सेन्ट लरेन्सको यौन दुर्व्यवहार प्रकरण : ‘पैसा र राजनीतिको आडमा कलेजले घटना लुकाउन खोज्यो’

Breaknlinks
Breaknlinks

काठमाडाैंकाे चाबहिलस्थित ‘सेन्ट लरेन्स’ कलेजका विद्यार्थीहरू विगत तीन दिनदेखि ‘वी वान्ट जस्टिस्’ भन्दै आफ्नै शिक्षकविरूद्ध आवाज उठाइरहेका छन्।

यौन दुर्व्यवहारकाे विराेधमा विद्यार्थीहरूले बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन्। यौन दुराचारीलाई कारबाही गरिनुपर्ने उनीहरूको माग छ।

एकाबिहानैदेखि याैन दुराचारविरूद्ध कहिले कलेज परिसर त कहिले प्रहरी वृत गौशलामा प्रदर्शनरत छन्। तर, उनीहरूको आवाजलाई बेवस्ता गरेकोप्रति उनीहरूको ठूलाे गुनासो छ।

प्रदर्शनमा ‘सेन्ट लरेन्स’ कलेजका विद्यार्थीसहित अन्य कलेजका विद्यार्थीहरू पनि माइतीघर पुगेका छन्। कलेजका संयोजक तथा सामाजिक विषय पढाउने जनार्दन अधिकारीलाई सजाय नभएसम्म प्रदर्शन कायम राख्ने ११–१२ कक्षामा अध्ययनरत विद्यार्थीहरू बताउँछन्।

स्कूल तथा विद्यालयमा भएको यौन दुर्व्यवहारकाे कारण उनीहरूले कलेज पूर्णरूपमा बन्द गरेका छन्।

‘कलेजमा केही पढ्न, केही सिक्न जाने हो। तर कलेजमा नै यौन दुर्व्यवहार हुन्छ भने कसरी पढ्न सकिन्छ? विद्यालयमा जान डर लागिरहेकाे छ। कसरी सुरक्षित रहने, हामीलाई न्याय चाहिएको छ। जर्नादन अधिकारीलाई फाँसीको सजाय हुनुपर्छ,’ प्रदर्शनमा सहभागी एक छात्राले भनिन्।
‘सेन्ट लरेन्स’ कलेजसहित मदन भण्डारी कलेजबाट पनि पीडितलाई न्यायकाे माग गर्दै कैयाैं विद्यार्थीहरू प्रदर्शनस्थलमा पुगेका थिए। यौन दुराचारी शिक्षकले राजनीतिक समर्थन पाएकाे कारण पीडितकाे आवाजलाई बेवास्ता गरिएकाे उनीहरूकाे गुनासाे छ।

उसो त प्रदर्शनमा लुम्बिनी एकेडेमीका विद्यार्थीहरू पनि सहभागी छन्।

पैसाको चलखेल हुँदा सम्बन्धित निकायले पीडितकाे आवाजलाई दबाउन खाेजिरहेकाे उनीहरूकाे दुखेकाे छ। 'कक्षा बन्द गरेर प्रदर्शन गर्नु पर्दा भने नराम्रो लागिरहेको छ। यसबारे सम्बन्धित निकायले ध्यान दिन जरूरी छ। अनि मात्रै पीडितले न्याय पाउने छन्। हाम्रा साथीहरूलाई न्याय दिलाएरै छाड्छौँ, त्यसको लागि हामीले हाम्रो आवाज उठाइरहन्छौँ,’ अर्का एक विद्यार्थीले भने।
साथीहरूले न्याय नपाएसम्म सहयोग गर्न पछि नपर्ने उनी बताउँछन्। उनले भने, 'जो पीडित छ, उसलाई कलेजबाट कुनै पनि समर्थन छैन। तर पनि हामी हाम्रो साथीको लागि साथ दिन तयार छौं। साथीहरूले न्याय पाउनैपर्छ।’

सेन्ट लरेन्सका विद्यार्थीहरूले कलेजका संयोजक अधिकारीले दुर्व्यवहार गरेको भन्दै मंगलबार प्रहरी वृत्त, गौशलामा किटानी जाहेरी दिएका छन्।

संयोजक अधिकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अनुसन्धानका लागि अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रकाशित मिति: : 2022-05-26 19:09:00

प्रतिकृया दिनुहोस्