कांग्रेस र माओवादीले एक्लै लडेर जितेका पालिकाहरू कति छन् ? अनि ती दलहरूले आ-आफ्नो चिहृनमा प्राप्त गरेको मत कति छ ? यसको मसिनो विश्लेषण नगरी चुनाव कसले जित्यो र कसले हार्यो भन्ने निष्कर्षमा पुग्नु हतार हुन्छ ।
स्थानीय तह निर्वाचन समापनको चरणमा छ । ७५३ पालिकामध्ये ७०० माथिको परिणाम सार्वजनिक भइसक्दा जित-हारका विश्लेषण भइरहेका छन् । खासगरी, मुलुकको सबभन्दा ठूलो दल नेकपा (एमाले) ले अपेक्षित सफलता हासिल गर्न सके/नसकेका बारेमा चर्चा-परिचर्चा केन्द्रित छन् । र, नेकपा (एमाले) ले यस निर्वाचनमा ‘शर्मनाक’ र ‘लज्जास्पद’ रूपमा हारेको संकथन (न्यारेटिभ) निर्माण गर्ने कोसिस पनि भइरहेको छ ।
सबै तथ्य आइसकेका छैनन् । तर, प्राप्त परिणामलाई विश्लेषण गर्दा प्रश्न उठ्छ- के नेकपा (एमाले)ले ‘शर्मनाक’ रूपमा हारेको र अरूले ‘दिग्विजय’ हासिल गरेका हुन् त ? के अरूले चर्चा गर्ने गरे जस्तो कांग्रेस र माओवादीको पुनरुत्थान नै भएको हो त ?
तथ्यहरूले त्यसो भन्दैनन् । हो, एमालेले अपेक्षित सफलता हासिल गर्न सकेन र गत निर्वाचनमा २९४ पालिकाको नेतृत्व गरेर पहिलो भएको दल यसपटक २०० हाराहारी पालिकामा झर्नु परेको छ । तर, जनमत परीक्षण र निर्वाचन विश्लेषणका लागि पालिकाको नेतृत्व मात्रै पर्याप्त हुँदैन, त्यसका लागि समग्र जनमत विश्लेषण गर्नुपर्छ ।
अहिले सबै नतिजा आउनै बाँकी छ । देशभरका उम्मेदवारहरूले प्राप्त गरेको मत जोडेर औसत निकालेपछि कुन पार्टीको अवस्था के छ भन्ने धरातल थाहा हुन्छ । निर्वाचनमा कुन दलले जित्यो र कुन दलले हार्यो भन्नका लागि पहिला हरेक दलले प्राप्त गरेको मत केलाउनुपर्छ ।