अमेरिकी ‘गन कल्चर’ : ५० वर्षमा १५ लाखको हत्या

अमेरिकी नागरिकहरू जताततै बन्दुक बोकेर हिँड्छन्। झोलामा हतियार थन्क्याउने चलनलाई उनीहरू आफ्नो संस्कृति ठान्छन्।

पछिल्लो समय युवाहरू भीडभाड भुलेर स्कूलदेखि मार्केटसम्म बन्दुक पड्काइरहेका छन्। दशकौंदेखि बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा लाखौंले ज्यान गुमाएका छन्।

अमेरिकी ‘गन कल्चर’को इतिहास करिब २३० वर्ष पुरानो छ। सन् १७९१ मा संविधानको दोस्रो संशोधनले अमेरिकी नागरिकलाई हतियार किन्न सक्ने पूर्ण अधिकार दियो। त्योबेला अमेरिकी नागरिकहरू ब्रिटेनको पैतलामुनि पेलिएर बाँचिरहेको जानकारहरू बताउँछन्।

अमेरिकी नागरिकहरू आफ्नो र परिवारको रक्षाका लागि हतियार किन्थे। ब्रिटेनी शासकको अत्याचारबाट उम्किन प्रतिरक्षाका लागि हतियार थप्दै जाँदा अन्ततः अमेरिका ‘गन कल्चर’ को दलदलमा फस्यो। आजकल प्रायः युवाहरू गनबिना हिँड्दैनन्। उनीहरू हातहातमा आधुनिक हतियार बोक्छन्।

‘गन कल्चर’ को सुरुवात हुँदा अमेरिकामा स्थायी सुरक्षा बल थिएन। तर त्यो ‘गन कल्चर’को कानुन आज पनि जारी रहेको अधिकारीहरू बताउँछन्।

अमेरिकामा बन्दुक किन्नु भनेको तरकारी र फलफूल किन्नुजस्तै मानिन्छ। यहाँ बन्दुक बेच्ने कैयौं स–साना पसलहरू खोलिएका छन्। अमेरिकी वालमार्टजस्तो ठूलो कम्पनीदेखि फुटफाटका दोकान पनि बन्दुक किन्न पाइन्छ। यहाँका विभिन्न सहरमा कहिलेकाहीँ बन्दुक प्रदर्शन पनि गरिन्छ।

अमेरिकी नागरिक जो–कोही पनि बन्दुक किन्न सक्छन्। हतियारको खुल्ला कारोबार भइरहेको गाउँदेखि शहरसम्म कहिँकतै सुरक्षा चेकजाँच गरिँदैन। तर खरिदकर्ताले किन्नुअघि आफ्नो नाउँ, ठेगाना र जन्म मिति पेश गर्नुपर्छ।

अमेरिकामा बसोबास गर्ने १० प्रतिशत एसियान मूलका अमेरिकी नागरिकहरू आफैँले बन्दुक किनेका छन्। सन् २०२० को एक सर्वेक्षणका अनुसार ४४ प्रतिशत अमेरिकी युवाको घर–घरमा हतियार छ। तीमध्ये एक तिहाई युवा जमात आफैँ बन्दुक बोक्छन्।

अमेरिकासहित ग्याटेमाला र मेक्सिकोमा बन्दुक बोक्न संवैधानिक अधिकार प्रदान गरिएको छ। तर अमेरिकाको तुलनामा ग्याटेमाला र मेक्सिकोमा निकै कम हतियार छन्। मेक्सिकोमा एउटा मात्रै ‘गन स्टोर’ छ।

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार गर्दा पछिल्लो ५० वर्षयता १५ लाखभन्दा बढी निर्दोष नागरिकले ज्यान गुमाएका छन्। अमेरिका स्वतन्त्र भएपछिका सबै युद्धमा मारिएका सैनिकभन्दा धेरै मानिस घातक ‘गन कल्चर’बाट मरेका छन्। रिपोर्टका अनुसार अमेरिकामा ७९ प्रतिशत हत्या बन्दुकबाट भएको छ।

प्रकाशित मिति: : 2022-05-26 20:20:00

प्रतिकृया दिनुहोस्