चौरजहारीमा सन्नाटा

रुकुम पश्चिमको भेरी किनारबाट उदाएका २५ वर्षीय को–पाइलट उत्सव पोखरेल उड्दा–उड्दै मुस्ताङकाे बाक्लो कुहिरोभित्र अस्ताएपछि चौरजहारीमा सन्नाटा छाएको छ।

चौरजहारी नगरपालिकाको पहिलो पाइलट भएर नयाँ इतिहास बनाएका उनी यसपटक आफैँ इतिहास बनेका छन्। चौरजहारीले एउटा कुशल युवा प्रतिभा गुमाएको छ।

को–पाइलट अब चौरजहारीमा कहिल्यै फर्किने छैनन्। सदा–सदाका लागि बुबाको अन्तिम आशिर्वाद लिएर मुस्ताङबाट बिदा भएका छन्।

उनी आइतबार बिहान तारा एयरको विमानमार्फत् २२ जना यात्रु बोकेर पोखराबाट जोमसोमका लागि उडे। पोखरेलको छेउमै थिए, अर्का अनुवभी पाइलट प्रभाकर घिमिरे।

आकाशमा उडिरहेको विमान जोमसोम पुग्नुअघि नै बेपत्ता भयो। सञ्चार–जगतमा एकाएक हल्लीखल्ली मच्चियो।

लगतै गाउँले दाइ मदनकुमार गाैतमले सामाजिक सञ्जालमार्फत् लेखे, 'भाइ त फर्केर आइजन ठिक छु भनेर खबर गर्देन। भाइ प्लिज तैले उडाएको जहाज ठिक छ भन्देन। प्लिज मेरो भाइ। चौरजहारी नगरपालिकाबाट पहिलो पाइलटको रूपमा इतिहास बनाएको थिइस्, मेरो भाइ त ठिक भएको खबर पठाइदेन मेरो भाइ प्लिज।'

आइतबार रातिसम्म विमान कतैपनि फेला परेन। जताततै सन्नाटा छायाे। 

तारा एयरकाे बेपत्ता विमान सोमबार बिहानै भेटियो तर दुर्घटनाग्रस्त अवस्थामा। मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा फेला पर्याे, उत्सव पोखरेलले उडाएकाे विमान। धुजा–धुजा परेको विमानसँगै सबै जनाको शव पहाडको फेदमुनि भेटिएको स्थानीयले पुष्टि गरेका छन्।

०००

आइतबार पोखराबाट उड्नुअघि को–पाइलट पोखरेलले जाजरकोटमा रहेका आफ्ना बुवा मणिराम पोखरेलसँग फोनमा छोटो कुराकानी गरे। उनले भने, ‘बुवा म अर्को उडानको तयारीमा छु, पोखराबाट जोमसोम।’ लगत्तै बुवाले भने, ‘शुभयात्रा बाबु।’

मणिरामले नलगाड नगरपालिकाको दल्ली नपुग्दै सुने, तारा एयरको विमान सम्पर्कविहीन भएको खबर। लगत्तै उनी दाङमा रहेकी श्रीमतीसँग रातारात काठमाडौं आइपुगेका छन्।

उमेरले २५ टेकेका थिए, उत्सव पोखरेल। ३० अप्रिल २०२१ देखि तारा एयरको जहाजमा उडान थालेका उनी जन्मस्थान चौरजहारीका एकमात्र पाइलट थिए। फिलिपिन्सको रोयल फ्याई एकेडेमिबाट ग्राजुएट गरेर एक बर्षअघि मात्रै नेपाल आएका उनी परिवारका कान्छा छोरा हुन्।

भाइ पाइलट बनेपछि उनका दाजु उमेश पोखरेल पनि पाइलट बन्ने सपना बाेकेर फिलिपिन्स पुगेका छन्। दुई दाजुभाई मात्र हुन्, उनीहरू। तीन महिना मात्रै बाँकी छ, उमेशले पढाइ सक्न।

उत्सवका बुवा मणिराम जाजरकोट र आमा उषा दाङमा पढाउँछिन्। उत्सव आफ्नो परिवार मात्र नभएर रुकुमका उदाहरणीय युवामा गनिन्थे। चौरजहारी क्षेत्रका पहिलो पाइलट थिए। गाउँभरमा चर्चा गर्थे। 

फिलिपिन्सबाट अध्ययन सकेर नेपाल आएपछि उनी तारा एयरमा जाेडिए। उनले काम गरेको एक वर्ष एक महिना पुग्दा–नपुग्दै विमान दुर्घटनामा परे। याे संसारबाट टाढिए, उत्सव।

उनीसहित सो विमानमा रहेका २२ जनाले मुस्ताङको मानापाथी हिमालको फेदीमा ज्यान गुमाएका छन्। यो दुर्घटनाको दुखद खबरले सिंगो मुलकसँगै उत्सवको गृहनगरले ठूलो पीडाको अनुभुति गरिरहेकाे छ।

प्रकाशित मिति: : 2022-05-30 19:10:00

प्रतिकृया दिनुहोस्