पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय तत्काल कार्यान्वयन गर्न माग

file photo
file photo

संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा मूल्य घटाउने सरकारको निर्णय यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारीलगायत १५ विद्यार्थी सङ्गठनको आज बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिलाई सकारात्मकरूपमा लिएको र तत्काल कार्यान्वयन गर्न माग गरेको छ।

त्यस्तै आन्दोलनरत विद्यार्थी सङ्गठनसँग तीन दिनभित्र छलफल गरी निष्कर्षमा पुर्याउन माग गरिएको छ।

बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा विद्यार्थी सङ्गठनले दैनिक उपभोग्य वस्तु तथा सेवाको ढुवानी र लागत भाडामा गरिएको मूल्यवृद्धिलाई अनुगमन तथा नियन्त्रण गरी यस अवधिमा बढेको मूल्यवृद्धि फिर्ता गराउन पनि माग गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रको चरम लापरवाहीका कारणले नयाँ शैक्षिकसत्र सुरु हुनुभन्दा अघि नै विद्यालयहरूमा पुगिसक्नुपर्ने पाठ्यपुस्तक हप्तौँ बितिसक्दा पनि विद्यार्थीको हातमा पुग्न नसकेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

साथै केन्द्रभित्रको बेथिति र ढिलासुस्तीको अन्त्य गरी केन्द्रको क्षमता वृद्धि गरी विद्यार्थीहरूको हातमा तुरुन्तै पाठ्यपुस्तक पुर्याउन शिक्षा मन्त्रालय र केन्द्रसमक्ष माग गरेको छ।

सरकारी–सामुदायिक विद्यालयमा नेपाली  र अङ्ग्रेजी भाषा माध्यमका आधारमा पाठ्यक्रम र पठनपाठनमा गरिएको विभेद भएकाले विभेद अन्त्य गरी शिक्षामा समानता कायम गर्न सरकारसमक्ष विद्यार्थी सङ्गठनले माग गरेका छन्।

विद्यार्थी आन्दोलनको उपलब्धिस्वरुप प्राप्त सार्वजनिक यातायातमा विद्यार्थी परिचयपत्रका आधार दिनुपर्ने ४५ प्रतिशतको सहुलियतलाई कडाइका साथ पालना गराउनका लागि सरकारसमक्ष माग गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: : 2022-05-28 20:57:00

प्रतिकृया दिनुहोस्