लमजुङका तीन स्थानीय तह प्रमुखमा पुरानै अनुहार दोहोरिएका छन्।
८ स्थानीय तह रहेको लमजुङको बेँसिशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा पुरानै प्रमुख दोहोरिएका हुन्।
जिल्लाको राइनास नगरपालिका प्रमुखमा पुरानै अनुहार उम्मेदवार बने पनि उनी पराजय भएका छन्। जिल्लाको ८ स्थानीय तहमध्ये ४ स्थानीय तहमा प्रमुख दोहोरिन चाहेका थिए। बेँसीशहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल पुनः प्रमुखमा निर्वाचित भएर पदभार ग्रहण गरिसकेका छन्। उनले नेपाली कांग्रेसका श्रीकान्त घिमिरेलाई हराएका हुन्।
जिल्लाको मध्यनेपाल नगरपालिकामा कांग्रेसका रमेशकुमार पाण्डे विजयी भएका छन्। यसअघि ५ वर्ष काम गरिसकेका पाण्डे पुनः एमालेका राजकुमार श्रेष्ठलाई हराएर नगरप्रमुखमा निर्वाचित भएका हुन्।
यस्तै मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः एमालेका अर्जुन गुरुङ निर्वाचित भएका छन्। गुरुङले कांग्रेसका लोकनाथ घिमिरेलाई पराजित गरी फेरी गाउँपालिकाको अध्यक्षको पदभार सम्हालेका हुन्।
लमजुङको आठ स्थानीय तहमध्ये चार वटा स्थानीय तह प्रमुखमा कांग्रेस र चार स्थानीय तहमा एमाले विजयी भएको छ। लमजुङमा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबिच गठबन्धन भएको थियो।