सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।
आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका छन्।
श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१ मत प्राप्त गरे।
उपप्रमुखमा निर्वाचित साहले सात हजार ७०३ मत ल्याउए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रेशमकुमारी थापाले पाँच हजार ६४३ मत प्राप्त गरे।
कूल १३ वडा रहेको गोलबजारको छ वडामा एमाले, तीन वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुई–दुई वडामा विजयी भएका छन्। यससँगै सिरहाको १७ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो।
तलबभत्ताबाट मासिक राहत वितरण गरिने
लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले आफ्नो तलबभत्तावापत आउने रकमबाट हरेक महिना दलित बस्तीमा राहत बाँड्ने घोषणा गरेका छन्।
पदभार ग्रहण गरदैँ उनले नियमानुसार आफूले नगरपालिकाबाट पाउने तलबभत्ताबाट मासिक दलित बस्तीमा चामल, दाल, नुन र तेललगायतका सामग्री वितरण गर्ने घोषणा गरे। तलबभत्ताबाट नगरका करिब चार हजार घरधुरी दलित बस्तीमध्ये हरेक महिनाको २२ गते प्रतिपरिवार १० किलो चामल, एक लिटर खानेतेल र एक किलो नुन बाँड्ने नगरप्रमुख चौधरीले बताए।
यस्तै उनले प्रत्येक नागरिकको व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने र मुसहर समुदायलाई किरिया खर्चका लागि रु पाँच हजार नगद नगरपालिकाले दिने घोषणासमेत गरे। नागरिकताको सिफारिस, जन्म, मृत्यु, विवाह दर्ता निःशुल्क गरिने जानकारी दिए।