अब गुठिचाैरकाे स्कार्पियाे एम्बुलेन्स बन्नेछ : अध्यक्ष बुढा

गुठिचौर गाउँपालिकाले आफ्नाे स्तरीय गाडी स्कार्पियोलाई तत्काल लागि एम्बुलेन्स बनाउने भएकाे छ। एम्बुलेन्सकाे प्रबन्ध नहुन्जेलसम्म गाडीलाई सरकारी कामका साथै बिरामी बोक्न प्रयोग गरिने भएको हाे।

गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले गाउँपालिकाकाे गाडी बिरामी बाेक्न प्रयाेग गर्ने गरि आफ्नाे पहिलाे निर्णय गरेका छन्।

'जुम्ला बजारदेखि गुठिचौर गाउँपालिका टाढा छ,' उनले भने, 'सवारी साधन आवतजावतकाे प्रबन्ध छैन। त्यसैले गम्भीर खालका बिरामीको सहजताका लागि गाउँपालिकाको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गरीनेछ।'

उनका अनुसार गाउँपालिकाको गाडी कुनै कर्मचारीले आफ्नो व्यक्तिगत कामका लागि प्रयोग नगरी कार्यालयको कामकाजका लागि प्रयोग गर्न निर्देशन दिइएको छ।

'गाउँपालिकामा बिरामी ओसारपसार गर्नको लागि एम्बुलेन्स अति आवश्यक छ,' उनले भने, 'हामी तत्काल एम्बुलेन्स खरिदकाे प्रक्रिय अगाडि बढाई नागरिकलाई सेवा दिनेछाैं।'

गुठिचौर गाउँपालिका वडा नम्बर १ र दुईका गाउँहरु सबैभन्दा टाढा पर्छन्। ती गाउँका बिरामीलाई बजारसम्म पुगाउनको लागि एम्बुलेन्सको प्रबन्ध नहुन्जेलसम्म गाउँपालिकाको गाडीलाई एम्बुलेन्सकाे रुपमा प्रयाेग गरिनेछ। 

यसअघि गुठिचाैरकै रतनसिंह बाेहाेराले आफ्नाे माेटरसाइकललाई बिरामी बाेक्ने एम्बुलेन्सकाे रुपमा प्रयाेग गरी गाउँका जनताको सेवा गर्दै आएका थिए।

प्रकाशित मिति: : 2022-06-01 08:02:00

प्रतिकृया दिनुहोस्