र पत्रकारबीच नङ मासुबीचको सम्बन्ध रहेकोले एक अर्कालाई सहयोग गरेर अघि बढ्न समुदायलाई आग्रह गरिन्।

नेजाका क्षेत्रीय संयोजक गोकुल श्रेष्ठले न्यू योर्कबाट प्रकाशित भइरहेको केही नेपाली पत्रिका कोभिडसँगै बन्द भएको गुनासो गरे। उनले पत्रकारिता र नेपाली समुदाय आपसमा जोडिएको पनि बताए। कार्यक्रममा नेजाका सचिव कल्पना घिमिरे, कार्यसमिति सदस्यद्धय लोकमणि राई, अनिल अधिकारीले पनि धारणा राखेको थिए। कार्यक्रममा न्यू योर्क र आसपासका क्षेत्रमा रहेका २५ भन्दा बढी संघ संस्थाका प्रतिनिधि उपस्थित थिए।

न्यूयोर्कमा रहेको महावाणिज्य दुतावासले उपलब्ध गराउने सेवा तथा समुदाय र पत्रकार बीचको अन्तर सम्बन्धको विषयलाई केन्द्रमा राखेर अन्तरक्रिया आयोजना गरेको हो।

प्रकाशित मिति: : 2022-06-08 06:25:00

प्रतिकृया दिनुहोस्