१८ वर्षे रामोस : जसले बुलेटप्रूफ ज्याकेट लगाएर नानीबाबुमाथि अन्धाधुन्ध गोली प्रहार गरे

Photo - Reuters
Photo - Reuters

अमेरिकाकाे टेक्सस राज्यस्थित एक प्राइमरी स्कूलमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा दर्जनौं कलिला बालबालिकाहरूले अकालमै ज्यान गुमाएका छन्।

यूवाल्डे शहरको राब एलिमेन्ट्र स्कूलका ती बालबालिकाहरूमाथि १८ वर्षीय युवक सेल्वाडोर रामोसले अन्धाधुन्ध गोली प्रहार गरी हत्या गरेका हुन्। बदलामा ती युवक पनि सुरक्षा–दस्तबाट मारिएका छन्।

स्थानीय समयानुसार दिउँसो ११ः ३० बजे ती युवकले अन्धाधुन्ध गोली प्रहार गरेको यूवाल्डे कन्सोलिडेटेड इन्डिपेन्डेन्ट स्कूलका सुरक्षा प्रमुख पीट आरोडोडोंले जनाएका छन्।

यूवाल्डे कन्सोलिडेटेड इन्डिपेन्डेन्ट स्कूल सैन एन्टोनियो शहरदेखि १ सय ३५ किलोमिटरको दूरीमा रहेको छ। स्कूलमा पाँच सयभन्दा बढी बालबालिकाहरू पढ्थे। फायरिङबाट त्रसित स्कूले बालबालिकाहरूको स्थनीय अस्पतालमा आपतकालिन कक्षमा राखेर उपचार भइरहेको छ।

६६ वर्षीया एक शिक्षिका र १० वर्षीय बालिका गम्भीर घाइते छन्। उनीहरूको उपचार भइरहेको विश्वविद्यालय स्वास्थ्य अस्पतालका अधिकारी बताएका छन्।

यूवाल्डे स्मृति अस्पतालका अनुसार घटनालगतै एम्बुलेन्स र बसमार्फत् १३ जना बालबालिकाहरूलाई तत्काल उपचार कक्षमा पुर्याइएको थियो। ‘यहाँको अवस्था राम्रो छैन। जताततै डरै–डर छ। मानिसहरू रोइरहेका छन्। नगरमा सन्नटा छाएको छ,’ यूवाल्डेका मेयर डान मैकलांफलिनले भने।

सन् २०१२ मा कनेक्टिकटको सैंडी हूकको प्राइमरी स्कूलमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा २० बालबालिकासहित ६ जना कर्मचारीले ज्यान गुमाएका थिए। झण्डै एक दशकपछि यूवाल्डेको अर्को प्राइमरी स्कूलमा १८ वर्षीय एक युवकले भयानक गोलाबारी गरेका छन्।

अन्धाधुन्ध गोली प्रहार गर्दा बालबालिकासहित २१ जनाको मृत्यु भएको छ। ती युवकसँग हाते बन्दुक, एआर–फिन्टिन् सेमी–अटोमेटिक राइफल र थुप्रै संख्यामा म्यागजीन्स रहेको सुरक्षा स्रोतले जनाएको छ।

गोली प्रहार गर्ने युवक यूवाल्डे क्षेत्रको एक हाई–स्कूलका विद्यार्थी हुन्। सैनिकले प्रयोग गर्ने दुई वटा राइफल किनेका थिए। प्राइमरी स्कूल छिर्नुअघि युवकले आफ्नै हजुरआमाको हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ। उनी बुलेटप्रूफ ज्याकेट लगाएर कोठाभित्र छिरेका थिए।

प्रकाशित मिति: : 2022-05-25 19:00:00

प्रतिकृया दिनुहोस्