मेयर बालेनमाथि ‘झम्टिए’ सिस्डाेलबासी, माग पूरा नगरे फाेहाेर फाल्न नदिने धम्की

काठमाडाैँ महानगरपालिकाकाे फाेहाेर व्यवस्थानकाे लागि अवलाेकन गर्न नुवाकाेटस्थित सिस्डाेल पुगेका मेयर बालेन्द्र साह (बालेन)लाई आफ्ना माग पूरा नभएसम्म फाेहाेर फाल्न नदिने स्थानीयले चेतावनी दिएका छन्। 

शुक्रबार उपमेयर सुनिता डंगोलसहित उक्त क्षेत्रमा पुगेका साहले केमिकल हालेर सो यहाँकाे दुर्गन्धलाई हराउने प्रतिवद्धता समते जनाएका थिए। काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुने उक्त क्षेत्रमा दोस्रो पटक पुगेका बालेनले सो क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयको गुनासो सुनेका थिए।

गुनासाे राख्ने क्रममा स्थानीयहरू मेयर साहमा झम्टिएका हुन्। उनीहरूले यहाँका नागरिककाे हितमा काम नगरेसम्म फाेहाेर फाल्न नदिने बताए।

‘हाम्रा बाजेका पालादेखि नै यहाँ आएर धेरै आश्वासन दिए तर समस्या समाधान अहिलसम्म भएकाे छैन,’ आक्राेशित हुँदै एक स्थानीयले भने,‘अब पनि हाम्रा समस्या समाधान हुँदैन भने हामी काठमाडाैँका गाडीलाई तीनपिप्लेबाट याता आउन दिँदैनाैँ।’

राजनीतिक दलका नेताहरूले आश्वानस मात्रै दिएकाे तर  काम नगरकाे उनीहरूकाे गुनासाे थियाे। मेयर बालेनले यहाँका सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आफूलाई काम गर्न दिन आग्रह गरे।

‘तपाईंहरुलाई जुन सरकारप्रतिको अविश्वास छ, त्यो मप्रति नगरिनुहोला किनभने हामीले प्रधानमन्त्री भेटिम्, मन्त्रीहरु भेटिम् यही विषयमा भेटिम्। महागनरपालिकाका अरु हजारौँ समस्याहरु थिए त्यो समस्या सबै साइट लगाएर सुरुमा यहाँका समस्या समाधान नभएसम्म महानगरको समस्यामा पस्दैपस्दैनौँ भनेर छोडिरहेका छौँ,’ मेयर बालेनले भने,‘ त्यस कारण यहाँको फोहोर व्यवस्थापनलाई खोलेर सहज बनाइदिनुभयो भने त्यो फोहोरलाई यहाँ व्यवस्थापन गर्न सहज हुन्छ, बाँकी काम म गर्छु मन्त्रालयले गरोस् नगरोस् महानगरले गर्छ।’

प्रकाशित मिति: : 2022-06-03 16:07:00

प्रतिकृया दिनुहोस्