न दुर्गमका बस्तीहरूमा आवश्यकताअनुसार स्वास्थ्य चौकी थिए, न त स्वास्थ्यकर्मी नै। अनमी, स्टाफनर्स जस्ता स्वास्थ्यकर्मीको त कल्पना नै थिएन दुर्गमका बासिन्दालाई। दुर्गम क्षेत्र अनि खासै सेवा सुविधासमेत नभएको कारण देखाएर दक्ष चिकित्सकहरू पनि मन गर्दैन थिए सुदूरपश्चिम जान।
औषधिका नाममा एक ट्याब्लेट सिटामोलको पनि निकै महत्व थियो। जुन कुरा अहिलेका पुस्ताको लागि हजुरबाका पालाको दन्त्य कथाजस्तै बनेको छ।
डोटीको शिखर नगरपालिकाअन्तर्गत मुडभरा गाउँमा जन्मेकी सीता जोशी छैटौं तहकी अनमी हुन्। जतिजति समय घर्किँदै जान्छ, उतिउति पुराना याद ताजा बनेर आइदिन्छन् उनको स्मृतिपटलमा। उनी जन्मिनुभन्दा अगाडि नै सुत्केरी हुन नसकेर कुनै अज्ञात लोकमा पुगेकी जेठी आमाको कथा सुनेकी थिइन्, उनले।
गाउँको स्कुलमा दश कक्षामा पढ्नेताका एक दिन विद्यालय प्राङ्गणमा उनको भेट भयो, सेती टेक्निकल स्कुलबाट ओजिटीमा आएका दुई जना छात्राहरूसँग। तिनले लगाएको ड्रेसले खुब लोभ्यायो उनलाई। नजानिदो पाराले हेरिरहिन्, उनले त्यो ड्रेस। ती दुबैले उनलाई भने, ‘बहिनी तिमी पनि अनमी कोर्ष पढ है।’
त्यतिबेला सम्झिन् उनले आफ्नी जेठी आमा ईश्वरीदेवीको कथा। पछि तिनै आमाकी बहिनी मन्दाकिनी अर्थात आफ्नै सालीसँग उनका बुवा धर्मदेवले दोश्रो बिहे गरेपछि बल्ल जन्मेका हुन्, सीतालगायत सीताका भाइबहिनीहरू। सीताले मनमनै अठोट गरिन्, अनमी पढेर त्यस्ता आमाहरूलाई बचाउँछु भन्ने।
सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी उनलाई त्यति साह्रो याद छैन, आफ्नै बिहेको पनि। उनको सम्झनामा आउँदैनन् ती दिनहरू। तैपनि कसैले जान्न खोज्दा सम्झिने प्रयत्न गर्दै सुनाउँछिन्, ‘घरमा स्वस्थानी चलेको थियो। बुवाले सामान ल्याएको देख्दा स्वस्थानी ब्रतकै लागि होला ठानेँ। तर, त्यो स्वस्थानी ब्रतका लागि नभएर मेरो बिहेको लागि थियो।’
उनको बिहे भयो डोटीकै मुडेगाउँमा। बुवाको घरदेखि पतिको घरको पैदल दुरी करिब दुई घन्टाको थियो। विद्यालयमा साथीसंगीसँग रमाइरहेकी चुलबुले स्वभावकी नाबालिका पुगिन्, पतिगृहमा। बिहे गरेको हप्तादिन नबित्दै उनका पति भारत गए। उनी पढाइलाई निरन्तरता दिन भनेर बुवाको घर फर्किन्।
उनले डेढ वर्षपछि एकाएक सुनिन्, पतिको निधनको खबर। पतिको लाशसम्म पनि देख्न नपाई विधवाको उपाधि भिरिन्, उनले। मुडेगाउँ गएर पतिको काजक्रिया गरी फर्केकी सीताले पुनः तीन महिनापछि सासू बितेको खबर पाइन्। छोराकै पिरले उनकी सासूले पनि धर्ती छोडिन्। सीताका लागि जिन्दगी दुःखको कुटुरो नबनेको हैन। तर उनले हिम्मत हारिनन्। आँसुलाई शक्तिमा रुपान्तरण गरिन्।
