सेन्ट लरेन्स कलेजमा यौन दुर्व्यवहार प्रकरण : काे हुन् बलात्कार आराेपित शिक्षक अधिकारी ? (भिडियाेसहित)

Breaknlinks
Breaknlinks

महानगरीय प्रहरी वृत गौशलामा बुधबार दिनभर पनि कलेज ‘ड्रेस’लगाएका विद्यार्थीहरुको समूह पानीमा रुझ्दै/भिझ्दै भनिरहेका थिए,‘बलात्कारीलाई सजाय दे’।

त्यहीँ विद्यार्थीहरुको भीडबाट अर्को आवाज पनि गुन्जिरहेको थियो,‘जनार्दन अधिकारीलाई बाहिरले’, ‘वी वान्ट जस्टिज’।

दुई दिनदेखि त्यसरी नै प्रदर्शनमा जुटिरहेका छन्, चावहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थी। जो ११ कक्षामा अध्यनरत छात्रालाई शिक्षकले गरेको यौन दुर्व्यवहारबारे आफ्नै कलेजविरुद्ध आवाज उठाइरहेका छन्।

‘दुई दिनदेखि हामी भोकभोकै यहाँ त्यतिकै आएका होइनौँ। हामी हाम्रो साथीको न्यायका लागि आएका हौँ। हाम्रो जुलुस तबसम्म रहन्छ, जबसम्म जनार्दन सरले सजाय पाउँदैन,’ रमपम चाउचाउको प्याकेट खोल्दै प्रदर्शनमा सहभागी एक विद्यार्थीले भने।

कलेजका संयोजक तथा सामाजिक विषय पढाउने जनार्दन अधिकारीलाई सजाय नभएसम्म प्रदर्शन कायम रहने ११–१२ कक्षा पढ्ने विद्यार्थीहरु बताउछन्।

‘हाम्रा साथीहरुलाई न्याय दिलाएरै छाड्छौँ, त्यसको लागि हामी जुनसुकै काम गर्न तयार छौँ,’ ती विद्यार्थीले भने। कलेजका संयोजकसँग मात्र आफूहरुको लडाइँ रहेको तर कलेज प्रशासनले नै अधिकारीलाई ढाकछेक गरेपछि कलेज पनि दोषी भएको विद्यार्थीहरुको गुनासो छ।

यता विद्यार्थीहरुले कलेजलाई दोषी ठहराउँदा उता कलेजका प्राचार्य पुरुषोत्तम महर्जनले भने कलेज निर्दोष रहेको बताइरहेका छन्।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्,‘हामीले घटनाबारे जानकारी हुने बित्तिकै शिक्षकलाई बर्खास्त गरेका छौँ। आरोपितलाई पक्राउ गरेर अनुसन्धान सुरु भइसकेको छ, यो घटनाबारे आवश्यक सहयोग गर्न तयार छौँ।’

कलेज प्रशासनले त्यसो भनिरहँदा प्रदर्शनमा सहभागी विद्यार्थीहरु एकै स्वरमा भन्छन्,‘यो सबै कलेजको नाटक हो। हामीले पटक–पटक जानकारी गराए पनि घटनाबारे केहीँ चासो दिएन, यदि हाम्रा कुरा सुनिदिएको भए, आज हामी यहाँ हुन्न थियौँ। अहिले हामी सडकमा छौँ, त्यसैले कलेजले एक्शन लिएको भन्दै नाटक गरिरहेको छ।’

कलेजबाट यौन प्रकरण बाहिरिएसँगै विद्यार्थीका अभिभावकहरु पनि त्रसित बनेका छन। १६ गतेदेखि परीक्षा भएको कारण सिन्धुपाल्चोकबाट आफ्नो छोराको जाँच फी तिर्न आएका ६० वर्षीय वृद्ध भन्छन्,‘राम्रो कलेज भनेर बच्चालाई यो कलेजमा भर्ना गरिदिएँ। अहिले आएर पछुतो लागेको छ। कलेजका शिक्षक नै भक्षक भएपछि विद्यार्थी के सिक्छ ? ’

आफू कहिलेकाहीँ मात्र छोराको कलेज फी (शुल्क) तिर्न आउने गरेको बताउँदै उनले भने,‘जनार्दन अधिकारी को हो म चिन्दिनँ।’

को हुन् जनार्दन अधिकारी ?

लामो समयदेखि सेन्ट लरेन्समा संयोजक तथा सामाजिक विषयमा पढाउने उनी एमाले नेता हुन। काभ्रेको भुम्लु गाउँपालिका घर भएका उनकाे हाल जोरपार्टीस्थित नयाँ बस्तीमा डेरा छ।

नेपाली विषय पढाउने उद्देश्यले कलेज भित्रिएका उनी पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको विज्ञ सल्लाहकार भएको खुलेको छ।

बास्कोटा मन्त्री हुँदा उनलाई मिडिया विश्लेषेकको रुपमा नियुक्ती गरिएको बताइएको छ।

राजनीतिमा आवद्ध भएकै कारण उनी सजायबाट वञ्चित भएको विद्यालयका धेरै छात्राहरुलाई आफ्नो चगुंलमा फसाएका अधिकारीमाथि हालसम्म कुनै कारबाही नभएकोमा आफूलाई थप पीडा भएको पीडित छात्रा बताउँछिन्।

‘हामी पीडित भएका सबै छात्राहरुले कलेजका अध्यक्षलगायत फाइनान्सियल डाइरेक्टरलाई घटनाबारे बतायौँ तर उहाँहरुले कुनै चासो दिनुभएन,’ छात्राले घटनाबारे बताउँदै भनिन्,‘यो कुरा हामीले चियरम्यान केशवप्रसाद दंगाल र फाइनान्स अपरेशन डाइरेक्टर अजय खनाललाई पनि भन्यौँ तर उहाँरुले तिमीहरु रमाइलो गछौँ, हामीलाई नभन भनेर हपार्नु भयो। कुरा नफैँला भन्दै गाली गर्नुभयो।’

शिक्षकबाट पीडित भएका आफूहरुलाई कलेज प्रशासनले साथ दिनुको सट्टा उल्टै कुरा गोप्य राख्न लगाएको उनले बताइन्।

‘यो कुरा तिमीहरु कसैलाई नसुनाउ, तिमीहरुले यो कुरालाई बाहिर ल्यायौँ भने कलेजको २५ वर्षदेखिको नाम बदाम हुन्छ,’ कलेज प्रशासनले आफूहरुलाई भनेको कुरा सुनाउँदै पीडित छात्राले भनिन्,‘यो कुरा बाहिर खोलेनौँ भने तिमीहरुलाई हामी मास्टर डिग्रीसम्म सित्तैमा पढाइदिन्छौँ।’

आफ्नै शिक्षकबाट पीडित भएकी छात्रालाई कलेजकी शिक्षिकाहरुले समेत गाली गरिन्।

उनले छात्राहरुलाई भनेकी थिइन्,‘तिमीहरु आफैँ छोटो लुगा लगाएर हिँड्छौँ, तिमीहरु बलात्कार नभएर को हुन्छ त ? हामीले सहेर बस्यौँ, तिमीहरुले पनि सहनुपर्छ।’

आफूहरु पीडित भएता पनि अरुलाई संयोजकबाट बचाउनका लागि आवाज उठाएको ती छात्रा बताउँछिन्।

प्रकाशित मिति: : 2022-05-26 07:00:00

प्रतिकृया दिनुहोस्