स्थानीय तह निर्वाचन : मकवानपुरका तीन पालिकामा पुरानै नेतृत्व

file photo
file photo

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मकवानपुर जिल्लाको तीन वटा गाउँपालिकाको नेतृत्व पुरानै जनप्रतिनिधि दोहोरिएका छन्। मकवानपुरको बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिकामा पुरानै नेतृत्व दोहोरिएका हुन्।

बागमतीमा माओवादीका सर्केश घलान, भीमफेदीमा एमालेका हिदम लामा र राक्सिराङमा कांग्रेसका राजकुमार मल्लले दोस्रो कार्यकालको लागि नेतृत्व गर्ने अवसर पाएका हुन्। बागमतीका घलानले एमालेका खेमराज जर्घा मगर, भीमफेदीका लामाले माओवादीका बद्रीबहादुर स्याङ्तान र राक्सिराङका मल्लले एमालेका बाबुलाल स्याङ्तालाई हराउँदै दोस्रो कार्यकालका लागि पनि जित निकालेका हुन्। हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र बकैया गाउँपालिका बाहेक सबै पालिकामा पुरानै नेतृत्वले दोहोर्‍याउने चाहना सहित उम्मेदवारी दिएका थिए।

दोस्रो कार्यकालको नेतृत्व गर्ने इच्छासहित चुनाव लडेका मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती कांग्रेसका रञ्जन कालाखेतीसँग पराजित भए। त्यसैगरी मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष विदुर हुमागाईं कांग्रेसका दोर्जे लामा स्याङ्तानसंग पराजित भए। अघिल्लो निर्वाचनमा हुमागाईंले स्याङ्तानलाई नै पराजित गरेका थिए। अघिल्लो चुनावमा एमालेबाट जिते पनि पार्टी विभाजनसँगै नेकपा (एकीकृत समाजवादी) मा लागेका कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले पनि हार व्यहोरे।

अघिल्लो पटक उनै मोक्तानले हराएका कांग्रेसका लोक मुक्तानले यस पटक एमालेका नरेन्द्र रिजाललाई हराउँदा उनी तेस्रो हुन पुगेका हुन्। यस्तै ईन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामा पनि यस पटक पराजित भए। अघिल्लो पटक एमालेबाट निर्वाचित उनी पार्टी विभाजनसँगै नेकपा एसतर्फ लागेका थिए। ईन्द्रसरोवरमा कांग्रेसका विश्व लामालाई हराउँदै एमालेका देवकृष्ण पुडासैनी विजयी भए।

प्रकाशित मिति: : 2022-05-23 20:22:00

प्रतिकृया दिनुहोस्