२०५२ सालमा टेस्ट पास भएपछि उनी र उनकी एकजना साथीले दिपायल गई सेती टेक्निकल स्कुलमा इन्ट्रान्स परीक्षा दिए। परीक्षा दिएको केही दिनपछि उनको नाममा चिठी आइपुग्यो। जहाँ इन्ट्रान्स परीक्षामा नाम निस्केको कुरा सँगै लेखिएको थियो, ‘आफ्नो ओढ्ने बिछ्याउने सामान लिएर भर्ना हुन आउनू।’ तर, उनकी साथीलाई बाआमाले पठाएनन्। सीताका बाआमाले पनि मानेनन्, उनको त्यो निर्णयलाई।
खेती किसानी गर्ने बुवाले वस्तुभाउ बेचेर कमाएको पैसा राख्न उनैलाई दिन्थे। सबैको नजरमा उनी इमानदार थिइन्। सोही वर्ष फागुन ५ गते बुवाले राख्न दिएको रकममध्येबाट केही झिकेर उनी निस्किन्, शिवरात्री मेला हेर्न भनेर। हिजोआज उक्त घटना सम्झिँदा लजाउँदै सुनाउँछिन् उनी, ‘आमाबुवालाई ठगेको दिन त्यही थियो।’
अरुले दिपायल पुगेर शिवरात्री मेला हेरे। उनी भने आफूलाई चाहिने सरसामान किनी भर्ना हुने हेतुले उक्लिन्, सेती टेक्निकल स्कुल भएको डाँडामा। छोटो उकालो भए पनि उनको प्रगतिको सुरुवातीको उकालो थियो त्यो।
भर्ना गर्दा अभिभावकको हस्ताक्षर चाहिन्थ्यो। फिल्डमा अनुगमन गर्न मुडभरा पुगेका एक जना प्रशिक्षक थिए त्यहाँ उनले चिनेका। तिनैले अभिभावक बनेर हस्ताक्षर गरिदिए, उनको भर्ना फाराममा। गाउँघरतिर उखानै थियो र अझै पनि छ ‘छोरो बिग्रे ड्राइभर, छोरी बिग्रे नर्स।’
उनका आमाबुवालाई पनि अप्रत्यक्ष रुपले धेरैले सुनाए थिए, छोरी बिग्री भनेर। तर, त्यस्ता भनाइ सुन्दा सीताको मुखबाट एउटै वाक्य निस्किन्थ्यो, ‘बिग्रिने मान्छे बाकसभित्र राखे पनि बिग्रिन्छ।’ पछि तिनै छोरीलाई नर्स पढाउनु हुँदैन भन्नेहरूले नै आफूबाट धरै सेवा लिएको कुरा सुनाउँछिन्, उनी।
जिन्दगी अनौठो यात्रा जस्तै छ उनका लागि। यही जिन्दगीको गोरेटोमा कति जोखिम उठाइन्, कति कुरा सुनिन्। कतिले उनलाई देखेर मुखाकृति बिगारेर पनि हिँडे। तर उनी भने सेती सुसाएझैं एकोहोरो यात्रारत रहिन्, गन्तव्यमा पुग्न। तताइरहिन् स्वभिमानको अँगेनो। बोकिरहिन् सेवाको भावना। दरिला बन्दै गए संघर्षका पाइला पनि। अनमी पढ्दापढ्दै एसएलसी परीक्षा दिएर एसएलसी पनि उत्तीर्ण गरिन्।
ओजिटी सिद्दिन एक महिना बाँकी छँदै २०५४ सालमा परिवार नियोजन संघमा जागिर पाइन्। परिवार नियोजनमा जागिर गरेको ८ महिनापछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयले अस्थायी करारमा स्वास्थ्यकर्मी माग्यो। तुलनात्मक हिसाबले परिवार नियोजन संघको बढी तलब छोडेर उनी लागिन्, कम तलब भएको स्वास्थ्य क्षेत्रतिर।
