कर्णालीमा खुम्चियाे एमाले, काँग्रेसलाई लाभ

Breaknlinks
Breaknlinks

काठमाडौं महानगरपालिकाकाे मत गणना सकिँए सँगै देशभरकाे नतिजा आइसकेकाे छ। अब पालिका, जिल्ला, प्रदेशमा काे अगाडि आयाे भन्ने खालका हर–हिसाबहरु पनि सार्वजनिक भइरहेका छन्। यहाँ कर्णाली प्रदेशमा दलहरुले हासिल गरेकाे र उपलब्धि र गुमाएका क्षेत्रबारे चर्चा गरिनेछ।

कर्णाली प्रदेशका कुल ७९ वटा पालिकामा पाँच वर्षकाे लागि नयाँ नेतृत्व चुनिएकाे छ। सार्वजनिक भएकाे मत परिणामले दलहरुकाे आकार/प्रकार पनि पहिलाकाे तुलनामा खुम्चिने र बढ्ने भएकाे छ।

२०७४ को स्थानीय निर्वाचनमा पहिलो बनेको एमाले ०७९ सम्म आइपुग्दा तेस्रोमा झरेको छ भने तेस्रोमा रहेको नेपाली कांग्रेस उक्लिएर पहिलाे बनेकाे छ। कर्णालीमा नेकपा (एमाले)लाई याे निर्वाचनले घाटा लगाएकाे छ भने कांग्रेसलाई अचाक्ली फाइदा भएकाे छ। तर, माओवादी केन्द्र भने ब्रेक इभन प्वाइन्टकाे स्थितिमा छ।

०७४ को स्थानीय निर्वाचनमा कर्णालीका ७९ मध्ये सबैभन्दा धेरै २७ पालिकामा एमाले विजयी भएकाे थियाे। कांग्रेस र माओवादीले समान २५-२५ पालिका जितेका थिए भने दुईवटा पालिकामा स्वतन्त्र नेतृत्व आएकाे थियाे। पालिका उपाध्यक्ष बढी जितेको हुनाले माओवादी दोस्रो स्थानमा थियो।

तर, यसपालि ७९ स्थानीय तहमध्ये कांग्रेसले सबैभन्दा बढी ३२ वटा पालिकाको नेतृत्व हात्याउन सफल भयाे। यसपालि कांग्रेसलाई गठबन्धन फाप्याे। परिणाम  ७ पालिका प्रमुख थपेर पहिलाे शक्ति भयाे।

प्रदेशमा सबैभन्दा बढी १३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख दुबै कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। १९ वटा स्थानीय तहमा प्रमुख मात्र जितेको कांग्रेसले १४ वटा पालिकामा उपप्रमुख मात्र जितेको छ।

ब्रेक इभन प्वाइन्टकाे स्थितिमा भए पनि माओवादी केन्द्रले यसपाली दुई पालिकाको नेतृत्व गुमाएको छ। कुल २३ वटा स्थानीय तहको नेतृत्व माओवादी केन्द्रले हत्याएकाे छ। अघिल्लो चुनावमा नजिताविहीन भएका केही जिल्लामा समेत माओवादी सफल भएकाे छ।

याे निर्वाचनबाट सबैभन्दा बढी घाटा एमालेलाई लागेकाे छ। १२ वटा पालिका गुमाएर १५ वटामा सिमित हुदाँ एमाले पहिलोबाट तेस्रो शक्तिमा झरेकाे छ। एमाले प्रदेशका दश वटा जिल्लामध्ये रूकुम पश्चिम, हुम्ला, कालीकोट, जुम्ला र मुगु गरी पाँच वटामा नतिजा शून्य भयो।

०७४ मा एमालेले हुम्ला, मुगु र जुम्लामा एक-एक तथा कालीकोटमा ३ पालिका जितेको थियाे। तर, अहिले यी कुनै पनि जिल्लामा पालिका प्रमुख जित्न सकेन। 

अघिल्लो निर्वाचनमा तीन पालिकाको प्रमुख र उपप्रमुख जितेको एमाले कालीकोटमा यसपटक नतिजाविहीन भएकाे छ। हुम्लामा तुलनात्मक रुपमा कमजोर भएपनि अघिल्लो पटक एक पालिका जित्न सफल एमाले यसपाली उपलब्धिविहीन भयाे। 

त्यस्तै जुम्लाका आठ पालिकामध्ये पाँच वटामा नेपाली कांग्रेस, दुई वटामा माओवादी केन्द्र र एउटामा स्वतन्त्र उम्मेदवारले जित हात पार्दा अघिल्लो पालि जितेकाे एक पालिकाकाे नेतृत्व पनि गुमाएको छ।

मुगुमा अघिल्लो पटक एउटा पालिका प्रमुख जितेको एमालेले चारै पालिकाको उपप्रमुख र २१ वडाअध्यक्ष जितेको थियाे। तर, यसपाली अघिल्लो पटक जितेकाे पालिकाकाे पनि गुमाएकाे छ। रुकुम पश्चिममा भने एमाले विगतमा जस्तै शून्य भयो।

एमाले विभाजनकाे असर र गठबन्धनको समना गर्दा गर्दै नराम्ररी पछारियाे। प्रदेशका सबै पालिकामा गठबन्धन नभए पनि एमालेको पकड भएका अधिकांश क्षेत्रमा भने गठबन्धन भएकाे थियो।  गठबन्धनसँगको धनले एमालेलाई नराम्ररी ठाेक्याे। 

एमालेलाई पार्टी विभाजनले पनि नराम्ररी हुत्याएकाे छ। प्रदेशका अधिकांश जिल्लामा एकीकृत समाजवादीले जित्ने अवस्था नआएपछि एमाले हराउ अभियान चल्याे। विभाजनको केन्द्रविन्दु बनेको कर्णालीमा एमाले नेताहरुले विभाजनको असर नपर्ने दाबी गर्दै आएपनि उनीहरु बाेली सही सावित हुन सकेन।

पार्टी विभाजन र पार्टीभित्रैको अन्तर्घातले खुम्चिनु परेकाे एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहकाे निष्कर्ष छ। उनले भने,‘एकातिर विभाजनको असर, अर्कोतिर पार्टी भित्रकै अन्तर्घातले हामीलाई भित्तामै पुगायाे।’

एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादी पनि कर्णालीमा निकै कमजोर देखिएको छ। उसले चार पालिकाको नेतृत्व हात पारेको छ। उसले जितेका चारमध्ये दुई वटामा निर्विरोध भएका थिए। बाँकी दुई वटामा निर्वाचनमार्फत् समाजवादीका उम्मेदवार विजयी भएका छन्। प्रदेशका चार पालिकाको प्रमुखसहित समाजवादीले ६ वटामा उपप्रमुख समेत जितेको छ।

प्रकाशित मिति: : 2022-05-30 13:15:00

प्रतिकृया दिनुहोस्