कोभिड नियन्त्रण गर्न भारत सफल, चीन बिफलः अमेरिकी राष्ट्रपति बाइडेन

photo : tv9hindi.com
photo : tv9hindi.com

विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले टिप्पणी गरेका छन।

टोकियोमा जारी क्वाड शिखर सम्मेलनको बन्द सरमा बाइडेनले कोभिड–१९ प्रकोपलाई ह्यान्डल गर्ने विषयमा मोदीको प्रशंसा र चीनको आलोचना गरेका हुन्।

एक वरिष्ठ अधिकारीका अनुसार राष्ट्रपति बाइडेनले कोभिड १९ महामारी ह्यान्डल गर्ने मामिलामा भारतको सफलताको प्रशंसा गरेका हुन्। 

मोदीको सफलताले संसारलाई लोकतन्त्रले प्रदान गर्न सक्छ भनेर देखाएको बाइडेनले बताए।  

‘चीन र रुस जस्ता निरंकुश राष्ट्रहरूले द्रुत रूपमा परिवर्तन भइरहेको संसारलाई राम्रोसँग ह्यान्डल गर्न सक्छन् भन्ने भ्रमको पर्दाफास गरेको छ किनकी तिनीहरूको नेतृत्वले लामो लोकतान्त्रिक प्रक्रियाहरू पार नगरी निर्णय लिन र कार्यान्वयन गर्न सक्छन्’, ती अधिकारीले भने।

प्रधानमन्त्री मोदीले क्वाड नेताहरूको शिखर सम्मेलनको केही समयपछि अमेरिकी राष्ट्रपति बाइडेनलाई भेटेका थिए। यसअघि मोदी र बाइडेनबीच भर्चुअल माध्यममार्फत अप्रिलको दोस्रो साता छलफल भएको थियो। 

बाइडेनले दाबी गरे पनि भारतमा कोभिड पूर्ण रुपमा नियन्त्रणमा आएको छैन्। अझै पनि दैनिक १५ सयदेखि दुई हजार संक्रमित भेटिने गरेका छन्। पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट २६ जनाको मृत्यु भएको छ। 

पछिल्लो समयमा चीनको सांघाईमा फैलिएको कोभिड संक्रमणमा केही कमी आएको छ। नियन्त्रण बाहिर जान थालेपछि सांघाईमा लामो समय लकडाउन घोषणा गरिएको थियो।

करिब २ करोड ५० लाख जनसंख्या रहेको सांघाईमासरकारले  सामूहिक कोरोना परीक्षण गर्नेदेखि यात्रामाथि प्रतिबन्ध लागू गरेको थियो।  

प्रकाशित मिति: : 2022-05-24 14:24:00

प्रतिकृया दिनुहोस्