त्यसताका डोटीकाे जिजोडामाडौं गाविसअन्तर्गतको एउटा गाउँमा हैजा फैलिएको थियो। उनलाई ६ महिनाको लागि करारमा सोही गाविसस्थित दानकोट स्वास्थ्य चौकीमा खटाइयो। त्यस्तो अवस्थामा काम गर्दा पनि ६ महिनापछि म्याद थपिएन। तत्पश्चात उनले ३ महिनासम्म निशुल्क सेवा गरिन्।
२०५६ सालमा आयोग खुल्यो। परीक्षा दिइन्। टप फाइभमा नाम निस्कियो। चाहेको हेल्थपोस्टमा जान पाउँथिन्, उनी। जिजोडामाडौंस्थित उच्चाकोटमा उच्चमावि थियो। उनको रहर थियो कक्षा ११ मा भर्ना भएर पढाइ पनि अगाडि बढाउने। रहर पुरा गर्न उनले पुरानै ठाउँ रोजिन् र दुई वर्षमा १२ कक्षा पास पनि गरिन्। अचेल त्यहाँ बीएडसम्मको पढाइ हुन्छ। उनलाई अझै त्यो ठाउँमा गएर बीएड अध्ययन गर्ने तीव्र इच्छा जागेको छ।
लामो तालिमको सिलसिलामा उनले विराटनगर, थापाथली, पाल्पाको मिसन अस्पताल आदि थुप्रै ठाउँमा काम गरिन्। डडेल्धुराको टिम अस्पतालमा त अप्रेसन थियटरमा ओटी इन्चार्ज नै भएर काम गरिन्। स्वास्थ्य शिविरमा सुदूरपश्चिमका नौ वटै जिल्ला पुगिन्। २५ वर्ष भयो उनले स्वास्थ्य क्षेत्रमा काम गरेको।
अनुभवकै आधारमा गर्भवतीको पेट छामछुम गरेर बच्चा उल्टो, सुल्टो कुन पोजिसनमा छ भन्ने कुरा सजिलै थाहा पाउँछिन्, उनी। चिन्ताजनक अवस्थामा पुगेका कतिपय गर्भवती आमालाई गाडीको बन्दोबस्त मिलाएर आफैंले जिल्ला अस्पताल पुर्याएर बचाएकी छन् उनले।
उनका अनुसार पहिले-पहिले रगत बगेर धेरै जसो आमाहरूको मृत्यु हुन्थ्यो। यस्ता केशहरूमा कसरी बचाउने भन्ने हिसाबले उनी विराटनगर पुगिन् तालिम लिन। सीता सुनाउँछिन्, ‘विराटनगरमा तालिममा पढेको केश यहाँ आउनेबित्तिकै फेला पर्यो र बचा न सफल भएँ। मर्नै लागेका कतिपयलाई बचाएँ। मरेका बच्चालाई समेत कृत्रिम सास दिएर बचाएँ।’
उनका अनुसार सेतो पानी बग्ने, पाठेघर खस्ने, रगत बग्ने जस्ता थुप्रै समस्याहरू विद्यमान छन्- गाउँघरतिर। २५ वर्षको दौरानमा घटेका घटनाहरू थुप्रै छन्। तीमध्ये कतिपय त डाइरीमा लेखेर राखेको कुरा सुनाउँछिन्, उनी।
जीवनमा थुप्रै चुनौतीसँग मुकाविला गरिन्। कैयौं हन्डर खाइन्। एक्लै एक्लै यात्रामा तल्लीन रहिन्। विगत सम्झिँदै सुनाउँछिन् उनी, ‘भैंसीको गोठ जस्ता हेल्थपोष्ट थिए। पानी पर्दा चुहिने, गाइबाख्रा ओत लाग्न त्यहीँ पुग्ने। मेडिसिन भन्ने त छँदै थिएन भन्दा पनि हुन्छ।’ अहिले भौतिक पूर्वाधार बनेका छन्। आवश्यक औजारहरू छन्। औषधि छ। स्वास्थ्यचौकी इन्चार्जसँगै अन्य स्वास्थ्यकर्मीका साथै महिला स्वास्थ्यकर्मीहरू पनि छन्।
