फागोले चुनाव हारेपछि उर्लाबारी काँग्रेसमा रुवाबासी, अन्तर्घात गर्नेलाई कारबाहीको चेतावनी

Breaknlinks
Breaknlinks

नेपाली काँग्रेस उर्लाबारीले वैशाख ३० को स्थानीय निर्वाचनमा अन्तर्घात गरी नेपाली काँग्रेसका उम्मेदवार हराउन लाग्नेहरुलाई कारबाही गर्ने तयारी गरेको छ।

नेपाली कांग्रेस उर्लाबारी नगर कार्यसमितिको बुधबार बसेको समीक्षा बैठकले यस्तो निणर्य गरेको हो।

बैठकमा नेपाली कांग्रेसको जिम्मेवार पदमा वसेर वैशाख ३० को स्थानीय निर्वाचनमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र केही वडा सदस्यलाई छानीछानी अन्तर्घात गरेर हराउन लागि परेका नेपाली कांग्रेसका नेता तथा क्रियाशीलहरुलाई कारबाही गर्ने निणर्य गरेको छ।

नेपाली कांग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बूको अध्यक्षतामा बसेको समीक्षा बैठकले वडा कार्यसमितीले पठाएका अन्तर्घात गर्नेहरुको नामावलीका आधारमा कारबाही प्रक्रिया अगाडि बढाउने निणर्य गरेको हो।

जसमा नेपाली कांग्रेसका नेता तथा पुर्व महाधिवेशन प्रतिनिधि प्रकाश थापा, पूर्व जिल्ला सदस्य प्रकाश खड्गी, नेपाली कांग्रेस उर्लाबारी- २ वडा सभापति रुद्र बराल, वडा नम्वर-३ वडा सचिव साजनजँग कुवँर, पूर्व प्रदेश सभा सचिव टंकनाथ दाहाल, क्षेत्रीय प्रतिनिधि विष्णु गुरागाई, पूर्व तरुणदल सभापति नारायण सिटौला, क्षेत्रीय प्रतिनिधि सर्वजित भण्डारी, उर्लाबारी- ५ पूर्व वडाध्यक्ष भानु पराजुली, क्षेत्रीय प्रतिनिधि जनक आर्चाय, नेपाली कांग्रेस नगर सदस्य, चेतकुमारी आर्चाय, हर्क बस्नेत, केशव कार्की, पूर्व नेविसंघ जिल्ला सभापति मुक्तिप्रकाश न्यौपानेलगायत ५८ जनाभन्दा बढीलाई कारबाही गर्ने तयारी गरेको बताइएको छ।

उनीहरुले स्थानीय तह सदस्य निर्वाचनमा प्रमुख पदहरुमा नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु र सर्वसाधरणहरुलाई पद नै तोकेर भोट नहाल्नु भन्दै घर–घर पुगेको  प्रमाणहरु पाइएका कारण उनीहरुलाई कारबाहीको दायरामा ल्याउनु परेको नेपाली कांग्रेस उर्लाबारीले जनाएको छ।

स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेहरुको लिष्ट लामै भए पनि वडा तहबाट लिखित प्रतिवेदन आइ नसकेकाे नगर समितिकाे भनाइ छ। नगरमा सबै वडाबाट प्रतिबेदन आएपछि अन्य व्यक्तिहरुको नाम आधिकारीरुपमा आउने नगर समितिले जनाएको छ। सबैकाे नाम प्राप्त भएपछि  कारबाहीका लागि उपल्लो तहमा सिफारिस गरिने नेपाली कांग्रेस उर्लाबारीले जनाएको छ।

अन्तरघातकै कारण नेपाली कांग्रेस उर्लाबारीले मेयर, उपमेयर सहित वडा नम्वर १, ३ र ८ मा सबै पद गुमाएको छ। गत निर्वाचनमा वडा नम्बर ३ मा ४ पद जितेको कांग्रेसले याे पटक कुनै पदमा जित निकाल्न सकेन। त्यस्तै नेपाली कांग्रेसका उमेदवार  वडा नम्वर २ मा अध्यक्षसहित एक वडा सदस्य, वडा नम्वर-४ मा अध्यक्ष मात्रै, वडा नम्वर-५ मा ४ जना सदस्य वडा नम्वर-७ मा तीन जना सदस्य मात्रै विजयी  भएका छन्। वडा नम्बर ७ मा वडाध्यक्ष र महिला सदस्य गुमाएको कांग्रेसले ९ नम्बर वडा एमालेबाट खाेसेपनि बहुमत प्राप्त गर्न सकेन। पार्टीकै नेताकार्यकर्ता र क्रियाशील सदस्यहरुबाट अन्तर्घात भएकोले पार्टीको लज्जास्पद हार भएको नगर समितिको  ठम्याइ छ।

यसैबीच उर्लाबारीका केही कांग्रेस जनले भने पार्टीकाे साधारण सदस्य समेत नरहने गरी पार्टी छाेडेका व्यक्तिहरूबाट समेत अन्तर्घात भयाे भन्नु लज्जाकाे विषय भएको बताएका छन्। उनीहरूले भने,‘पार्टी छाेडेकाहरूकाे काम नै कांग्रेसलाई जित्न नदिने हाे। उनीहरू सफल भए। उनीहरू पार्टीमा फर्किने सम्भावना छैन, त्यसैले अन्तर्घात भयाे भन्नू बेतुककाे कुरा हाे।’

प्रकाशित मिति: : 2022-05-26 20:02:00

प्रतिकृया दिनुहोस्