सबैथोक रहेन चुनाव चिह्न

६४ वर्षदेखि रूख र ३५ वर्षदेखि सूर्यले प्रचारमा कब्जा जमाएका ठाउँमा एक महिना अगाडि अस्तित्वमा आएको लौरोले कसरी जित्यो ? ठूलो जनसंख्यामाझ दशकौंदेखि स्थापित चुनाव चिह्नहरू विस्थापित हुनुको पृष्ठभूमि र संकेत ।

अनलाइनखबर

सइन्द्र राई, गौरव पोखरेल

राणाशासनको अन्त्यपछि २०७६ मंसिरको उपनिर्वाचन बाहेक कहिल्यै पनि गैरकम्युनिस्ट उम्मेदवार अनुमोदन नगरेको धरानले यसपटक हर्क साम्पाङलाई मेयर चयन गरेको छ, त्यो पनि सहज मतान्तरसहित । बलियो संगठन र आम परिचित चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मत पाएर निकटतम प्रतिद्वन्द्वी बन्दा साम्पाङले २० हजार ८२१ मत ल्याएर मेयर जिते ।

जितपछि साम्पाङप्रतिको समर्थन, प्रशंसा र भरोसा बढेको छ । उनले पनि आफ्नो जितलाई धराने जनतासँग जोड्दै भनेका छन्, ‘मेयर सधैं धराने जनता भन्दा तल हो, सेवक हो ।’ धरानको राजनीतिक पृष्ठभूमि र राष्ट्रिय राजनीतिको ऐतिहासिक प्रवृत्तिलाई आधार मान्ने हो भने गैरदलीय उम्मेदवारी दिएर धरान उपमहानगरकै नेतृत्व लिन सक्नु साम्पाङको असाधारण सफलता हो ।

प्रकाशित मिति: : 2022-05-27 15:24:00

प्रतिकृया दिनुहोस्