बोलीचालीकै कारण पनि निको हुन जान्छ कतिपय बिरामी। हरेक क्षेत्रमा दिइने उचित परामर्श सबैभन्दा ठुलो कुरा हो। बिरामीलाई ढाडस चाहिन्छ। आशावादी बन्न सिकाउनु पर्ने हुन्छ। सीता भन्छिन्, ‘मुसुक्क मुस्कुराएर बोल्दा पनि बिरामीलाई निकै राहत हुन जान्छ।’ तर, हाम्रो जस्तो समाजमा उनले भनेजस्तो मुस्कान दिन त्यति सजिलो छैन। त्यसरी कसैसँग मुस्कुराएर बोल्दा यो समाजको हेर्ने दृष्टिकोण नै फरक भैदिन्छ। त्यसैले त दुरदराजका कतिपय महिला स्वास्थ्यकर्मीहरूका साथै अन्य महिलाहरु अझै पनि खुलेर बोल्न सक्दैनन्। उनका अनुसार स्वास्थ्य शिविर होस् या तालिमका लागि नै किन नहोस्, उनले अलि टाढाको यात्रा गर्दा घरबाट कहिल्यै बाहिर ननिस्केका उनका आमाबुवा चिन्तित बनिदिन्थे।
‘तालिम गोष्ठी जहाँ गए नि फर्केर घरमै आउन थालेपछि विस्तारै हट्न थाल्यो, आमाबुवाको चिन्ता पनि। छोरी गलत बाटोमा जाँदिन भन्नेमा विस्तारै ढुक्क हुन थाल्नुभयो। त्यतिबेलाको त्यो चिन्ता भनेकै कतै पोइल गइदिने हो कि भन्ने पनि हुँदो हो’, निकै गम्भीर मुद्रामा सुनाइन् उनले। आमाबुवाको त्यो चिन्ता त्यतिबेला खुसीमा परिणत हुन्थ्यो, जब कसैले ‘तम्री छोरीले ओखतो दिइन् र निको भएँ’, भनिदिन्थे।
काठमाडौंकाे वीर अस्पतालमा सरुवा हुने पक्कापक्की थियो। मन्त्रालय र विभागका उच्च ओहदाका केही कर्मचारीले त्यतिखेर भन्थे रे, ‘तपाईंसँग अनुभव, क्षमता, ज्ञान सबै छ तर, माथिल्लो तहको सर्टिफिकेट छैन। यतै सरुवा मिलाइदिन्छौं, पढाइ पनि अगाडि बढाउनुहोस्।’ तर, उनले जान मानिनन्। कारण थिए तिनै वृद्ध आमाबुवा। आमाबुवा छोडेर टाढा बस्न सकिनन्, उनले। बुवा धर्मदेवले धर्ती छोडेर गएदेखि गाह्रो भएको महसुस गर्दै सुनाउँछिन्,‘चाडपर्व आउँदा बुवाको निकै याद आउँछ।’
उनले नारीका पीडा देखिन्। दुर्गम बस्तीका पीर व्यथाहरू देखिन्। अभाव र समस्याले थला परेका तमाम जिन्दगीहरूले एक ट्याब्लेट सिटामोलसम्म नभेटाउँदाको विगतको कथा छ, उनीसँग। लाज मानेर आफ्ना समस्या लुकाएर बस्ने कैयौं दिदीबहिनी, आमाहरूका पीडाकाे साक्षी बनेकी सीताको यात्रा आफैंमा प्रेरणादायी छ यो समाजका लागि। त्यसैले त कतिपयले उनलाई भनिदिन्छन्, ‘तम्रो जस्तो जिन्दगी भए पो...।’
बिहे गरेकाहरूमा प्राय सन्तुष्टि देखिनन्, उनले। उपचारमा आउने कतिपय वृद्धवृद्धाहरू छोराबुहारीले दुःख दिए भनेर उनीसामु रुन्छन्। रक्सी खाएका श्रीमानबाट कुटिएका श्रीमतीहरूको पीडा छुट्टै छ। वैभवको तापमा जिन्दगी सेक्न खोज्नेहरूले झन कहाँ बुझ्दा हुन् र आवाजविहीनहरुको जीवनको मर्म। तर, सीताजस्ता केही महिला स्वास्थ्यकर्मीहरू छन्, जो आफ्ना पीडा लुकाएर अहोरात्र खटिरहन्छिन् अरुकै सेवामा।